कुनै पनि खाद्यवस्तु खरिद गर्दा त्यसको उपभोग्य समय सीमामा ध्यान दिन उपभोक्तावादी तथा चिकित्सक लगायतका स्वास्थ्यकर्मीले सुझाव दिन्छन् । त्यसमा पनि मानव स्वास्थ्य रक्षाका लागि दिइने औषधिहरुका हकमा उपभोक्ता स्वयम्ले विशेष ध्यान दिनुपर्दछ । चिकित्सकले औषधि किन्दा त्यसको उत्पादन र म्याद ख्याल गर्न सुझाव दिए पनि उपभोक्ताले हेरेर किन्ने गरेको पाइँदैन । त्यसो त औषधि बिक्रेताहरुलाई म्याद ख्याल गर्न, प्रयोग मिति सकिएको औषधि नबेच्ने निर्देशन दिइएको हुन्छ । तर, त्यस्तो निर्देशनको पालना नगर्ने औषधि बिक्रेताहरुलाई दण्डित गर्ने कानूनी व्यवस्थाको कार्यान्वयन खुकुलो हुँदा मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको घटनाक्रमले देखाएका छन् ।

झापाको सदरमुकाम भद्रपुरमा सञ्चालित औषधि पसलहरुमा उपभोक्ता हित संरक्षण समितिले भद्रपुर नगर क्षेत्रका औषधि पसलमा गरेको अनुगमनका क्रममा मानव स्वास्थ्यमा खेलबाड गरेको पाइयो । नगर उपप्रमुख राधा कार्कीको संयोजकत्वमा शुक्रबार भएको अनुगमनमा म्याद गुज्रिएका औषधिहरु बेच्ने गरेको पाइएको थियो । नगरपालिका अन्तर्गतको सो समितिले त्यस्ता औषधि जफत गरी एकपटकका लागि सचेत गराइएको छ । कतिपय फार्मेसीले नियम अनुसार व्यवसाय दर्ता नगरेका, केहीले नवीकरण नगरेको, सरसफाईमा ध्यान नदिइएको, औषधि भण्डारण गर्ने ठाउँमै खाजा बनाउने गरिएको पाइएको थियो । भद्रपुर नगर क्षेत्रभित्रका चन्द्रगढी र भद्रपुरमा सञ्चालित औषधि पसलमै न्यूनतम् नैतिक शर्तहरु पालना नगरेको पाइनुले अन्य ग्रामीण क्षेत्रमा मानव स्वास्थ्यमाथि कति खेलबाड भइरहेको होला यो चिन्ताको विषय हो ।
एकातिर फार्मेसीहरुले औषधिको उपभोग्य मितिको ख्याल नगरी बेच्ने अर्कातिर ग्राहक आफैं सचेत नहुने अवस्था देशकै औसत अवस्था छ । यसले एकातिर पैसा यसै खेर जान्छ अर्कोतिर मानव स्वास्थ्यमा समेत हानी गर्छ । म्याद गुज्रिएका औषधिको प्रभावकारिता रहँदैन जसमा भएको रसायनले नकारात्मक असर गर्ने जोखिम पनि रहन्छ । म्याद नाघेका औषधिको सेवनले रोगको जीवाणु मार्नुको साटो शरीरमा भएका प्रतिरोधात्मक क्षमता जीवाणुमै बढाउन सक्छ । जो मानव स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ । त्यसैले कुनै पनि औषधि खरिद गर्दा र खाँदा उपभोग्य मिति हेर्न भुल्नु हुँदैन । त्यस्तै प्राथमिक उपचारका लागि भन्दै घरमा राखेका सिटामोल, बुफेन जस्ता औषधिको म्याद पनि विचार गर्नुपर्छ । त्यसैगरी औषधिको सुरक्षामा पनि ध्यान दिनु पर्दछ । सरकारका तर्फबाट अनुगमन र कारवाहीको प्रक्रियालाई निर्मम ढंगले कार्यान्वयन गर्नु पर्दछ ।




























