पत्रकारहरुलाई प्रश्न: सच्चिने कि सक्किने ?

0
148

पत्रकारिताको तागतका अघि विश्वविजेता भन्ने वादशाहहरुले पनि घुँडा टेकेको इतिहास छ । एडमण्ड वर्कले प्रेसलाई चौथो अङ्गको रूपमा अथ्र्याएपछि पत्रकारितालाई चौथो अंग मान्न थालियो । नेपोलियन बोनापार्टले चार विरोधी पत्रिकालाई चार हजार सेनाभन्दा डरलाग्दो हुने घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति थोमस जेफर्सनले भनेका थिए, ‘मलाई सरकार र पत्रिकामध्ये एउटा छान्न भनिए म विनाहिच्किचाहट भन्छु– सरकार नभए केही हुन्न, समाचार पत्रिका जीवित रहनुपर्छ ।’ प्रसिद्ध वैज्ञानिक थोमस अल्बा एडिसनले पत्रकारको महत्वलाई दर्शाउँदै भनेका थिए, ‘पत्रकारिताजस्तो रोचक, रसिलो र व्यापक केही छैन । दैनिक हजारौँ मानिससम्म पुग्नु, उनीहरूलाई अरूको विचार भन्नु, सल्लाह दिनु र शिक्षा प्रदान गर्नु निकै अद्भूत कार्य हो । मलाई आफू पत्रकार नभएकोमा दुःख लागेको छ ।’ बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलले पत्रकारितालाई कहिल्यै नसुत्ने र जनताको स्वतन्त्रताको रक्षा गर्ने अभिभावकको रूपमा परिभाषित गरेका थिए ।

तर, यस्तो महत्वपूर्ण पेशामा रहेर अरुलाई प्रश्न गर्ने हामी पत्रकारहरु माथि नै यतिबेला प्रश्न बर्सिन थालेको छ । यसका पछाडि धेरै कारण हुनसक्छन् । पत्रकारिताको स्तर खस्कँदो छ । कतै विश्वसनीयता गुम्दै गएको छ भने कहीं पेशागत मर्यादा स्खलित छ । व्यवसायिकता हराउदै गएको छ । नागरिकको रुचि र आवश्यकतालाई ध्यान दिन नसक्दा तथा प्रविधिको विकासले नागरिकहरु सुसूचित हुन सञ्चार माध्यममाथिको निर्भरता घटेको मात्र छैन नागरिक एक कदम अघि भइसकेका छन् । मूलधारको पत्रकारिता भुत्ते भइरहेको छ । पत्रकारिताका पाठक,स्रोता र दर्शकहरु अहिले सामाजिक सञ्जाल र युट्युवतिर छन् । यसो किन भइरहेको छ ? अरुलाई प्रश्न गर्दै आएका हामी आफूले आफैलाई पनि प्रश्न गर्ने बेला आएको छ ।

जेरेमी प्याक्सम्यानले भनेका छन्– ‘पत्रकारहरु अप्ठेरो समूहका सदस्य हुन् । उनीहरु माया गरिन वा प्रशिद्ध हुन कहीँ गएका होइनन् तर कसैले उत्तर दिन नचाहेको विषयमा प्रश्न सोध्न गएका हुन् । यसबाट पनि पत्रकारको जिम्मेवारी प्रश्न गर्ने र कसैले लुकाउन खोजेको तथ्य बाहिर ल्याउने प्रमुख भूमिकामा चित्रित गरिएको छ । तर, यो भूमिकाबाट पत्रकारहरु विमुख बन्दै गएको आभाष हुन्छ ।
पत्रकारिता चौतर्फी चुनौतिको घेराबन्दीमा परेको छ । वाह्य र आन्तरिक कारण थुप्रै छन् । तर यहाँ पत्रकारका आफ्नै आचार र व्यवहारका कारण उत्पन्न चुनौतिको चर्चा गर्ने प्रयास गरिएको छ । कति पेशागत त कति व्यक्तिगत प्रवृत्तिका प्रसङ्ग यहाँ उठान हुनेछन्, जुन पत्रकारले र पत्रकार संलग्न भएरै गरिएका छन् । पत्रकारकै कारण पत्रकारितामा चुनौति आएको यथार्थ नकार्न मिल्दैन । जोसेफ पुत्जिरले न्युयोर्क वल्र्डमार्फत पहिलोपटक अभ्यास गरेको पीत पत्रकारिता (एल्लो जर्नालिज्म) अहिले पत्रकारिताको अभिन्न अंगजस्तो बनिसकेको छ । समाचारलाई बंग्याउने, आफूअनुकूल प्रस्तुत गर्ने, बढाइचढाइ गर्ने, सानोतिनो कुरामा पनि सनसनी मच्चाउने, हावादारी चरित्रको पीत पत्रकारिताले वास्तविक पत्रकारिताको मर्मलाई समाप्त पारिरहेको छ । मनगढन्ते समाचार लेखेकै कारण विश्वविख्यात पत्रकारहरू जेनेट कुक, जेसन ब्लायर, फरिद राफिक र ब्रायन विलियम्सको पतन भएको तथ्य स्मरण गर्न जरुरी छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा पीत पत्रकारिता बढ्दै गएको बताउँदै भनेका छन् –‘पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जे जे कारणले भए पनि तिनीहरु प्रभावित छन् । अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु’ (३ चैत २०७९ ) । हुन त उनको यो भनाइ निक्कै विवादमा पर्यो । संसदमा प्रश्न नै उठ्यो कि सबै पत्रकार खराब छैनन्, पीत पत्रकारिता गर्ने को को हो नाम भन्नु पर्यो भन्ने माग सांसदहरुले गरे । सभामुख घिमिरेले थप प्रष्ट्याउदै भनेका थिए– ‘थर्काएर, किनेर, फकाएर बिग हाउसहरुले वातावरणलाई प्रभावित पार्ने कोशिस गरिरहेका छन्, पत्रकार त्यसबाट मुक्त हुनुपर्छ ।’

नेता वामदेव गौतमले समय समयमा पेशाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता) बाट मैँ पनि शिकार हुँदै आएको छु भनेका छन् ।
हालका प्रधानमन्त्री केपी शर्मा ओली २०७७ मा पनि प्रधानमन्त्री नै थिए । त्यस वर्षको माघ ८ मा उनले भनेका थिए – देशको ठूलो समस्या पीत पत्रकारिता हो । प्रवृतिगत दृष्टिले प्रश्न गम्भीर छ । यसबारे बहस नभएका पनि होइनन् । गलतलाई गलत नै भन्नुपर्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी स्थानीय नेतृ बिर्तामोड निवासी रञ्जु प्याकुरेलले पार्टीकारिता गर्नेहरुलाई लक्षित गर्दै सामाजिक सञ्जालमा प्रश्न गरेकी छिन्– पत्रकार पार्टीको कार्यकर्ता हुन्छ । जुन पार्टीको पत्रकार हो त्यसको समाचार त्यो पार्टीमा आस्था राख्नेहरुले विश्वास गरिहाल्छन् । सत्य नै भएपनि अर्को पार्टीकाहरुले गलत बुझ्छन् । समाचारलाई विश्वसनीय बनाउने हो भने सबैभन्दा पहिला पत्रकार र दल बीचको सम्बन्धको गाँठो फुस्काउनु प¥यो । विशुद्ध पत्रकार र विशुद्ध पत्रकारिता भए सही समाचार सूचनाको प्रभावकारिता हुन्थ्यो कि ? यो प्रतिनिधि प्रश्न मात्र हो । यो प्रश्न अब आम रुपमै उठ्न थालेको छ । हाम्रा सञ्चारमाध्यमहरु राजनीतिक रंगबाट मुक्त छैनन् । पत्रकारहरु कुनै न कुनै पार्टीका छाता ओडेका छन् । यो बेलामा पत्रकारिताको मर्म र धर्म संकटमा परेको छ ।

दलको छाता ओढ्दामात्र आफूलाई सुरक्षित ठान्ने पेशागत मर्यादाबाट च्यूत भएका पत्रकारहरु पहिलो दोषी त हुन नै । प्रश्न यो पनि छ – आफू अनुकूलका, आफ्ना स्तुति र विपक्षका आलोचना अझ खेदो गरिएकामात्र सामग्री सञ्चार माध्यममा आओस् भन्ने चाहना राख्ने, त्यस्तै गर्न प्रेरित गर्ने, आफ्नो नराम्रो कसैले थाह नपाओस् तर अरुको नभएको पनि नराम्रै लेखियोस् भन्ने चाहना राख्ने सरकारका प्रतिनिधि र राजनीतिक दलका नेतृत्व पनि पीत पत्रकारिताका लागि दोषी हुन् कि ?

पत्रकारिताको क्षेत्र जति व्यापक छ, यसमाथिका प्रश्नहरु पनि व्यापक हुनु स्वभाविक हो । समग्र पत्रकारिता अझ राजधानी तिरका समस्या धेरै होलान्, यहाँ मोफसलका केही प्रवृत्ति केलाउने प्रयत्न गरिएको छ । पत्रकारहरु आग्रह–पूर्वाग्रह, कतै दवाब त कतै प्रभावमा परेको उदाहरण छन् । एक पत्रकार एक सञ्चारमाध्यम जस्तै भइसकेको छ । यही प्रसंगलाई कटाक्ष गर्दै झापा सुरुङ्गामा सामाजिक अभियानकर्मी युवा कमल कट्टेलले भनेका छन् – ‘खै कसरी चिन्नु एक घर एक पत्रकार,एक पत्रकार एक अनलाइन । को हो असली बाजेको पेडा ? श्रोता र पाठकलाई हैरानी ।’

श्रमजीवीहरु स्वरोजगारमुखी बन्न खोजेका छन् तर व्यवसायिक हुन नसकी पत्रकारिता कतिपयको मागीखाने माध्यम र भाँडो भएको छ । विज्ञापनहरु समाचार बन्न थालेका छन् । विज्ञापनदाता पनि ५० औं हजार खर्चेर प्रचार गर्नु भन्दा ५÷१० पत्रकार बोलाएर ५÷७ हजार खर्चमै समाचार लेखाउन अभ्यस्त भइसकेका छन् । दिइरहन नपर्ने समाचारले सञ्चारमाध्यम भरिएका छन् । दिनै पर्ने सूचना समाचारहरु बेपत्ता बनेका छन्, बनाइएका छन् । सीमित स्रोतमाथिको परनिर्भरताले पनि समस्या ल्याएको छ । धेरै मिडियामा प्रहरीले जे दियो वा जे पठायो त्यहीमात्र समाचार बन्ने गरेका छन् ।

पत्रकारितामा आग्रह र पूर्वाग्रह मौलाएको छ । बार्गेनिङको खेती फस्टाएको छ । यस्तो विषयमा पर्दाफास गर्दैछु भनेर फेसबुक लगायतका सामाजिक सञ्जालमा स्टाटस लेख्ने, टेलिफोनबाट धम्क्याउने तर स्वार्थ मिल्यो भने त्यो विषय गुपचुप हुने अवस्था÷प्रवृत्ति देखिँदै आएको छ । आयोजकले औपचारिक कार्यक्रममा बोलाउँदा भत्ता, तेल खर्च, खाजा खर्च खोज्ने प्रवृत्ति सामान्य बनिसकेको छ । अझ भनौं पत्रकारितामा खाम प्रवृत्ति मौलाएको छ । पत्रकारिता लेनदेनमा बदलिएको छ ।

कतिपय पत्रकार समाचार छापेर पैसा असुल्ने धन्दामा तल्लिन देखिन्छन् । खासगरी वडा र पालिकामा यस्तो काम भइरहेको पाइन्छ । जनप्रतिनिधिले आफू अनुकूलका समाचार पैसा दिएरै लेख्न लाउने गरेको कयौं दृष्टान्त छन् । पत्रकारहरु पनि पार्टी, मन्त्री, सांसद, स्थानीय जनप्रतिनिधिको झोले बन्न तछाड–मछाड गरिरहेका छन् । कुनै विषयमा पार्टीलाई तथा पार्टीका नेतालाई त्यति टाउको दुखाइ नहुन सक्छ, तर पत्रकारहरु पक्ष–विपक्षमा सामाजिक सञ्जालमा सतहमा नै उत्रिने गरेको धेरै उदाहरण छन् । मानौ कि सरकार, पार्टी, नेताहरु उनीहरुले नै चलाइरहेका छन् । समाचारका स्रोतहरु तथा प्रहरी प्रशासनसँगको अनुचित सम्बन्ध र लेनदेनका विषयले पनि हाम्रो पत्रकारिता स्खलित हुँदै छ । अझ कति पत्रकारले खोज अनुसन्धान गरेर विकृतिविरुद्ध तथ्यपरक उठान गरेका विषयमा त्यहाँ नाम मुछिएका विकृतिका कारक पात्रहरुलाई साथ दिएर उचाल्ने, धम्क्याउन लगाउने र पत्रकारको तेजोबध गर्दै असल पत्रकारिता गर्नेलाई हतोत्साहित बनाउने कार्यमा कति पत्रकारकै भूमिका हुने गरेको छ ।

कसैले फेसबुकमा लेखेको स्टाटस, सामाजिक सञ्जालमा आएका फोटा र घटना विवरणलाई नै अन्तिम स्रोत मानेर समाचार सम्प्रेषण गर्दा पत्रकारिताको धज्जी उडेको छ । कपी–पेस्ट पत्रकारिता मौलाएको छ । कयौं पत्रकार दैनिक त के हप्तौंसम्म एउटासम्म समाचार लेख्दैनन् । उनीहरुको दैनिकी औपचारिक कार्यक्रमका निम्तो मान्दै, नबोलाएका ठाउँमा पनि जाँदै, बोलाएका भन्दा बढी संख्यामा जाने, त्यहाँ खाजा खाँदै र भत्ता लिँदैमा बितेको देखिन्छ । कतिले कार्यक्रममा बोलाउने ठेक्का लिएर मन परेका र आफू निकटका मात्र बोलाएर सेण्डीकेट चलाउने पनि गरेका छन् । जसले बेपर्वाह त्यस्तो दैनिकी गुजारी रहेको छ उसले आफ्नो र परिवारलाई पनि प्रगति शून्य बनाइरहेको छ ।

सिर्जनशीलता छैन , अध्ययन छैन । खोज गर्ने इच्छाशक्ति र क्षमता छैन । सिप र क्षमता बढाउन जाँगर चल्दैन । कपीपेष्ट पत्रकारिता अर्को चूनौति हो । कार्यक्रममा कैयौं पत्रकार पुग्ने तर समाचार एक दुई जनाले मात्र लेख्ने अनि तिनै समाचार ‘कपीपेष्ट’ गर्ने अर्को समस्या छ । एउटा पत्रकारले खोजेर ल्याएको समाचार, फोटो वा एउटा सञ्चार माध्यममा प्रकाशित सामग्री बिनाअनुमति, स्रोत पनि उल्लेख नगरी आफैले खोजेको झैं गरी प्रकाशन– प्रशारण गर्दा पनि समस्या आउने गरेको छ । एउटा पत्रकारले आफूलाई मन नपरेको , आफूसंग विचार नमिल्ने सञ्चार माध्यम र पत्रकारलाई विभिन्न आक्षेप लगाएर चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा लेख्ने र आत्मरति लिने प्रवृत्तिले पनि पत्रकार र पत्रकारिताप्रति प्रश्न उठेका छन् । अझ स्थानीय सञ्चार माध्यमको अर्को समस्या के छ भने– विज्ञापनदाताले एउटालाई विज्ञापन दिएको हुन्छ, त्यो देखेर अरुले नसोधी प्रकाशन प्रशारण गरिदिने, सोध्दा पनि उस्लाई दिने हामीलाई किन नदिने ? त्यो चाहि को हो दिनै पर्ने ? हामीलाई पनि दिनु भएन भने तपाईंलाईं ठेगान लगाउन जानेका छौं भन्ने जस्ता धम्की दिएर विज्ञापन नै बन्द गर्नुपर्ने अवस्था स्वरोजगारमुखी पत्रकारहरुबाटै सिर्जना भएका घटना छन् । पत्रकार महिलाको सुरक्षाका विषयले पनि प्रश्न उठ्ने गरेको छ । पत्रकार महिला र मिडियामा काम गर्ने महिला कर्मचारी पत्रकार पुरुषबाट यौन हिंसाको शिकार भएका थुप्रै घटना बाहिर आएका छन् । कति यस्ता घटना बाहिर आउन सकेका छैनन् । यस्ता विषयले पनि पत्रकारप्रतिको सामाजिक प्रतिष्ठा गिरेको छ ।

कति पत्रकार विभिन्न पार्टी निकट पत्रकार संगठनको पद धारण गर्ने र नेतागिरी गर्दै हिँड्ने , कति पत्रकारिताको आडमा पार्टीको पनि ठेकेदारी चलाउने पनि छन् । पत्रकारले के गर्नु हुन्छ के हुदैन ? पत्रकारिता के हो , के होइन ? सामान्य कुरा सम्म ख्याल नगर्ने तर जे छ त्यसमै रमाउने छन् । त्यसरी रमाउनेहरुबाटै पत्रकारितामा चुनौति खडा भएको छ । पत्रकारहरुमाथि प्रश्न तेर्सिएको छ । लाभ र अनुचित लाभलाई केन्द्रमा राखेर पत्रकारितालाई स्वार्थपूर्ति गर्ने माध्यम बनाउनेहरुबाट हाम्रो पत्रकारिता संकटमा पर्दै गएको छ ।

अर्कोतर्फ राणा शासनका बेला स्तुतिबाट शुरु भएको हाम्रो पत्रकारिता गणतन्त्रमा पनि स्तुति तर्फ नै ढल्कदै गएको छ । यस्तै हो भने हिजो र आजमा के फरक होला ? पत्रकारले प्रश्न गर्न छोडेका छन् । प्रश्नहरु पनि कमजोर भएका छन् । आफ्नो मूल कर्म पत्रकारले प्रश्न छाडे भने न पत्रकार रहन्छन् न पत्रकारिता । त्यसैले सच्चिने कि सक्किने ? आफूले आफैलाई प्रश्न गरेर अघि बढ्ने बेला आएको छ । सबै पत्रकार कमसल र खराब छैनन् । थोरै भएपनि यस्तो विकृति, प्रवृत्तिले सिङ्गो पत्रकारिता क्षेत्रलाई प्रदूषित बनाएको छ । सबै पत्रकारहरुमाथि प्रश्न तेर्सिएको छ ।

राज्यका सबै अङ्ग र निकायमाथि मिडियाले निगरानी गर्छ, प्रश्न गर्छ । मिडिया आफैँमा ‘पावरफुल’ एजेन्सी हो । शक्ति र सत्तामाथि निगरानी गर्ने तथा ‘वाचडग’को भूमिकामा रहने स्वयम् मिडियाको भूमिकामाथि बहसको थालनी किन नगर्ने ? राज्यका अन्य निकायझैँ मिडियालाई पनि जनउत्तरदायी किन नबनाउने ? ‘मिस इन्फरमेशन’ र ‘डिस इन्फरमेशन’ले पत्रकारिताको गति नकारात्मकतातर्फ अघि बढेको आभाष हुन्छ । नराम्रो खबर छिटो पैmलिन्छ । प्रशिद्ध उक्ति नै रहेको छ – ब्याड न्यूज ट्राभल फास्ट । भ्यूज बढाउने नाममा होस् या सूचना स्रोतको परीक्षण र समाचारको प्रमाणीकरण नगरी दिइने समाचारले पत्रकारितामाथिको विश्वसनियता स्खलित भएको छ ।

अहिले संसारभर मिथ्या समाचार (फेक न्युज) टाउकोदुखाइको विषय बनिरहेको छ । सूचनाहरूको वास्तविकता, प्रामाणिकता एवम् पवित्रता र पत्रकारको साहसबाट मात्र पत्रकारिता जिउँदो रहन सक्छ । गलत सूचना वा जानकारीका माध्यमबाट समाजमा अफवाह फैलाएर उथलपुथल ल्याउने जंक न्युजको विकृति बढ्दै गएको छ । ब्रेकिङका नाममा स्रोतको आधिकारिकताबिना दिइने गलत सूचनाले भ्रम फैलाउने काम गरेको छ ।

म्यागासेसे पुरस्कार विजेता पत्रकार रवीश कुमार भन्छन्, ‘सूचना जति पवित्र र प्रामाणिक हुन्छ, नागरिकका बीच भरोसा त्यति नै गहिरो हुन्छ । देश सही सूचनाले बन्छ । फेक न्युज र प्रोपोगान्डा जहिले पनि भीड मात्र बन्छ ।’

पत्रकारिताप्रति विश्वसनीयता बढाउनु नै अहिलेको मूल काम हो । । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको स्वीकार्दै पत्रकारितामाथि विश्वसनीयताको खोजी गरिरहेको बताएका छन् । ‘एउटा पत्रकारले प्रश्न स्वीकार्न सक्दैन भने उसको नैतिक अधिकार हुँदैन कि उसले पनि कसैलाई प्रश्न गरोस् । त्यसकारण आफूप्रतिको प्रश्न स्वीकार्ने र करेक्सन हुने कुरामा हामी सबैभन्दा बढी लाग्यौँ भने त्यतिबेला मात्रै हामीलाई त्यो अधिकार हुन्छ की हामीले अरूको बारेमा प्रश्न उठाउँछौँ’– पोख्रेलले अगाडि भनेका छन्–‘अहिले पत्रकारिता क्षेत्रमा प्रशस्त प्रश्नहरू उठेका छन्, त्यसलाई सम्वोधन गर्न एउटा मात्रै डिमाण्ड छ– तिमीहरूको कन्टेन्ट विश्वसनीय होस् भन्ने मात्रै जवाफ खोजेको छ । हामीले विश्वसनीयता दिने सम्बन्धमा काम गर्नुपर्नेछ ।’

पत्रकारिताको मर्यादा र गरिमा बढाउँदै व्यावसायिक पत्रकारिताको अभ्यासमा अघि बढ्न सच्चिनुको विकल्प छैन । पत्रकारितालाई विकृत हुनबाट रोक्न स्वयम् पत्रकारकै भूमिका अहम् हुन्छ । हाम्रो आफ्नै आचारसंहिता छ । तर यसको धज्जी उडाइएको छ । पटक–पटक उल्लंघन भएको छ । आचार संहितामा व्यवस्था भएका तर पटक–पटक उल्लंघन भइरहने केही विषय यहाँ उल्लेख गर्नु सान्दर्भिक ठानेको छु । केही अनलाइन सञ्चारमाध्यमले सामग्री सम्पे्रेषण गर्दा पहिले नै राखिएको जस्तो देखाउने गरी पुरानो मिति र समय उल्लेख गर्न र एकपटक प्रकाशित सामग्री प्रकाशन पश्चात् हटाउने गरेका छन् , यो गर्नु हुँदैन । तर, असावधानीवश पोस्ट हुन गएका गम्भीर क्षति पु¥याउने खालका सामग्री हटाउँदा त्यस्तो सामग्रीको प्रकृति खुलाई क्षमा याचना गर्नुपर्दछ । प्रकाशित सामग्रीमा प्राप्त हुने असान्दर्भिक, अमर्यादित, अश्लील टिप्पणी वा सामग्रीलाई स्थान दिनु हुँदैन । सम्प्रेषण भएका टिप्पणी वा प्रतिक्रियाको जिम्मेवारी सम्बन्धित सञ्चारमाध्यमले लिनु पर्दछ ।
प्रशासनिक तथा सुरक्षा क्षेत्रका उपल्लो तहका अधिकृत होस् या त भीआईपी, भीभीआईपीहरुसंग कुम जोडेर फोटो खिच्ने र सामाजिक सञ्जालमा पोष्ट्याउदै फूर्ति देखाउने पत्रकारहरु पनि कम छैनन् । अनुचित दबाव र सम्बन्ध पत्रकारितामा अर्को समस्या बनेको छ । पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि सामग्री संकलन वा सम्प्रेषण गर्दा अनुचित प्रभाव पार्न खोज्ने विज्ञापनदाता, प्रायोजक, समाचारका स्रोत, व्यक्ति वा समूह कसैको पनि प्रत्यक्ष वा परोक्ष दबाब वा प्रलोभनमा पर्ने प्रवृत्ति छ, तर त्यो गलत हो । त्यस्तै समाचार स्रोतसँग पेशागत मर्यादा विपरीत सम्बन्ध राख्न एवम् व्यक्ति वा संस्थाको निहित स्वार्थपूर्तिका लागि सञ्चारमाध्यमको दुरुपयोग भइरहेका छन्, त्यो गर्नुहुँदैन । अझ कतिपय ठाउँमा पत्रकारलाई मात्र बोलाइएको हुन्छ, त्यहाँ पत्रकारहरुसँगको सम्वन्धका कारण पत्रकारकै भेषमा प्रहरीका सुराकीहरु समेत सामेल हुने क्रम बढेको छ ।
पेशागत मर्यादा विपरीत उपहार तथा पुरस्कार ग्रहण अर्को विकृति बनेको छ । पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघ–संस्था वा व्यक्तिगत कुनै पनि प्रकारका उपहार वा विशेष सुविधा लिनु हुँदैन । पेशागत मर्यादा, व्यावसायिकता र दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै प्रकारका पुरस्कार वा सम्मान ग्रहण गर्नुहुँदैन । राज्यका सबै अंग र निकायमाथि मिडियाले निगरानी गर्छ, प्रश्न गर्छ । मिडिया आफैँमा पावरफुल एजेन्सी हो । शक्ति र सत्तामाथि निगरानी गर्ने तथा वाचडगको भूमिकामा रहने स्वयम् मिडियाको भूमिकामाथि बहसको थालनी किन नगर्ने ? राज्यका अन्य निकायझैँ मिडियालाई पनि जनउत्तरदायी किन नबनाउने ? त्यसपहिले पत्रकार उत्तरदायी बन्नुपर्छ ।

वासिङ्टन पोस्टका पूर्वप्रकाशक फिल ग्राहमले भनेका थिए, ‘पत्रकारिता इतिहासको पहिलो रफ ड्राफ्ट हो ।’ हरेक लेखक र पत्रकारले कलम चलाउनुअगाडि सयौँचोटि सोच्न जरुरी छ कि म फगत समाचार लेखिरहेको छैन, इतिहास लेखिरहेको छु । भावी पुस्तालाई मिथ्या इतिहास घोकाउने अपराधकर्म पत्रकारहरूबाट हुनुहुँदैन । पत्रकारिताको विकृत रुपप्रति सबैको चासो र चिन्ता छ । अधिवक्ता ताराप्रसाद ओलीले भनेका छन्– अब हरेक पत्रकारले आफ्नो कर्म र भूमिकाको समीक्षा गर्नुपर्छ ।

समग्रमा भन्ने हो भने दवाब र प्रभावबाट पत्रकार मुक्त हुन सक्नु प¥यो । बेलायती नाटककार टोम स्टोपार्डले भनेका छन्– ‘म अझै विश्वस्त छु कि यदि तपाईको चाहना संसार परिवर्तन गर्ने छ भने सबैभन्दा छिटो हतियार पत्रकारिता हो । तर, यसको लागि उत्तरदायित्व, इमान्दारिता, नैतिकता, शुद्धता, सन्तुलन, विश्वसनीयता, शिष्टता, स्वच्छता जस्ता पत्रकारिताको सिद्धान्त र पत्रकार आचारसंहितालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ । गलत गर्नेलाई दण्डित गर्नुपर्छ । पेशाको गरिमा, मर्यादा उच्च राख्न सबैले आफ्ना कमजोरीलाई महशुस गरेर अब सच्चिने संकल्पसहित अघि बढ्नुपर्छ । महात्मा गान्धीले भनेका छन्, ‘पत्रकार र पत्रकारिताको धर्म भनेको निःशस्त्र रहेर समाजमा सुशासन र शान्ति कायम गर्नु हो ।’

अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको प्रसिद्ध भनाइ छ, ‘नागरिकलाई साँचो कुरा जान्न देऊ, तब मात्र राज्य सुरक्षित हुन्छ ।’ नागरिकलाई सही सूचना दिने दायित्व पत्रकारकै हो । जब पत्रकारिता शक्तिको इसारामा चल्छ, राजनीतिक निकटताका आधारमा परिचालित हुन्छ, सनसनीपूर्ण समाचारको सहारा लिन खोज्छ, तब नागरिकको सुसूचित हुने अधिकार हनन हुन्छ । पत्रकार रहोस् नरहोस्, उसको जागिर रहोस् नरहोस् नागरिकको सुसूचित हुने अधिकारको ग्यारेन्टी गर्ने कर्म र धर्मबाट पत्रकार कहिल्यै च्यूत हुनुहुन्न । (पत्रकार महासंघ इलामद्वारा प्रकाशित ‘इलाम’ पुस्तकबाट)

yekrajgiri@gmail.com
(गिरी–नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष हुन् ।)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here