फुङलिङमा भालु नियन्त्रणका लागि फलामको खोर, सतर्कता अपनाउन आग्रह

0
51

ताप्लेजुङ, फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ। पछिल्ला केही दिनयता भालुले चौपायामाथि आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास बढेको छ।

स्थानीयका अनुसार गत साताभित्र भालुको आक्रमणबाट आठवटा खसी–बाख्रा मरेका छन् भने तीनवटा घाइते भएका छन्। हाङ्देवास्थित बुङ्कुलुङको धुपौरे क्षेत्रमा लगातार क्षति भएपछि मंगलबार डिभिजन वन कार्यालयको अगुवाइमा फलामे खोर राखिएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष सुरज ओझाले बताए।

स्थानीय किसान नारायणप्रसाद भण्डारीको भेडाबाख्रा राखिएको खोर नजिकै फलामे खोर राखिएको हो। भण्डारीको खोरमा भालु पटक–पटक प्रवेश गर्ने गरेकाले पुनः आउन सक्ने जोखिमलाई ध्यानमा राखेर त्यही स्थानमा खोर राखिएको अध्यक्ष ओझाले बताए।

निमित्त डिभिजन वन अधिकृत ललितकुमार यादव, फेकोफनका जिल्ला अध्यक्ष ओझा, वडाध्यक्ष लक्षुमन गुरुङ तथा नेपाल प्रहरीका प्रतिनिधिसहितको टोली हाङ्देवा पुगेको थियो।

स्थानीयवासीका अनुसार सोमबार राति नारायण भण्डारी र पदम गुरुङका दुईवटा बाख्रा भालुले खाएको छ भने तीनवटा घाइते भएका छन्। यसअघि पुस ४ गते भगिमान गुरुङका चारवटा बाख्रा भालुको आक्रमणमा मरेका थिए भने मंसिर २८ गते नारायण गुरुङको एउटा भेडा पनि भालुले खाएको थियो।

भालुको आतङ्क बढेपछि स्थानीयवासी घाँस, दाउरा संकलन तथा अलैंची खेतीका लागि जङ्गल जानसमेत डराउन थालेका छन्। वडाध्यक्ष लक्षुमन गुरुङले भालु नियन्त्रण नहुँदासम्म सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here