अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप: आयोजक पथरी–११ एफसी सेमिफाइनलमा प्रवेश

0
96

पथरी शनिश्चरे।

मोरङको पथरी शनिश्चरे–१ जाँते मोड स्थित प्रस्तावित रङ्गशालामा संचालन भैरहेको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगितामा आयोजक पथरी–११ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार सम्पन्न खेलमा आयोजक टोलीले ए–डिभिजन खेलिसकेको डिफेन्डिङ च्याम्पियन ललितपुरको ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको पाँचौँ मिनेटमा, अर्थात् खेलको ४५औँ मिनेटमा, पथरी–११ का जर्सी नम्बर ११ का खेलाडी मिक्सन दासले निर्णायक गोल गर्दै टोलीलाई विजयी तुल्याए।

आजको खेलमा मिक्सन दासलाई उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ द म्याच घोषित गरिएको थियो। उनलाई प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाकी उपमेयर देवी माया काफ्लेले नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्रदान गर्नुभयो।

पथरी शनिश्चरे तथा आसपासका विभिन्न क्षेत्रबाट दर्शकहरूको बाक्लो उपस्थितिले मैदानलाई उत्सवमय बनायो। सोही अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नं १ का अध्यक्ष भीमकुमार राई, वडा नं ४ का लोकनाथ न्यौपाने, वडा नं ७ का उद्धव बस्नेतलगायतको पनि उपस्थिति रहेको थियो।

प्रतियोगिताको अध्यक्षता आयोजक क्लबका अध्यक्ष सुमन विकले गर्नुभएको थियो। यसैबीच, खेलको मध्यान्तरमा द भोइस किड्स नेपाल सिजन–४ का फाइनलिस्ट निश्चल लिम्बुले आर्कषक साङ्गीतिक प्रस्तुति दिएर दर्शकको मन जित्न सफल भएका थिए।

सोमबारको खेल पाँचथर फुटबल क्लब र काठमाडौँको सङ्कटा क्लबबीच हुने आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here