आफूखुशी खेलकुदका कार्यक्रम गर्न नपाइने

0
630

मेचीनगर।

मेचीनगर नगर स्तरीय खेलकुद विकास समितिका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा समितिका अध्यक्ष तथा वडानम्बर ४का वडाध्यक्ष सामाजिक विकास समिति संयोजक नवीन बरालले उनीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

मेचीनगर नगरकार्यपालिकाले स्वीकृत गरेको खेलकुद विकास निर्देशिका २०७५को बुँदा नम्बर ४ बमोजिम बरालको नेतृत्वमा १५ सदस्यीय नगर स्तरीय खेलकुद विकास समिति गठन भएको हो । समितिमा सवै खेलकुदका विधामा आवद्ध खेलाडीहरु छन् ।

समितिको पहिलो बैठकले महत्वपूर्ण तीनवटा निर्णयहरु गरेको छ । समितिका सचिव अनन्तप्रकाश वस्तीका अनुसार अब उप्रान्त मेचीनगर क्षेत्रभित्र कुनै पनि खेलकुद प्रतियोगिता सञ्चालन गर्दा समितिको सिफारिस अनिवार्य लिनुपर्ने, एकसातापछिदेखि काँकरभिट्टामा सञ्चालन हुन गइरहेको मेची नेत्रालय मेचीनगर गोल्डकपको सहआयोजकको भूमिकामा रहने तथा नगरका १५ वटै वडामा वडास्तरीय खेलकुद विकास समिति गठन गर्ने वैठकले निर्णय गरेको हो ।

नगरपालिकाले तोकेको बजेटको सीमाभित्र रहेर खेलकुद सञ्चालन गर्ने, विभिन्न विधाका प्रतिस्पर्धात्मक खेल आयोजना गर्ने, अन्य पालिकाले आयोजना गरेको खेलकुद कार्यक्रममा आमन्त्रण गरिएमा मेचीनगर नगर क्षेत्रभित्रका खेलाडी टिम वा क्लबलाई आवश्यकता र औचित्यका आधारमा सहभागी गराउने, निजी क्षेत्रलाई समेत खेलकुदमा सहभागी र साझेदार बनाउने, नगरपालिकाको संयोजनमा विभिन्न विधाका खेलाडीहरुको पहिचान र प्रोत्साहन सम्बन्धि योजना बनाएर स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्नेलगायतका काम, कर्तव्य अधिकार समितिको रहेको सचिव वस्तीले जानकारी दिए ।

यसैगरी, खेलकुद विकासका लागि संघीय तथा प्रदेश सरकारसँग समेत समन्वय गरी खेलकुद वार्षिक कार्ययोजना बनाएर स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्ने, नगरपालिकाबाट स्वीकृत खेलकुद कार्यक्रम सञ्चालन गर्ने लगायत रहेका छन् ।

समितिको अध्यक्षमा बराल, उपाध्यक्षमा सुमनध्वज थापा, सचिवमा अनन्तप्रकाश वस्ती रहेका छन् । सदस्यहरुमा अर्जुन क्षेत्री लम्साल, दीपक घिमिरे, अस्मिता खवास, विपिन प्रसाई, लेखनाथ पराजुली, रवीन बस्नेत, मित्रबहादुर सारु मगर, मीन बस्नेत, बिमल पाण्डे, भूमिका फियाक, लाक्पा लामा, सपना मगर श्रेष्ठ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here