स्रष्टा मीना अधिकारीको सिर्जना अमरज्योति षडानन्द कविता संग्रह पाठकवर्गसमक्ष भर्खरै आएको छ । जसले नेपाली साहित्य भण्डारको कविता विधामा एउटा इँटा थपेको छ । चौथो कृतिको रुपमा प्रकाशित यस संग्रहमा ६५ वटा छन्दोबद्ध समसामयीक कविताहरु समेटिएका छन् । कविताहरुका विशेषता के–कस्ता रहेका छन् सर्वप्रथम साहित्यकार मिश्र वैजयन्तीको विचारबाट जानौ– ‘यस संग्रहमा अमरज्योति षडानन्द शीर्षकमा १०८ श्लोकमा रचिएको दिङ्लाका बालागुरु षडानन्दको जीवनसँग सम्बन्धित एउटा लामो कविता छ ।
अमरज्योति षडानन्द सवाई लयमा लेखिएको १०८ श्लोकको बालागुरु षडानन्दको काव्य लयको जीवनी हो । यो जीवनीपरक काव्यिक लहरी अध्ययन गर्दा रोचक अनुभूति हुन्छ । केही मुक्तकहरु शीर्षकमा मीना अधिकारीका ४० वटा मुक्तकहरु समेटिएका छन् । मानवीय संवेदना, पारिवारिक जीवन, नाता, मानव मनका उच्छ्वासहरुको वाष्पीकरण, सामाजिक विषमता र विकृतिलाई समेत मुक्तकका विषयवस्तु बनाइएका छन् । कतिपय मुक्तकले दर्शनको निकटता राखेका पनि पाइन्छन् भने कतिपय मुक्तकले अर्ती र उपदेशको बाटो पनि लिएका छन् । समग्रमा अधिकारीलाई कवि, निबन्धकार, समीक्षक मात्र होइन मुक्तकबाट समेत भेट््न सकिन्छ ।’
यस कृतिबारे स्रष्टा मीना अधिकारी स्वयम्को भनाई यस्तो रहेको छ–‘कीर्तिशेष भइसकेका जिजुबा षडानन्दले सपनामा आएर आफ्नी जनातिनीलाई शिक्षाको उज्यालोबाट प्रदिप्त गर्न आदेश नगर्नु भएको भए म आज यस अवस्थामा आउन सक्ने थिइन । त्यसकारण त्यसको भारा म कसरी तिरुँ ? भन्ने मेरो मनमा शोच पलाएको थियो । फलस्वरुप आज यस कृतिका माध्यमबाट हाम्रा जिजुबाजे शिक्षाका अमरज्योति षडानन्द अधिकारी प्रति झ्याउरे मै भएपनि काव्यिक श्रद्धा अर्पण गर्न पाउँदा म अत्यन्त हर्षविभोर भएकी छु ।’
कृतिमा समेटिएको अमरज्योति षडानन्द शीर्षकको कविताको केही अंश पढेर कविताको भाव जानौँ । कुम्भकर्ण हिमालय मकालुको काखमा, सानो सुन्दर दिङ्ला राम्रो प्रकृतिको साथमा, सुन्दर शान्त अरुण नदी सुसाउने गर्छिन्, फिँजाई लट्टा खेल्दै गट्टा तिब्बतदेखि झर्छिन् । धार्मिक स्थल विद्याकेन्द्र बनाउने धोको, आध्यात्मिक दिङ्ला बनोस् पवित्र र चोखो, रामनवमी शतबिउ छर्ने नियम बसाएर, पाठशाला खोल्नुभयो शिक्षित बनाएर । सानु पर्णकुटीभित्र आवाल ब्रह्मचारी, रुद्राक्षको माला जप्तै बस्ने सधैँ भरी, गायत्रीको मन्त्र जप्तै दृढ प्रार्थनामा, लहराले घेरिएको सुन्दर शान्त ठाउँमा । बसुधैव कुटुम्बकम् धारणा यो राखी, शिक्षादिक्षा दिनुभयो अध्ययन गरी, सामाजिक सुधारतर्फ धेरै ज्ञान दिने, हिन्दूधर्म मजबुत पार्दै ज्ञानको धारा छर्ने ।
ब्रह्मचारी गुरुज्यूको सधैँ नाम जप्छु, जनातिनी लेखक यो आशिर्वाद माग्छु । यस कविताबाट षडानन्द र षडानन्दले गरेका योगदानकाबारे जान्न सकिन्छ । संग्रहमा समेटिएका केही कविताहरुका शीर्षक यसप्रकार रहेका छन्– आमा, भानुभक्तको सम्झनामा, नेपाल आमा, गुरुज्ञान, सरस्वती वन्दना, धोका, नारीको अवस्था, कलम, माटो, प्रणय दिवस, अक्षर, गणतन्त्र दिवसको सम्दर्भमा, गरिबी, सेतो कपाल । यी शीर्षकहरुबाट पनि थाहा हुन्छ कि स्रष्टा मिना अधिकारीका कविताहरुका विषयहरु ।
नेपाल आमा शीर्षकको कवितामा, रित्तियो धरा रित्तिए घर, हुन्न देश यो आत्मनिर्भर, दुःख वेदना मात्र बाँड्छन्, बाध्य भै युवा देश छाड्छन्, लेखिएको छ । कवितामा रोजगारीको अभाव अनि पेट पाल्न घर छोड्नुपर्ने देश छोड्नु पर्ने साथै देशमै रहने उत्कट इच्छा हुँदाहुँदै पनि विदेशिनु पर्ने बाध्यता रहेको भाव कवितामा पोखिएका छन् । यो र यस्तै भावका कविताहरुमार्फत स्रष्टा अधिकारी देशप्रति चिन्तित् रहेको पाइन्छ । तसर्थः स्रष्टा अधिकारी एक साहित्य सिर्जनाकार मात्र नभएर चिन्तक पनि हुन् ।
खन्याएर मार्छन् र तेजाब हाली, रुँदैछन् नि आमा हराएर छोरी, पठाएर नानी हरायो बिहानी, बलात्कार पर्दै गयो जिन्दगानी । नारीको अवस्था शीर्षकको कविताको अंश हो यो । कविताले नेपाली नारीको अवस्था, वेदना व्यक्त गरेका छन् । यसरी नेपाली नारी लगायत नागरिकहरुको अवस्था उजागर गर्दै, हकहितका लागि आवाज बुलन्द गर्ने अरु थुप्रै कविताहरु पनि छन् यस संग्रहमा ।
गाईको किलो भैँसीको किलो किलाको किलै छ, आँखाको चालले बोलाउनुभयो हात मेरो हिलै छ । गुहाटी देखि रेल गाडी आयो घुम्तीमा लेट भयो, कहाँको तिमी कहाँको हामी सन्जोगले भेट भयो । यस्तो भाका या लय या बान्कीका कविताहरु पनि समेटिएका छन् संग्रहमा । पूर्वी पहाडी भेगमा गुनगुनाइने ठेट भाका र शब्दहरु समेटिएका छन् यस कवितामा । जसमा पूर्वी पहाडका बासिन्दाका सुख दुःख र रमाईला कथाहरु भेटाउन सकिन्छ ।
कुनै गुनासो छैन शीर्षकको गद्य कवितामा जीवनको दुःख पोखिएका छन्– जीवनभर सुकेको पोखरीसँग पानी मागिरहेँ, तर उसले मलाई दिन्छु दिन्छु भन्दै ढाँटिरह्यो, यसमा मलाई कुनै गुनासो छैन, जीवनभर मैले शान्ति खोजिरहेँ, तर उस्ले मलाई जिउँदै जलाई रह्यो, म खुसी भएर मुस्कुराउँदै रमाउन चाहन्थेँ, तर उस्ले सधैँभरी मेरा आँखामा आँसु टलपलाएको हेर्न चाहन्थ्यो । आहा कति मनछुने कविता ।
यसरी संग्रहका कविताहरुले मानव जीवनका हरेक पहलुलाई समेटेका छन् । समाज देश र देशको राजनीति, आयामहरुकाबारे पनि निकै गहन कविताहरु लेखिएका छन् । गाऊँघर, पर्यावरण, सम्पदा, ऋतुहरु, गुरुजन, शिक्षा, संस्कृति, नारीका अवस्था, देशको गणतन्त्रको अवस्था लगायतका विषयहरुमा समसामयीक कविताहरु सिर्जना भएका छन् । साहित्यकार मीना अधिकारी मातृपितृ भक्तिनी पनि हुन् भन्ने उनका कविताहरुका भावले व्यक्त गर्दछन् । उनको कविता नारी वेदना र नारीलाई दबाउने विकृत संस्कार सुधारका पक्षमा बोल्दछन् । करिब पाँच दर्जन फुटकर कविताहरु समेटिएको यस संग्रहमा कविताहरु छन्दयुक्त छन् । केही कविता गद्यमा पनि रहेका छन् भने केही कवितामा अनुप्रास मिलाएर बाह्य लयको सिर्जना गरिएको पनि पाइन्छ । यसबाट पनि स्रष्टा मीना अधिकारी काव्यविधामा अब्बल भएको प्रमाण मिल्दछ ।
जीवन जिउने यात्रामा बीस वर्षसम्म टाईपिष्टको जागिरे जीवन बिताएकी, हाल बिर्तामोड निवासी स्रष्टा मीना अधिकारीले भारतको दर्जनौं आध्यात्मिक केन्द्र र नेपालको सबैजसो जिल्ला भ्रमण गरी अनुभव हासिल गरेकी छन् । स्रष्टा अधिकारी एक कर्मशील तथा कुनै पनि नौलो विषयसँग साक्षात्कार गर्न र त्यसलाई मूर्तरुप दिन अलिकति पनि नहिच्किचाइकन अगाडि बढ्न रुचाउने र गरेरै छाड्ने महिलाको रुपमा पनि चिनिन्छिन् । उनले आफ्ना जीवनकालमा भोगेका र अनुभव गरेका कुराहरु कविताहरुमा समेटेकी छन् । नेपालमा पहिलो संस्कृत स्कूल खोल्ने भोजपुर दिङ्लाका बालागुरु षडानन्दकी जनातिनी कृतिकार मीना अधिकारी सामान्य लेखपढ गरेको महिला भएर पनि यति धेरै मेहनत गरी यस्तो गहन कविता संग्रह तयार गर्नु चानचुने कुरा होइन । यस पुस्तकले अन्य महिला क्षेत्रमा पनि केही ऊर्जा तथा प्ररेणा थप्नेछ ।