दलित र माझी समुदायका घर बन्ने

१८ बैशाख २०७६, बुधबार मा प्रकाशित

 इलाम,

सरकारले जनता आवास कार्यक्रमअन्तर्गत पाँचथरमा दलित र माझी समुदायमा ११५ विपन्न परिवारलाई घर निर्माण गरिदिने भएको छ । सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा पाँचथरका आठ स्थानीय तहमा उक्त सङ्ख्यामा घर निर्माण गर्न लागिएको हो ।

पाँचथरमा फिदिम नगरपालिका ४, ५, ७, ८ र ९ नं वडामा माझी समुदायका १० तथा दलित समुदायका १८ घर निर्माण हुनेछन् । यस्तै तुम्बेवा गाँउपालिका वडा नं १ र २ मा माझी र दलित समुदायका गरी ११ घर निर्माण हुनेछन् । कुम्मायक गाउँपालिका वडा नं १, ३ र ५ मा माझी समुदायका १० तथा दलित समुदायका छ घर निर्माण हुने शहरी विकास तथा भवन कार्यालय इलामका प्रमुख सुमनकुमार मिश्रले जानकारी दिनुभयो ।

यस्तै फाल्गुनन्द गाउँपालिका वडा नं ५ मा माझी र दलित समुदायका लागि २० घर, मिक्लाजुङ गाउँपालिका वडा नं ३ र ५ मा माझी र दलित समुदायका लागि ११ घर निर्माण हुने मिश्रले बताउनुभयो । फालेलुङ गाउँपालिकाका वडा नं १ र ५ मा दलित समुदायका १३ घर तथा याङवरक गाउँपालिकामा पाँच घर निर्माण हुनेछन् भने हिलिहाङ गाउँपालिका वडा नं २ र ७ मा दलित र माझी समुदायका लागि ११ घर निर्माण हुने शहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।

पाँचथरमा गत वैशाख २ गतेदेखि ११ गतेसम्म लाभग्राही समुदायको विवरण सङ्कलनका लागि सर्भेक्षण फारम भर्न आह्वान गरिएको थियो । सर्भेक्षण फारम स्थानीय तहको कार्यालय तथा सम्बन्धित वडा कार्यालयमा वितरण गरिएको थियो । सर्भेक्षण फारम इलामस्थित कार्यालयमा सङ्कलन भइरहेको मिश्रले जानकारी दिनुभयो । कार्यालयसँग पर्याप्त जनशक्ति नरहेकाले स्थानीय तहको सहयोगमा उक्त कार्यक्रम अघि बढाइएको उहाँको भनाइ छ ।

कार्यालयले लाभग्राहीले भरेको सर्भेक्षण फारमका आधारमा घर निर्माणको निक्र्यौल गर्नेछ । लाभग्राही परिवारको हालको घरको अवस्था, आर्थिक अवस्था तथा पेशा व्यवसायको अवस्थाका आधारमा अङ्क प्रदान गरी सबैभन्दा पीडित परिवारमध्येबाट घर निर्माण गरिने मिश्रले जानकारी दिनुभयो । छनोट भएका कमजोर अवस्थाका परिवारको स्थलगत निरीक्षणपछि मात्रै घर निर्माण हुने सूची प्रकाशन गरिने उहाँले बताउनुभयो । छनोट भएका प्रत्येक परिवारलाई एकै किसिमको घर निर्माणको डिजाइन प्रदान गरिनेछ । दुई कोठा, भान्छा तथा शौचालय भएको, इँटा वा ढुङ्गाको गारो भएको, जस्तापाताको छानो भएको घर निर्माणको डिजाइन कार्यालयले प्रदान गर्नेछ ।

प्रत्येक परिवारलाई रु तीन लाख ३२ हजार ५०० का दरले रकम प्रदान गरिने मिश्रले जानकारी दिनुभयो । तर, उक्त रकम एकमुष्ट प्रदान गरिँदैन । घरको जग निर्माण गरिसकेपछि लाभग्राहीले २५ प्रतिशत रकम पाउनेछन् । यस्तै विपीसी लेभल निर्माणपछि दोस्रो किस्तावापत ३० प्रतिशत रकम प्रदान गरिने मिश्रले जानकारी दिनुभयो । घरको पर्खाल निर्माण गरिसकेपछि तेस्रो किस्तावापत ३५ प्रतिशत रकम प्रदान गरिनेछ भने घरको निर्माण पूरा गरी रङ्गरोगनसमेत सम्पन्न गरेपछि बाँकी १० प्रतिशत रकम प्रदान उहाँले बताउनुभयो ।

शहरी विकास तथा भवन कार्यालय इलामले पूर्वी पहाडी जिल्लामा पहिलोपटक यो कार्यक्रम लागू गरेको हो । चालू आर्थिक वर्षमा पाँचथरमा ११५ सहित इलाममा १०० तथा ताप्लेजुङमा ९५ घर निर्माण गर्ने तयारी गरिएको कार्यालय प्रमुख मिश्रले जानकारी दिनुभयो । उक्त कार्यालयले झापामा विगत वर्षबाटै यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

झापामा चालू आर्थिक वर्षमा ५०० घर निर्माण गर्ने कार्यालयको कार्यक्रम छ । यद्यपि यसै आर्थिक वर्षमा घर निर्माणको कार्य पूरा हुने छैन । “यो आर्थिक वर्षमा सबै घरको निर्माण थाल्ने योजना छ”, मिश्रले भन्नुभयो “जति निर्माण हुन्छ, त्यति रकम निकासा गर्दै जान्छौँ ।”

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here