
गीतकार एन.बी. दाहाल नवीनले गीत सिर्जना गर्न थालेका ४५ वर्षभन्दा बढी अर्थात् आधा शताब्दी भइसकेको छ । गीतकार दाहालका अनुसार उनले पहिला कथा लेखेका थिए, तर उनमा गीतकै सिर्जनाको लत बसिदियो । उनमा अर्को उत्कट इच्छा थियो शिक्षक बन्ने । उनले चालीस वर्षसम्म लाखौँ विद्यार्थीहरुमा शिक्षाको उज्यालो छरेर असल, सक्षम र शिक्षित नागरिक तथा जनशक्ति तयार गरेका छन् । अहिले पेन्सनको अवस्थामा समाजमा उनी गीतकारका रुपमा सक्रिय रहेका छन् ।
गीतकार दाहालको गीत रचना सर्वप्रथम वि.सं. २०६० सालमा अनुराग पत्रिका चुलाचुली इलामबाट प्रकाशित भइ सार्वजनिक भएको थियो । उसैताकादेखि विभिन्न साहित्यिक संस्थाहरुसँग आबद्ध भएर रचनाहरु बाचन गर्दै हिँडन थालेका हुन् । २०६० माघमा चर्चित लोकगायक एल.पी. जोशी र वरिष्ठ गीतकार शिवशंकर थापाबाट कोपिला नामक आधुनिक गीतहरुका एल्वम् विमोचन भएको थियो ।
२०७९ सालमा चिहाएर हेरे जस्तो लाग्छ मलाई बोलको म्यूजिक भिडियो ओ.एस.आर.युटुव च्यानलमा प्रसारण हुन थालेको छ । यसरी गीतकार दाहाल सार्वजनिक हुँदै आफ्ना सिर्जनाहरु फैलाउन थालेका हुन् । गीतकार दाहालले यतिधेरै गीत सिर्जना गरेका छन् कि, प्रस्तुत ‘म भित्रका गीतहरु’ कृतिभित्र दाहालका दुई सय २० बीस वटा गीतहरु प्रकाशित भएका छन् । सबैजसो गीतहरु नेपाली आधुनिक गीतहरुको स्तरमा पर्दछन् । केही गीतहरुका केही हरफहरु यस प्रकार रहेका छन् :
सयपत्री फुल्यो मखमली फुल्यो
मेरो मन कहिल्यै फुलेन
पूर्व खुल्यो पश्चिम खुल्यो
मेरो आकाश कहिल्यै खुलेन ।
अर्को गीतको केही हरफहरु :
मेरो आँशुलाई मोती भनेर
नटिप्नु है तिमीले
मेरो व्यथालाई कथा सम्झेर
नपढ्नु है तिमीले ।
गीतकार दाहाल लोकप्रिय गीतकार हुन् । उनका सिर्जनाहरुका बारेमा धेरै स्थापित गीत–संगीत कलाकार तथा सर्जकहरुबाट प्रसंशा गरिएका छन् । गीत–संगीतका स्थापित प्रतिभाहरु गणेश रसिक, मणिकमल क्षेत्री, दावा ग्याल्मो, जश योञ्जन प्यासी, कविता आले, राजेन तामाङ, सुमन लामा, भुपेन शर्मा, कैलाश थापा मगरबाट गीतकार दाहालका गीतहरु धेरै राम्रा र मन छुने सिर्जना भएका विचार व्यक्त भएका छन् ।
त्यस्तै गरी साहित्यकारहरु कालुसिंह रनपहेँली, विमला प्रधान, लतिका जोशी, किरण कुमार, विष्णु ठकुरी, टीका ढुंगेल (रटन), युवराज काफ्ले, ज्ञानेन्द्र खतिवडा, मञ्जुला तामाङले दाहालका गीतहरु यथार्थ, सान्दर्भिकता, सौन्दर्यताले भरिएका, राम्रो शैली, हाँसो रोदनको सम्मिश्रण, जीवन दर्शन र भोगाईका सन्देश बोकेका गीतहरु भएका विचार व्यक्त भएका छन् । दाहालका गीतहरु नेपाल तथा भारतका गायक गायिकाहरुले पनि उत्तिकै रुपमा गाएका छन् । दाहालले रचेका कतिपय गीतहरुमा कैलाश थापाको संगीत र बिसु राईका संगीतले सजिएका छन् । चन्द्रकला माझीको स्वरले गीतहरु सुमधुर बनेका छन् ।
गीत यस्तो विधा हो जसका माध्यमबाट मनमा छाप बस्नेगरी सन्देश प्रवाह गर्न सकिन्छ । गीतको बान्की र लयात्मकतासँग श्रोताहरुको मन, मुटु र मस्तिष्क सजिलै जोडिन्छ । मानिसहरुले सदियौँदेखि गीतका माध्यमबाट आ–आफ्ना भावना, सन्देश र विचारहरु पोख्दै आएका छन् । गीतहरुले जीवनजगतको कहानी कहने मात्र होइन राजनीतिक उथलपुथल गराउन पनि सक्दछ र राजनीतिक मेलमिलाप पनि गराउन सक्छ । शासन प्रणालीमा सुधार ल्याउन सक्छ । गीत एक प्रकारले क्रान्ति र शान्तिको बिगुल पनि हो । गीतका झन्कारले जस्तै क्रुरता पनि विनम्रतामा परिणत गर्न सक्छ । खासमा गीत मानिसहरुका लागि सञ्चारको माध्यम हो जसबाट अप्रत्यक्षरुपमा सन्देश सम्प्रेषण गर्न सकिन्छ । अनि गीत अरु धेरै कुरा हुन् जसले संसारलाई सही बाटोमा हिँडाउन सक्छ ।
प्रसिद्ध संगीतकार कर्म योञ्जन, मणिकमल क्षेत्री, शान्ति ठटाल, जीवन अधिकारी, पेमा लामा, पवन गोले, दीप श्रेष्ठ, शम्भू राई, शान्तिराम राई, एल.पी.जोशी लगायत थुप्रै स्थापित तथा नव गायक गायीका, संगीतकार तथा गीतकारहरुसँग गीतकार एन.बी. दाहाल नवीन भेटघाट गर्नेदेखि लिएर, गीत संगीत सम्बन्धी कार्यक्रमहरुमा बाक्लै सहभागी हुने गरेका पाइन्छन् । त्यसैगरी साहित्यिक कार्यक्रमहरुमा सहभागी भइरहने दाहालको एउटा सकारात्मक पक्ष रहेको छ । स्थापित साहित्यकारहरुसँग दाहालको भेटघाट र विचार आदान प्रदान हुने गरेका पाइन्छन् । नेपाल र भारतका विभिन्न स्थानमा हुने सांगीतिकदेखि साहित्यिक कार्यक्रमहरुमा दाहाल उपस्थित भई आफ्ना रचना प्रस्तुत गर्ने गर्दछन् ।
अर्को एक गीतको केही हरफहरु :
मलाई मात्र हैन प्रिय तिमी
आफैलाई पनि हेर्ने गर
आँखामा मात्र हैन प्रिय तिमी
अब त मुटुमा पनि बस्ने गर ।
गीतकार दाहालका गीतहरु चेतनामूलक, उर्जामूलक, संस्कृति, भूगोल, परम्परा, रहनसहन, नारीका दुःख–सुख, संघर्ष, उपलब्धी, खुशी, भावना, प्रकृति, फूल, हावा, बतास र धेरैजसो प्रेम, माया प्रिती सम्बन्धी सिर्जना गरिएका छन् । गीत भनेको सम्झन योग्य, मनमा छाप बस्ने, मुखाग्र हुने, जनजिब्रोमा अचारको स्वाद झैँ झुन्डिने हुन्छन् । गीत भनेको प्रेमका भावना व्यक्त गर्ने सजिलो, शालिन तथा सबैभन्दा शक्तिशाली माध्यम हो । संसारका धेरै मानिसहरुले गीत कै माध्यमबाट आआफ्नो जीवनसाथी खोजेका छन्, फकाएका छन् र आफ्नो बनाएका छन् ।
भौतिक चिजले मनाउन सकिएन भने गीतका शब्द र लयले सजिलै मनाउन सकिन्छ । गीतकै माध्यमबाट आ–आफ्ना संस्कृतिबारे अरुमा सन्देश सम्प्रेषण र संरक्षण सम्भव हुन्छन् । भजन तथा भक्ति गीतका माध्यमबाट धर्म तथा आध्यात्मिकता पनि बढी ग्रहणीय र अपनत्व हुन्छन् । प्रकृति तथा वातारण सम्बन्धमा पनि गीतहरुले महत्वपूर्ण भूमिका खेल्दछन् । त्यसैगरी गीत एक छोटो कविता या काव्य पनि हो । थोरै शब्द या हरफका माध्यमबाट धेरै कुराहरु प्रवाह गर्न सकिन्छ । यस्तै यस्तै विशेषताहरु बोकेका गीतहरुले यस कृति भरिएका छन् ।
चिटिक्क स्वरुपको कृति ‘म भित्रका गीतहरु’मा गीतकार दाहालका गीति सिर्जना, डेडिकेशन तथा क्षमता समेटिएका छन् । यस कृतिमा धेरैभन्दा धेरै गीतकार, गायककार तथा संगीतकार र साहित्यकारहरुसँग भेटघाट र कार्यक्रमहरुमा सहभागी हुँदाका फोटाहरु पनि समेटिएका छन् । कमल गाउँपालिका–२ तोपगाछी झापा निवासी गीतकार एन. बी. दाहाल नवीनका तीन कृतिहरु प्रकाशोन्मुख रहेका छन् । दर्जनौं सम्मानबाट सम्मानित भएका दाहाल करिब दर्जन संघ संस्थामा सम्बद्ध भइ समाजसेवामा पनि उत्तिकै सक्रिय रुपमा समर्पित रहेका पाइन्छन् ।

























