अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–८स्थित लालीगुँरास महिला कृषि सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
स्थानीय शनिश्चरे बजारस्थित सामुदायिक भवनको सभाहलमा संस्था सञ्चालक समितिकी अध्यक्ष हिमादेवी विष्टको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा संस्थाको गत आर्थिक वर्ष २०८१/०८२को वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष विष्टले, लेखा समितिको प्रतिवेदन संयोजक मीना श्रेष्ठले र चालु आर्थिक वर्ष २०८२/०८३को प्रस्तावित बजेट, नीति तथा कार्यक्रम व्यवस्थापक पवित्रादेवी श्रेष्ठ गिरीले प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी एक करोड १६ लाख ६२ हजार एक सय रुपैयाँ, निक्षेप बचत तीन करोड दुई लाख ३१ हजार नौ सय ६१ रुपैयाँ, कर्जा लगानी चार करोड छ लाख ९६ हजार दुई सय ७९ रुपैयाँ, जगेडा कोषमा ४८ लाख ५७ हजार चार सय १६ रुपैयाँ ८५ पैसा, कर्जा जोखिम कोषमा २६ लाख १३ हजार नौ सय ६३ रुपैयाँ ८६ पैसा, अन्य कोषहरुमा २६ लाख ५५ हजार छ सय २३ रुपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी कार्यक्रममा नियमित बचत गरी १० वर्ष पूरा गर्ने ७० वर्ष माथिका १० जना ज्येष्ठ शेयर सदस्य क्रमश कृष्णकुमारी भट्टराई, गोमादेवी कार्की, चन्द्रकला बस्नेत, टहलकुमारी सापकोटा, देवीकला दाहाल, देवीमाया खनाल, मित्रमाया राना मगर, रेनुका कोइराला, सुन्दरा ओली र हेमकला पौडेललगाई ज्येष्ठ भत्ता वितरण गरिएको थियो ।
त्यस्तै बाल बचतकर्तातर्फ सोफिया खान, मासिक बचतकर्तातर्फ गंगा अधिकारी र रेनुका दाहाल, दैनिक बचतकर्तातर्फ गंगादेवी दाहाल र मल्लीका नेपाली, र कर्जातर्फ टिकादेवी भट्टराई र श्यामकुमारी कार्की सम्मानित भएका थिए । सोही कार्यक्रममा संस्थाकी निवर्तमान अध्यक्ष चन्द्रकुमारी लिम्बूलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघकी सदस्य निर्मला भण्डारी, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापा, ऋद्धी सिद्धी महिला कृषि सहकारी संस्थाकी उपाध्यक्ष भूपा राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिकी उपाध्यक्ष यशोदा पौडेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक गिरीले गरेकी थिइन् ।































