‘कर बारे जानकारी राखेर मात्र व्यवसाय गर्नुहोस्’

0
759

चारपाने।

‘मैले कर तिरिन भनेर मख्ख नपर्नुहोस् कर र काल उस्तै हो समय आएपछि छोडदैन’ आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यले भनिरहँदा कार्यक्रमका सहभागी आश्चर्यचकित बनेका थिए ।

होटल व्यवसायी संघ झापाको आयोजनामा आन्तरिक राजश्व कार्यालय र होटल व्यवसायीहरु बीच बिर्तामोडस्थित होटल द ग्रीन प्यालेसमा भएकोे अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि समेत रहेका आचार्यले यस्तो बताएका हुन् ।

कार्यक्रममा सरकारले छोरा नातिबाट पनि आज नतिरेको कर असुल गर्न सक्ने भएको हँुदा सबै करदातालाई चुस्त दुरुस्त कर समयै तिर्न आचार्यले आग्रह गरे । स्थायी लेखा, साझेदारी प्रालि वा संस्थाको दर्ता, आयकर, अग्रीम कर कट्टी, करपाटी, दण्ड जरिवाना, किस्ता दाखिला नगरेमा ब्याज लाग्ने, स्थायी लेखा नम्बर स्थलगत गर्ने प्रक्रिया, करको दर र होटल सञ्चालनको क्रममा करका कारण व्यवसायीमा परेको समस्या र फाईदा लगायतको विषयमा अन्तरक्रिया भएको थियो ।

बिहान १० बजेबाट राति १० बजेसम्म होटलमा मदिरा बिक्री गर्न पाउने अधिकार मदिरा ऐन २०३१ ले दिएको भए पनि धेरैजसो ठाउँमा प्रहरीले ८ बजे नै होटल बन्द गर्न दिएको दवाबका कारण आफूहरु समस्यामा परेको होटल व्यवसायीहरुले राखेको गुनासोको जवाफमा प्रमुख आचार्यले यो बिषय स्थानीय सरकारले हेर्ने भएकोले आफू नबोल्ने बताए ।

होटल व्यवसायी संघ झापाका अध्यक्ष भोलानाथ उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राज्जस्व कार्यालय भद्रपुरका कर अधिकृत भीमप्रकाश देवकोटा, बिर्तामोड उद्योग बाणिज्य संघ अध्यक्ष कुमार भट्टराई लगायतले कर कार्यालय र व्यवसायी बीचको सम्बन्धको विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा ३० जनाभन्दा बढी होटल व्यसायीहरुको सहभागिता रहेको थियो ।

होटल व्यवसायी संघका जिल्ला सदस्य शिवराज पौडेलको सञ्चालन, द ग्रीन प्यालेसका सञ्चालक अम्बिका पोखरेलले स्वागत गरेको कार्यक्रममा होटल व्यवसायी संघका उपाध्यक्ष इन्दिरा श्रेष्ठ, कोषाध्यक्ष हरी मैनाली, सदस्य डिल्लीकुमारी ओझा र आन्तरिक राज्जस्व कार्यालय भद्रपुरका नायवसुब्बा प्रदिप बराल लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here