रामजानकी मन्दिर दर्पणः रजत स्मारिका

0
9

रामजानकी मन्दिर बुद्धशान्ति–३ बुधबारे झापाको स्मारिका प्रकाशन भएको छ । श्री रामजानकी दर्पण रजत स्मारिका २०८१को रुपमा मन्दिरको २५औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशन भएको हो । जसमा मन्दिरको इतिहासदेखि वर्तमानसम्मका अभिलेख तथा जानकारीहरु समेटिएका छन् ।

स्मारिकामा उल्लेख भए अनुसार, रामजानकी मन्दिर स्थापना हुनमा र निरन्तर संचालन हुँदै आउनुमा बुधबारे क्षेत्रका धर्मानुरागी महानुभावहरु, दाताहरु, समाजसेवी लगायत स्थानीय बासिन्दाहरुको अविश्मरणीय योगदान रहेका छन् । विभिन्न धार्मिक अनुष्ठान लगायत अठारैवटा महापूराण आयोजन सम्पन्न गरेर रामजानकी मन्दिर बुधबारे, बुद्धशान्तिको मात्र नभई पूर्वी नेपालकै एक धार्मिक धाम, धरोहर, सम्पदा र गौरब बनेको छ ।

स्मारिकामा तीन खण्ड रहेका छन् । जसमा सिलसिलेबार रुपमा मन्दिरको जग्गा पहिचान भएको शताब्दि अघिको समयदेखि वर्तमानसम्मका यावत विवरणहरु सविस्तार उल्लेख गरिएका छन् । त्यसअघि स्मारिकामा कोशी प्रदेशसभा सदस्य माननीय तिलचन पाठक (चिन्तन), बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँ र पालिकाका उपाध्यक्ष भवानी प्रसाद खतिवडाका शुभकामना प्रकाशित भएका छन् । त्यसपछि प्रकाशकीय र सम्पादकीय प्रकाशित भएका छन् । प्रकाशकीयमा भनिएको छ– ‘संस्थाको अभिलेख प्राप्त नहुनु, समकालीन बहुसंख्यक अग्रजहरुको अवसान भइसक्नु, समकालीन जीवित अग्रजहरुमा विस्मृति बढ्नुका कारण सही समय र घटनापरिघटनाहरु स्मृतिमा नरहनु, एउटै विषय र सन्दर्भपनि देखी सुनीजान्ने अग्रजहरुका फरक मत आउनु र बहुसङ्खीय आधारलाई छिन्किएर, केलाएर प्रकाशन योग्य सामग्री बनाउन कठीन नै हुने रहेछ तर पनि हामीले यो प्रयत्न गरेका छौँ । इतिहास खोज अनुसन्धानको कुरा हो यही नै अन्तिम सत्य नहुनसक्छ तर ढोका चाहिँ अवश्य नै खुलेको छ ।’ यसो भनिएता पनि जहाँसम्म लाग्छ स्मारिकामा समग्र आयाम सटिक रुपमा समेटिएका छन् ।

खण्ड ‘क’ मा लेख रचना छापिएका छन् । लेखक तथा रचनाकारहरु यस प्रकार रहेका छन्ः टंक काफ्ले विकल्प, जयप्रसाद भण्डारी, भगवती न्यौपाने, भुपाल आचार्य, यमनाथ विमली, लीलानाथ भट्टराई, कुलप्रसाद न्यौपाने, अर्जुनकुमार सुवेदी, वेणुप्रसाद संग्रौला, प्रकाश न्यौपाने, चित्रा पौड्याल, शिवकुमार पौड्याल, आचार्य पं. होमनाथ खनाल, साहित्याचार्य पं. सोमनाथ गौतम, तेजराज सुवेदी, पदमप्रसाद पोखरेल, टंक निरौला, शशिधर भण्डारी, विष्णु मैनाली उप्रेती, चन्द्रप्रसाद उप्रेती, माधव अर्याल, दुर्गाप्रसाद दंगाल, जीतबहादुर श्रेष्ठ र विष्णुकुमारी गौतम । यस खण्डमा रामजानकी मन्दिरको इतिहास, महत्व, यहाँ मनाइने चाडपर्वहरु, अग्रजहरुको अभिमत लगायत रामजानकी मन्दिर धामबारेका लेख रचना र मन्दिरबारे लेखकहरुका अनुभवहरु समेटिएका छन् । जसबाट रामजानकी मन्दिरसम्बन्धी धेरै जानकारी लिन सकिन्छ ।

खण्ड ‘ख’ मा बुद्धशान्ति गाउँपालिका क्षेत्रका ११ वटा मठमन्दिरहरुबारेका परिचयात्मक लेखहरु समेटिएका छन् । साथै किर्तन मण्डली, धार्मिक तथा आध्यात्मिक संस्थाहरुबारे पनि लेख प्रकाशित भएका छन् । लेखकहरु, कृष्णप्रसाद खतिवडा, खगेन्द्र निरौला, विना उप्रेती, माधव न्यौपाने, महेन्द्र संग्रौला, केदारप्रसाद कोइराला, नारदमणि चापागाई, छत्रबहादुर विष्ट, ज्ञानबहादुर धिमाल, सोमनाथ अधिकारी, बुद्धिकान्त अधिकारी, प्रेम शिवाकोटी, पहलमान बराल र चम्पादेवी खतिवडा । यस खण्डको शुरुमा बुद्धशान्ति उद्योग वाणिज्य संघ र रामजानकी मन्दिरको अन्तरसम्बन्धबारेको लेख छापिएको छ ।

खण्ड ‘ग’ मा रामजानकी मन्दिरका समग्र अभिलेखहरु प्रकाशित भएका छन् । लेखकहरु, केशव सापकोटा, यानुकुमारी न्यौपाने, ऋषिकेश ओझा, पुष्प काफ्ले र निता भट्टराई रहेका छन् । यसका अलावा, मन्दिर स्थापना कालदेखि हालसम्मका अर्चक, कर्मचारी र एम्बुलेन्स चालकहरुका विवरण र मन्दिरको काखमा भएका केही स्मरणयोग्य प्रसंग (सम्पन्न कार्यक्रम)हरुका विवरणहरु पनि समेटिएका छन् ।

स्मारिकाको खण्ड ‘ग’ बाट मन्दिरबारेका अधिकांश आयाम जान्न सकिन्छ । मन्दिरको शुरुवात देखि स्मारिका प्रकाशन हुने बेलासम्मका यावत विवरण जस्तै, मन्दिरको जग्गा, सो जग्गामा बसेका साधु महन्त र मन्दिरको शुरुवाती स्वरुप, मन्दिरको अवधारणा विकास र निरन्तरता, कार्यसमितिहरु गठन, मन्दिर दर्ता, मन्दिरको भौतिक पक्ष, मूर्ति स्थापना, पूजाअर्चना देखि महापूराणको थालनी, १८वटै महापूराण सम्पन्न, मन्दिरको भवनहरुदेखि पूजा सामग्री र फर्निचर, चल अचल सम्पत्ति, खर्च हुने नहुने सामानहरुका विवरण, विभिन्न भौतिक संरचना निर्माणका दाता, सामग्रीका दाता, विभिन्न राशिका चन्दा (आर्थिक दान) दाता, शुरुवातदेखिका कार्य समितिहरुमा रहनुहुनेहरुका नामावलीसहितका विवरण यस खण्डमा सविस्तार समेटिएका छन् । जमिन व्यवस्थापन, जग्गादाताहरु, भौतिक निर्माण, कोठा तथा तल्लाका विवरण सहित निर्माणका लागि दाताहरु, ग्रील बेरा, टायल्स, पार्केटिङ्ग, भगवानका विग्रह, पुस्तक र भाँडाकुँडाहरु लगायत यावत विवरणहरु छापिएका छन् ।

पूराणहरु आयोजनाका लागि गठित हरेक समिति पदाधिकारीहरुका नामसहितका विवरण लगायत अक्षयकोष दाता, आजीवन सदस्य, श्रेयस्कर, सम्मानित र मानार्थ सदस्यहरुका नाम ठेगानाहरु पनि प्रकाशित भएका छन् । रामजानकी मन्दिरमा अभिलेखहरु साह्रै मसिनो गरी सबै कुरा छर्लङ्ग तथा पारदर्शी रुपमा अभिलेख गरिएका छन् भन्ने बुझ्न सकिन्छ ।

कसरी एउटा सामान्य कुटी एक धार्मिक धामका रुपमा विकास हुन सक्छ ? के–के गरेपछि यस्तो पूर्ण अवस्थामा आउन सक्छ ? स्मारिका अध्ययनबाट स्थानीय समुदायहरुको मेहनत र धार्मिक लगावका कारण यसरी स्थानीय स्तरमै एउटा ठूलो धाम सिर्जना गर्न सकिन्छ भन्ने शिक्षा पाउन सकिन्छ । समाजमा एकता, सद्भाव र सहयोगको भावना विकासका शिक्षा यस मन्दिरबाट पाउन सकिन्छ । हाल रामजानकी मन्दिर धार्मिक धामका रुपमा स्थापित भएको छ । साथै यहाँ दुईवटा सभाहल भएकाले धार्मिक, विवाह लगायतका संस्कार, सामाजिक, साहित्यिक, शैक्षिक लगायत विभिन्न कार्यक्रम र सम्मेलन आयोजना स्थलका रुपमा पनि स्थापित भएको छ । आगन्तुकहरु बस्न अतिथि कक्षहरु पनि रहेका छन् । सार्वजनिक केन्द्रको रुपमा स्थापित भएको छ ।

रामजानकी मन्दिर वि.सं. २००० सालअघिदेखि नै शुरुवात हुन थालेको स्मारिकाबाट जान्न सकिन्छ । २०७९।०८० सम्म आइपुग्दा वार्षिक रु. २० लाख रुपैँया भन्दा बढी आम्दानी हुन आएको देखिन्छ । खर्च १७, १८ लाख हुने गरेको देखिन्छ । यस हिसाबले मन्दिरले थुप्रै धार्मिक कार्यक्रमहरु सम्पन्न गर्नेगर्दछ भन्ने देखिन्छ ।

‘संस्था प्रकाशक भएर पुस्तक प्रकाशन गर्नु व्यक्तिगत प्रकाशनभन्दा चूनौतिपूर्ण हुने रहेछ, त्यसमा पनि भावनात्मक धरातलमा टेकेर दानदातव्यको कमजोर आर्थिक धागोद्वारा तानिएका धार्मिक संघसंस्थाहरु त धागो चुँडिएको चङ्गा हुने हुन् कि भन्ने त्रास पनि हुने रहेछ । यस्तै चुनौति, त्रास र अभावका कारण श्री रामजानकी मन्दिर बुद्धशान्ति–३ बुधबारेको गहन चिनारी स्मारिका प्रकाशन गर्ने सोच बिगतकै वर्षहरुमा राखेको भएतापनि प्रकाशन गर्न आँट आइरहेको थिएन तर यो वर्ष मन्दिरको २५औँ वार्षिकोत्सव, रजत महोत्सव र मन्दिर समितिहरुद्वारा संकल्पित १८ महापूराणहरुको आयोजना समापन गरी संकल्प पूर्ण गर्ने संयोग पनि जुरेको हुँदा मौजुदा कार्यसमितिले यो स्मारिका प्रकाशन गर्ने धृष्टता गरेको सहर्ष जानकारी गराउँदछौँ ।’ स्मारिका प्रकाशन सम्बन्धमा प्रकाशकीयमा उल्लेख गरिएको छ ।

स्मारिकाका लागि आफ्ना अमूल्य अभिमत दिनुहुने बुद्धशान्तिकै अभिाभावकहरु दीनानाथ ढकाल, मेघनाथ ढकाल, कृष्णकुमारी ओली, दधिराम खतिवडा लगायत वन्दनीय अग्रजहरु र संस्थापक अध्यक्ष भूपाल आचार्य, पूर्वअध्यक्षहरुलाई सम्मान जनाइएका छन् । त्यस्तै गरी, सबै समिति पदाधिकारी र दाताहरुप्रति पनि प्रकाशकीयमा सम्मान जनाइएका छन् । रामजानकी मन्दिर अवधारणाका शुरुवाती अभियन्ता उजिरबहादुर आचार्य र मन्दिरका साधु या महन्त (पुजारी) सुकदेवबाबामा पनि सम्मान अर्पण गरिएका छन् ।

श्री रामजानकी मन्दिर बुद्धशान्ति–३ले प्रकाशन गरेको स्मारिकाको सम्पादक–टंक काफ्ले विकल्प र जय भण्डारी रहेका छन् । स्मारिका समितिको संयोजकमा जय भण्डारी, सदस्यहरुमा केशव सापकोटा, ऋषिकेश ओझा, यानु न्यौपाने, पुष्प काफ्ले र निता अधिकारी रहेका छन् । मन्दिर कुलशतासाथ सञ्चालन, व्यवस्थापन, निरन्तरता र अभिलेखिकरणबारे गहन शिक्षा दिने यस ‘रामजानकी दर्पण रजत स्मारिका २०८१’ अवश्य पढौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here