कमलका महिला अग्र्यानिक तरकारी उत्पादनमा

0
649

झापा।

झापा कमल गाँउपालिका वडा नं. ४ केर्खा नजिकका महिलाहरुले आफूले उत्पादन गरेको अग्र्यानिक तरकारी तथा फलफूल आफै बिक्री गर्न थालेका छन् ।

बिचौलियाहरुले बजार मूल्यभन्दा आधा पनि नदिएपछि हरेक बिहीबार सडक किनारमा बेग्लै स्टल राखेर बिक्री शुरु गरेको पाइएको हो । २० जना महिला सहभागी रहेको जनजागृती महिला कृषक समूहले सामुहिक रुपमा अढाइ कठ्ठा र ब्यक्तिगत रुपमा सबैको गरेर करिब एक बिगाह जमिनमा बेमौसमी तरकारी खेती गरेका छन् । समूहकी उपाध्यक्ष हीमा खनालले अग्र्यानिक तरकारी खेतीबाट आफूहरुले कल्पना गरेभन्दा धेरै नै आम्दानी भएको बताइन् । सामुहिक रुपमा रोपेको र ब्यक्तिगत रोपेको दुबै तरकारीहरु फस्टाएर आएको बताइएको छ ।

कुनै पनि प्रकारको अग्र्यानिक मल र बिषादि प्रयोग नगरी आफूहरुले कोपी, लौका, फर्सी, भिण्डि, करेला लगायतका तरकारीहरु रोपेको उनले बताइन् । एक कठ्ठा जमिनमा रोपेर काक्रा भर्खर टिप्न थालिएको र १५ हजारभन्दा बढीको बिक्री गरिसकेको पनि उनले जानकारी दिइन् । समूहको दुई कठ्ठा जमिनमा लगाइएको तरकारीखेतीबाट आफूहरुले २५ हजारभन्दा बढी आम्दानी लिइसकेको उनले बताइन् ।

समूहकी सचिब गीता ढकालले तीन साता अघिदेखि प्रत्येक बिहीबार समूहका सदस्यहरु एउटै पोशाकमा भेला भएर तरकारी टिपेर स्टल निर्माण गरी बिक्री गर्दै आएको बताइन् । शुरुवातमा सडक छेउमा बिक्रीका लागि राख्ने गरेको र साँझसम्ममा बिक्री नभएमा बजारमा आफै पुर्याएर बेच्ने गरेको उनले बताइन् । अहिले करेला र काँक्रा सबैभन्दा बढी उत्पादन भइरहेको र बाटो हिँड्नेले तथा गाडी रोकेर आएर उपभोक्ताहरुले किन्ने गरेको बताइको छ ।

‘काँक्रा मात्रै २५ हजारसम्मको बिक्री गर्ने लक्ष्य रहेको छ’ –समूहकी अध्यक्ष देवका खतिवडाले भनिन् । गाँउपालिकाले घरमा नै मल र बिषादि बनाउने तालिम दिएको र त्यही तालिममा सिके अनुसार मल तथा बिषादि उत्पादन गरेर प्रयोग गर्दा अकल्पनीय रुपमा उत्पादन बढेको उनको भनाइ छ । ‘अमिलो, टर्रो, नूनिलो, तितो भेटिने सबै प्रकारका झारपातबाट नै हामीले बिषादि बनाउन सिकेर त्यही प्रयोग गरेका थियौं’ –उनले भनिन् ।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले केही समयभित्रै सडकमा फिजाएर आफ्नो उत्पादन बिक्री गर्ने अवस्थाको अन्त्य गर्ने बताइन् । अग्र्यानिक तरकारी उत्पादनलाई प्रवद्र्धन गर्नका लागि समूहसँगैको साझेदारीमा अग्र्यानिक तरकारी बजार खोल्नका लागि आवश्यक बजेट छुट्याएको उनले बताइन् । ‘तत्कालै हामी समूहलाई ब्यवस्थित स्टल बनाएर सहयोग गर्छौ’ –उनले भनिन् ।

बढीमा पनि तीन बर्षभित्रमा गाउँपालिकालाई बिषादिरहित तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको र त्यही अनुसार समूहहरुलाई आवश्यक सहयोग गरिरहेको पनि उनले जानकारी दिइन् । ‘हामीले गाउँपालिकाभित्र अग्र्यानिक उत्पादनलाई प्रवद्र्धन गर्नका लागि चालू आर्थिक बर्षमा १० लाख बजेट बिनियोजन गरेका थियौं र आउँदो बर्ष यसलाई थप बढाएर लैजाने छौं –उनले भनिन् ।

कमल गाउँपालिकाका कृषि प्राविधिक प्रेम पोखरेलका अनुसार गाउँपालिकाभित्र आठ वटा यस प्रकारका समूहलाई अग्र्यानिक खेतीका लागि सहयोग गरिएको र सबैबाट उल्लेख्य रुपमा सफलता हासिल भएको छ । प्लाष्टिक मल्चिङ गर्नदेखि लिएर गोडमेल तथा उत्पादनको अन्तिम अवस्थासम्म प्रत्यक्ष रुपमा प्राविधिक रुपमा निगरानी गरिएकाले उत्पादन धेरै भएकाले किसानहरु अग्र्यानिक खेतीमा आकर्षित भएको पोखरेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here