इलाम।
इलामको माई नगरपालिका वडा नम्बर ७ ठेवाटार महमाईका ४६ बर्षीय रामकुमार सदेम्वा (हेलाङ्गे कान्छा) मलेशियामा मृत अवस्थामा भेटिएका छन् ।
रोजगारीका लागि १२ बर्ष अघि मलेशिया गएका कान्छालाई जोहोरको गेलाङ्पतास्थित सोल्टाङ जेबिको अस्पतालमा मृत अबस्थामा भेटिएको गैरआबसीय नेपाली संगठन (एनआरएन) मलेशियाका हरि बस्नेतले जानकारी दिए । रोजगारीमा नेपालबाट गएको ६ महिनादेखि नै कम्पनीबाट भागेर अबैधानिक रुपमा काम गर्दै आएका कान्छा दश दिन अघि उच्च रक्तचाप भएर साथीहरुको सहयोगमा अस्पतालमा भर्ना भएका थिए ।
साथीहरु समेत अबैधानिक कामदारका रुपमा रहेकाले कसैले हेरचाह नगरी अस्पतालको बेडमा नै छोडेर गएको जानकारी आएको मृतकका दाजु माइ नगरपालिका वडा नम्बर–७का वडाध्यक्ष रामप्रसाद सदेम्वाले बताए । साथीहरुले अस्पताल ल्याएर छोडेका सदेम्वा बैशाख ४ गते मृत अवस्थामा भेटिएको परिवारले जनाएको छ ।
एनआरएनको सहयोगमा मृतकको पहिचान गरिएको र परिवारलाई जानकारी आएको मलेशियामा नै काम गर्दै आएका मृतकका छोरा बिष्णु सदेम्वाले बताए । मृतक सदेम्वाका एक श्रीमती, २ छोरा, २ छोरी, नातिनातिना समेत रहेको वडाध्यक्ष सदेम्वाले जानकारी दिए ।