पाँचथरमा ११५ विपन्न परिवारलाई घर

0
528

पाँचथर,

सरकारले जनता आवास कार्यक्रमअन्तर्गत दलित र माझी समुदायमा ११५ विपन्न परिवारलाई घर निर्माण गरिदिने भएको छ। सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा पाँचथरका आठ स्थानीय तहमा उक्त सङ्ख्यामा घर निर्माण गर्न लागिएको हो।

पाँचथरमा फिदिम नगरपालिका वडा नं‍. ४, ५, ७, ८ र ९ मा माझी समुदायका १० तथा दलित समुदायका १८ घर निर्माण हुनेछन्। यस्तै तुम्बेवा गाँउपालिका वडा नं १ र २ मा माझी र दलित समुदायका गरी ११ घर निर्माण हुनेछन्। कुम्मायक गाउँपालिका वडा नं १, ३ र ५ मा माझी समुदायका १० तथा दलित समुदायका छ घर निर्माण हुने शहरी विकास तथा भवन कार्यालय इलामका प्रमुख सुमनकुमार मिश्रले जानकारी दिए।

यस्तै फाल्गुनन्द गाउँपालिका वडा नं ५ मा माझी र दलित समुदायका लागि २० घर, मिक्लाजुङ गाउँपालिका वडा नं ३ र ५ मा माझी र दलित समुदायका लागि ११ घर निर्माण हुने मिश्रले बताए। फालेलुङ गाउँपालिकाका वडा नं १ र ५ मा दलित समुदायका १३ घर तथा याङवरक गाउँपालिकामा पाँच घर निर्माण हुनेछन् भने हिलिहाङ गाउँपालिका वडा नं २ र ७ मा दलित र माझी समुदायका लागि ११ घर निर्माण हुने शहरी विकास तथा भवन कार्यालयले जनाएको छ।

पाँचथरमा वैशाख २ गतेदेखि ११ गतेसम्म लाभग्राही समुदायको विवरण सङ्कलनका लागि सर्भेक्षण फारम भर्न आह्वान गरिएको थियो। सर्भेक्षण फारम स्थानीय तहको कार्यालय तथा सम्बन्धित वडा कार्यालयमा वितरण गरिएको थियो। सर्भेक्षण फारम इलामस्थित कार्यालयमा सङ्कलन भइरहेको मिश्रले जानकारी दिए। कार्यालयसँग पर्याप्त जनशक्ति नरहेकाले स्थानीय तहको सहयोगमा उक्त कार्यक्रम अघि बढाइएको उनको भनाइ छ।

यसरी घर निर्माण 

कार्यालयले लाभग्राहीले भरेको सर्भेक्षण फारमका आधारमा घर निर्माणको निर्क्योल गर्नेछ। लाभग्राही परिवारको हालको घरको अवस्था, आर्थिक अवस्था तथा पेशा व्यवसायको अवस्थाका आधारमा अङ्क प्रदान गरी सबैभन्दा पीडित परिवारमध्येबाट घर निर्माण गरिने मिश्रले जानकारी दिए।

छनोट भएका कमजोर अवस्थाका परिवारको स्थलगत निरीक्षणपछि मात्रै घर निर्माण हुने सूची प्रकाशन गरिने उनले बताए। छनोट भएका प्रत्येक परिवारलाई एकै किसिमको घर निर्माणको डिजाइन प्रदान गरिनेछ। दुई कोठा, भान्छा तथा शौचालय भएको, इँटा वा ढुङ्गाको गारो भएको, जस्तापाताको छानो भएको घर निर्माणको डिजाइन कार्यालयले प्रदान गर्नेछ।

प्रत्येक परिवारलाई तीन लाख 

प्रत्येक परिवारलाई तीन लाख ३२ हजार ५०० रुपैयाँका दरले रकम प्रदान गरिने मिश्रले जानकारी दिए। तर, उक्त रकम एकमुष्ट प्रदान गरिँदैन।

घरको जग निर्माण गरिसकेपछि लाभग्राहीले २५ प्रतिशत रकम पाउनेछन्। यस्तै डीपीसी लेभल निर्माणपछि दोस्रो किस्तावापत ३० प्रतिशत रकम प्रदान गरिने मिश्रले जानकारी दिनुभयो।

घरको पर्खाल निर्माण गरिसकेपछि तेस्रो किस्तावापत ३५ प्रतिशत रकम प्रदान गरिनेछ भने घरको निर्माण पूरा गरी र‌ंगरोगनसमेत सम्पन्न गरेपछि बाँकी १० प्रतिशत रकम प्रदान गरिनेछ।

पूर्वी पहाडमा पहिलोपटक

शहरी विकास तथा भवन कार्यालय इलामले पूर्वी पहाडी जिल्लामा पहिलोपटक यो कार्यक्रम लागू गरेको हो।

चालू आर्थिक वर्षमा पाँचथरमा ११५ सहित इलाममा १०० तथा ताप्लेजुङमा ९५ घर निर्माण गर्ने तयारी गरिएको कार्यालय प्रमुख मिश्रले जानकारी दिए। उक्त कार्यालयले झापामा विगत वर्षबाटै यो कार्यक्रम सञ्चालन गरिरहेको छ। झापामा चालू आर्थिक वर्षमा ५०० घर निर्माण गर्ने कार्यालयको कार्यक्रम छ।

यद्यपि यसै आर्थिक वर्षमा घर निर्माणको कार्य पूरा हुने छैन।- थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here