साहित्यिक वातावरण बनोस्

0
20

झापाको बिर्तामोड बुधबार साहित्यमय भयो । शिक्षासेवीको परिचय बनाएका बिर्तामोड–५ निवासी मोहनप्रसाद ओलीद्वारा लिखित पुस्तक अलखनन्दनका अन्तर्मनका कथाहरुको बिर्तामोडस्थित आदर्श–बैंङ्केवटमा विशिष्ट समारोहका बीच लोकार्पण गरियो । लामो समयदेखि शिक्षासेवा गर्दै आएका ओलीको यसअघि एउटा कृति प्रकाशित भइसकेको थियो । हाल शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुखका रुपमा सेवारत ओली यो कृतिसँगै साहित्यकारको लहरमा उभिन पुगेका छन् । नेपाली लेखक संघको संयोजनमा भएको कृति लोकार्पण समारोहका बीच प्रमुख अतिथि प्रा.डा. गंगाप्रसाद अधिकारी लगायतका अतिथिहरुले पुस्तकको विमोचन गरेका थिए । झापाका साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको सभामा प्रलेसका झापा अध्यक्ष लीलाप्रसाद अधिकारी, चूडामणि वशिष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साहित्यकार गणेश निरौलाले समीक्षात्मक टिप्पणी र मेची क्याम्पसका पूर्व प्रमुखले स्वागत गरेका थिए । त्यसैगरी जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले पनि सोही दिन विभिन्न विधाका चार जनालाई सम्मान ग¥यो । गोपीकृष्ण प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा वर्षोत्कृष्ट कृतिका लेखक भारतको कालेबुङ निवासी राजेन्द्र भण्डारीलाई पच्चीस हजार रुपैयाँसहित सम्मान गरियो । त्यस्तै साहित्यकार लीला उदासीलाई बहुप्रतिभावान व्यक्तित्वका रुपमा नगदसहित सम्मान गरिएको थियो । सोही अवसरमा दृष्टिविहीन प्रतिभा खेम रेग्मी र सञ्चारकर्मी स्वस्तिका आचार्य समेत पुरस्कत भए । प्रजातन्त्र दिवसकै अवसरमा सम्पन्न भएका यी दुई कार्यक्रम झापाका क्रियाशील साहित्यकार तथा साहित्यमा रुचि राख्नेहरुको उपस्थिति उल्लेख्य थियो ।

झापा त्यसै पनि शिक्षा, साहित्यदेखि राजनीतिक गतिविधिहरुमा विशिष्ट योगदान दिँदै आएको जिल्ला हो । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरका सभा–सम्मेलनको आयोजना गर्दै आएको झापाले पछिल्लो समय त्यस्ता कार्यक्रमलाई निरन्तरता दिन सकेको छैन । सभाका वक्ताहरुले पनि नयाँपुस्ताका साहित्यिक चेत विस्तार गर्ने वातावरण दिन नसकिएको भन्दै विद्यालय तहदेखि नै साहित्यिक गतिविधि सञ्चालन गर्नुपर्ने बताए । महानन्द सापकोटादेखि भवानी घिमिरे, चूडामणि रेग्मी, शिवप्रसाद दाहाल, सरोज ओली, रोहिणीविलाश लुइँटेल हुँदै कृष्ण धरावासी आइपुग्दासम्म नियमित रुपमा हुने साहित्य गोष्ठी र सम्मेलनहरुले साहित्यलाई समाज देखिने ऐनाका रुपमा स्थापित गरे । तर, अहिले झापाली साहित्य सुस्ताएको छ र नवप्रतिभाहरु उदाउन कम भएको छ । पठन संस्कृति नै मर्न थालेको यो घडीमा श्रष्टाहरु सम्मानित हुनु, नवीन कृति समाजलाई अर्पित गरिनु आशा जगाउने विषय हुन् । झापाले फेरि पनि साहित्यिक वातावरण पाओस् र समाज रुपान्तरण गर्न सक्ने कृतिहरु थपिँदै जाउन्, शुभेच्छा प्रकट गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here