
माटो अन्न दिँदैन ती कृषकले खेतै नरोपेपछि
भन्नुस् लेख्दछु आज छन्द कविता जान्दैन कालो मसी
मिल्ने हुन्छ र के छ भाग्य गतिलो हेरेर बस्दा चिना
सारा सृष्टि सधैँ चलाइरहने हो जिन्दगी साधना
जे–जे हुन्छ ठिकै छ हुन्छ, जनमा राम्रो–नराम्रो पनि
पापी ती पुतना र कंश नभए हुन्थे कहाँ कृष्ण नी
मौकाले पनि खोज्छ आउन यहाँ संघर्षमा रेटिँदै
हिँड्ने हुन्छ कहाँ प्रयास नगरे बच्चा कतै जन्मँदै
हावाले जलले र वृक्ष थलले के हुन्छ अल्छी बने
पाक्छन् खै कसरी र चामल मकै बल्दैन आगो भने
भज्नुस् मन्त्र सबै जपेर भगवान् मिल्दैन चारो यहाँ
फाल्दै श्वास बचाउने हरघडी हो जिन्दगी साधना
फाली इज्जत खोज्छ बन्न गतिलो गिर्दैछ आफैँ तल
बोक्रे तारिफ पाउने लहडमा भो हुन्न भाइरल
तोरी तेल दिँदैन हेर सहजै मिल्दैन खोष्टा पिना
पग्ली छर्दछ मैन ज्योति सबमा हो जिन्दगी साधना
मान्छेको अब गर्छ नक्कल भने भुल्नेछ उड्नै चरा
भुल्दै आफ्नोपना हिड्यौँ सब भने बन्नेछ खोक्रो धरा
तक्मा पाउन लौ नचोर कविका संघर्षका सिर्जना
आफ्नै भिन्न सुवास छर्नुछ यहाँ हो जिन्दगी साधना
माई नपा–४ इलाम, हालः बिर्तामोड झापा



























