काठमाडौँ,लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको भन्दै नक्कली कागजात तयार गरी सरकारी कर्मचारीको भेषमा लाभ लिन खोज्ने एक युवक पक्राउ परेका छन्।
जिल्ला ललितपुर, ललितपुर महानगरपालिका–१५ थसिखेल घर भई हाल काठमाडौँ महानगरपालिका–२२ झोछे बस्ने २३ वर्षीय समन श्रेष्ठलाई प्रहरीले काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई मिति २०८२ पुस ७ गते पक्राउ गरी सरकारी छाप तथा लिखतसम्बन्धी कसूरमा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।
प्रहरीका अनुसार श्रेष्ठले लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको जस्तो देखिने नक्कली कागजात तयार गरेका थिए। साथै उनले सरकारी कर्मचारीले लगाउने पोशाकसमेत प्रयोग गरी आफूले प्राप्त नगरेको ओहदाको परिचय देखाउँदै विभिन्न स्थानमा फाइदा लिन खोजेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा श्रेष्ठले सिंहदरबारलगायत विभिन्न सरकारी निकायमा पुगेर नभएको ओहदा र परिचय दिने गरेको खुलेको छ। उनले आफैं उपस्थित भएर तथा फोनमार्फत सरकारी कर्मचारी भएको परिचय दिई सर्वसाधारणलाई प्रभावमा पार्ने गरेको र आर्थिक लाभ लिएर विभिन्न व्यक्तिलाई जागिर लगाइदिन्छु भन्दै झुक्यानमा पार्ने गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका श्रेष्ठको साथबाट बागमती प्रदेश लोकसेवा आयोगको कार्यालयबाट जारी गरिएको शाखा अधिकृत पदको नियुक्ति पत्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अधिकृत पदमा नियुक्ति पुष्टि सम्बन्धी पत्र, सोही मन्त्रालयबाट जारी गरिएको परिचय पत्र तथा अर्थ मन्त्रालयबाट तलब भुक्तानीसम्बन्धी पत्रलगायतका कागजात बरामद गरिएको प्रहरीले जनाएको छ।






























