आज वैशाख ६ गते । दुई झापाली सपुतले सहादत प्राप्त गरेको दिन । झापाली जनताका लागि ऐतिहासिक दिन अनि ठूलो उपलब्धीको दिन । हुन त शहीद राजन गिरी र सुरज विश्वासका सपना अहिलेसम्म पुरा हुन सकेको छैन । यसले कता–कता दुःखित बनाउनु स्वभाविकै हो । तर, बहादुर छोराको बलिदानीलाई सच्चा र देशभक्त नागरिकले उच्च सम्मानका साथ प्रशंसा गर्न कञ्जुस्याई गर्नु हुँदैन ।
२०६३ साल वैशाख ६ गते झापाको सदरमुकाम चन्द्रगढी घेराउ गर्न हजारौं जनता हिँडेर सदरमुकाम पुगेका थिए । त्यो जनलहर आज पनि सम्झँदा नेपाली जनता कतिसम्म आक्रान्त अवस्थामा रहेका रहेछन् राजतन्त्रबाट भन्ने प्रष्ट रुपमा देख्न सकिन्थ्यो । यो जनताको उत्साहलाई सबै नेपालीले सम्मान गर्नैपर्छ । तर, त्यस बेला क्रुररुपमा शासन सत्ता सम्हालेका राजा ज्ञानेन्द्र र उनका समर्थकहरुले दबाउन अनेक उपाय नरचेका होइनन् । तर आँधीबेहरी सरी अगाडि बढेका जनतालाई रोक्न सक्ने क्षमता थिएन ति प्रशासक सामु ।
बुलेटभन्दा ब्यालेट सयौं गुणा तागतिलो हुन्छ भन्न्ने उदाहरण जनताले जनआन्दोलनमार्फत दिइरहेका थिए । शायद यो अवस्थालाई देख्न नसकेर आत्तिएका उनीहरु गोली चलाउन बाध्य भएका थिए । झापा सदरमुकाम चन्द्रगढीलाई निषेधित क्षेत्र घोषणा गरेर जनतालाई तर्साउन खोजेका तत्कालीन शासकहरु आत्तिएका थिए । तर जनताले उक्त घेराबन्दीलाई तोडेर शान्तिपूर्ण रुपमा आन्दोलनलाई अगाडि बढाइरहेका थिए ।
त्यसैको परिणाम स्वरुप जनताको आन्दोलनलाई देख्न नसकेर तत्कालीन गृहमन्त्री कमल थापाको निर्देशनमा तत्कालीन शाही नेपाली सेनाले निर्दोष जनतामाथि बर्बर दमन गर्न शुरु गर्यो । बैशाखको त्यो नयाँ दिन, नयाँ सोच अनि नयाँ उमङ्गका साथ धेरै उद्देश्यलाई आत्मसाथ गरेर पुरा गर्ने हेतुका साथ सपना सजाएका शहीदहरुको सपनामाथि ति बर्बरदमन गरेर कायरताहरुले कालो बादल लगाइ दिएका थिए । ति लक्का जवानका छोरा गुमाउँदा कसको मन थामिन्छ र आज पनि ति छोरा भाइ, साथी, सम्झँदा शायद कसको आँखा रसाउँदैन् र । शायद शहीदका सपना पूरा भएको खण्डमा ती वीर शहीदप्रति सच्चा सम्मान त हुने नै थियो । तर, आफ्नालाई मात्र राम्रो ठाउँमा पुर्याउने अनि सत्तामा टिकीरहने मनसाय बनाएका दलका नेताहरुले देश र जनताको इच्छा अहिले पनि बुझ्न सकेका छैनन् ।
सडकमा भएका बेला शहीदका कुरा गर्छन, अंगभंग भएका घाइतेको विषयमा चर्का नाराबाजी गर्ने नेताहरु सत्तामा पुगेपछि चट्कै भुल्छन् । के यस्तो पाराले शहीदको सपना पूरा हुन्छ त यहाँ एउटा गम्भीर प्रश्न उठ्न सक्छ । यो प्रश्नको जवाफ अहिलेका कुनै पनि नेतासँग छैन भन्दा अचम्म मानु पर्दैन सत्य यही हो । शहीदलाई रुपैयाँ र पैसासँग दाँजेर शहीदका सपना पुरा हुन्छ भन्नु मुर्खता मात्र हो । यहाँ शहीद शब्दकै अपमान भएको छ । सवारी दुर्घटनमा मुत्यु हुने शहीद, झगडामा मर्ने पनि शहीद अनि देश र जनताको सच्चा मुद्दा उठाएर जीवन उत्सर्ग गर्ने वीर शहीद को हो भन्ने अन्यौल र्सिजना भएको छ ।
शहीदको सपना पूरा गर्न एकजुट भएर समयमै संविधान गर्न सबै दलका नेता एक ठाउँमा उभिन आवश्यक छ । नत्र शहीदका रगतले तिमीहरुलाई धिक्कारी रहने छन् । त्यसैले जनआन्दोलनको भावनालाई बुझ्ने चेष्टा गर्ने हो कि । नेपाली जनताले २०४६ सालको ऐतिहासिक जनआन्दोलन, २०६२÷०६३ को जनआन्दोलन नेपाली इतिहासमा निम्ति महत्वपूर्ण समय मान्न सकिन्छ तर फेरि पनि आन्दोलन गर्ने वातावरणको अन्त्य गर्नतर्फ राजनीतिक दलका नेताहरु गम्भीर बन्न आवश्यक छ ।
१९ दिनसम्म चलेको जनआन्दोलनले १० वर्षसम्म युद्धमा उत्रिएको तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन सफल भयो वर्षौंदेखि नेपाली जनतामा शासन जमाउँदै आएको निरङ्कुश राजतन्त्र पनि ढल्न पुग्यो । यो जनआन्दोलनको ऐतिहासिक उपलब्धी हो । यसलाई कसैले भुल्न हँुदैन ।
२०४६ सालसम्म निरङ्कुश शासक रहेका पञ्चायती राजाहरुसँग आफ्नो अधिकार लिन सफल भएका जनता फेरी पनि आन्दोलन गर्न बाध्य भए २०६२÷०६३मा अब भने जनताको जनमतलाई स्वीकार गरेर जनताको चहाना अनुरुप संविधान बनाउनतर्फ क्रियाशील हुन आवश्यक छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते शाही घोषणामार्फत मुलुकको शासन सत्ता आफ्नो हातमा लिएपछि २०६२ सालमा सात दलले चैत २६ गतेदेखि निर्णायक आन्दोलन शुरुवात गरेका थिए । उक्त आन्दोलन उत्सर्गमा पुग्ने क्रममा पूर्वी नेपालको झापाका दुई सपुत गुमायो वैशाख ६ गते झापाले । हुनतः आज विभिन्न कार्यक्रम गरेर शहीदका विषयमा चर्चा परिचर्चा भइरहेको छ तर यसले मात्र शहीदको सपना साकार हुँदैन भन्नेतर्फ सबैको ध्यान जान आवश्यक रहेको छ ।
शहीद राजन र सुरज नेपालका उज्ज्वल नक्षत्र बनेर रहेका छन् । उनीहरुको सपना पूरा गर्न सबैले एक जुट भएर पहल गर्न आवश्यक छ । शहीद कुनै पार्टीको हुँदैन केबल उनीहरु देशका सपुत हुन् भन्ने हेक्का राखेर शहीदको सपना साकार गर्नेतर्फ लाग्नतर्फ वैशाख ६ गतेको झापा आन्दोलनले दिएको सन्देशलाई कसैले भुल्नु हुँदैन । अनि शहीद शब्दलाई अपब्याख्या गरेर जनताको मर्म र भावनामाथि ठेस पुर्याउने काम पनि बन्द गर्नुपर्छ सलाम छ वीर शहीद राजन र सुरजलाई पुनः एकपटक ।