बिर्तामोड, वैशाख २६ । जल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मादक पदार्थ सेवन गर्नेबाट १० लाख ५३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
चालू आर्थिक बर्षको साउनदेखि बैशाखको तेस्रो हप्तासम्मा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कार्वाही गर्दै उक्त रकम राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । प्रहरीले १० महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्दै सवारी चलाउने १ हजार ५३ सवारी धनीलाई कार्वाही गरेको छ । कार्वाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् ।
प्रहरीले ८ सय ४८ वटा मोटरसाइकललाई कार्वाही गर्दा ८ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गरेको बताइएको छ । मोटरसाइकलपछि कार, जीप र भेन चालक सबैभन्दा बढी कार्वाहीमा परेका छन् । ८५ वटा कार, जीप र भेन कार्वाहीमा पर्दा ट्राफिक प्रहरीले ८५ हजार रुपैयाँ राजश्व उठाएको छ ।
त्यस्तै ४३ वटा ट्याक्टर कार्वाहीमा परेका छन् । जसबाट ट्राफिक प्रहरीले ४३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सवारी दुर्घटनाको कारण मादक पदार्थ सेवन पनि भएको जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चेकजाँचलाई तीब्रता दिएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।






























