चैते दशैं र आजको खाँचो

0
14

वैदिक धर्म र संस्कृतिलाई जीवन्त राख्न हाम्रा पर्वहरुको ठूलो महत्व छ । हाम्रा संस्कार र परम्परा तिनै चाडपर्वहरुको अनुशरण हो, जसले हाम्रो धर्मलाई समेत सुरक्षित राख्न सहयोग गरेको छ । तिनै पर्वहरु मध्येको ठूलो र सर्वाधिक महत्वको पर्व दशैं हो । आज चैत महिनाको शुक्ल पक्षको अष्टमी तिथि हो, जसलाई चैते दशैं भनिन्छ । बसन्तीय नवरात्रको आठौं दिन र नवौं दिनको विशेष महत्व रहेको छ । यद्यपि शरद ऋतुको नवरात्र र दशैं नेपालीको प्रमुख पर्व हो, तर चैते दशैंलाई पनि वैदिक सनातनी संस्कृतिमा महत्व दिइएको छ । हुन त मध्यकालीन नेपालमा चार वटा दशैं मनाइने परम्परा थियो, तर पछि आएर शारदीय दशैंलाई भव्यतापूर्वक मनाउन थालिएको संस्कृतिविद्को भनाइ छ ।

हाम्रो संस्कृतिमा शारदीय ग्रीष्मकालीन बसन्तीय र शिशिरकालीन नवरात्रको उल्लेख छ । त्यस समयमा चार वटै दशैंलाई भिन्न–भिन्न वर्ण अनुसार फरक–फरक विधिले मनाउने गरिन्थ्यो । यद्यपि चार वटै दशैंमा पूजा गरिने देवी एउटै हुन्, तर फरक–फरक दशैंमा गरिने पूजाको विधि, परम्परा र मान्यता बेग्लाबेग्लै हुन्थ्यो । त्यही मध्येको चैते दशैं नेपाल लगायत भारत, बंगलादेश, म्यानमारमा चैते नवरात्रका नाममा विभिन्न शक्तिपीडहरुमा धुमधामका साथ पूजाआजा गरिन्छ । हाम्रो पौराणिक ग्रन्थ रामायणका नायक मर्यादा पुरुष भगवान श्रीरामचन्द्र वनबासी जीवन पूरा गरेर अयोध्या फर्किएको दिनलाई दशैंका रुपमा मनाउन थालिएको हो ।

भगवान श्रीरामले आफ्नी श्रीमती सीताको अस्मिता रक्षाका लागि र संसारलाई आसुरी व्यवहारबाट मुक्ति दिलाउन रावणको बध गर्नुभयो । यसक्रममा देवी दुर्गाले पुरुषोत्तम श्रीरामलाई मद्दत गर्नुभएको थियो । त्यही गुणको बदलामा त्यसै समयदेखि दशैंमा शक्ति स्वरुपा दुर्गाको पूजा आराधना गर्ने परम्पराको थालनी भयो । चौध वर्ष लामो र कठोर वनबासपछि राजा रामचन्द्रको आगमनमा सम्पूर्ण अयोध्यणबासीले असत्यमाथि सत्यको जित भएको भन्दै मनाएको पर्व नै आजको चैते दशैं हो । आजको दिन राजधानी काठमाडौंस्थित गुह्येश्वरी, दक्षिणकाली, शोभा भगवती, रक्तकाली, मैतिदेवी र संकटामा दर्शनार्थीहरुको घुइँचो हुन्छ । दशैं असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको विजयको प्रतिक हो । भगवान श्रीकृष्णले पनि त्यही सत्य, न्याय, सदाचार र धर्मको रक्षार्थ आफू प्रकट भएको बताउनुभएको छ । आज नेपालमा पनि असत्य, अन्याय, अधर्म र अपराध कर्महरु बढिरहेका छन् । यसबेला धर्मको स्थापना गर्न सक्ने नायकको आवश्यकता भएको छ । आजको दिनले असत्य, अन्याय, असमानता र अधर्मको नाश गर्ने पात्र र विचारको उदय होस् । सत्य, न्याय, अहिंसा, समानता, सद्भाव र सहिष्णुता बलियो होस् चैते दशैंको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here