कमल ।

झापाको कमल गाउँपालिकाले अस्थायी, सेवा करार र ज्यालादारी कर्मचारीको तलब भुक्तानी रोक्ने भएको छ ।
कोशी प्रदेश स्थित कमल गाउँपालिकाले अस्थायी, सेवा करार र ज्यालादारी कर्मचारीहरूको तलब भुक्तानी गर्न नसकिने भन्दै सो सम्बन्धी सूचना जारी गरेको छ ।
गाउँपालिकाको कार्यालयबाट सार्वजनिक सूचनामा उल्लेख भए अनुसार, नेपाल सरकारको मिती २०८२÷०६÷०५ गतेको निर्णय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको पत्रका आधारमा अस्थायी,करार र ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूको तलब, भत्ता र अन्य सुविधाहरू भुक्तानी गर्न नसकिने भन्दै सुचना जारि गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत केशव कुमार ढकालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, मिती “२०८२÷०७÷०१ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस विषयमा कुनै थप निर्णय नभएकाले अस्थायी, करार तथा ज्यालादारी सेवामा रहेका कर्मचारी, शिक्षक र प्राविधिकहरूको तलब भुक्तानी नगर्न निर्णय गरिएको हो।”
उक्त विषयमा अस्थायी, सेवा करार र ज्यालादारी लगायत अन्य कर्मचारीको सम्बन्धमा गाउँ कार्यपालिकाको मिति २०८२/०६/३० गते र २०८२/०७/०१ गते बैठक बसी कार्यपालिकाले थप कुनै निर्णय गरेमा बाहेक २०८२÷०७÷०१ गते देखी लागु हुनेगरी निर्णय अनुसार, पालिका र वडा कार्यालयहरूमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवाका कर्मचारीहरूको तलब तथा भत्तासहितका अन्य सुविधा हाललाई रोक्का गरिएको छ ।
यस सम्बन्धमा थप निर्णय नआउँदा सम्म ती कर्मचारीहरूले तलब भुक्तानी नपाउने कमल गाउँपालिका द्वारा प्रकाशित सुचनामा जनाएको छ ।





























