कनकाईमा ज्येष्ठ नागरिक सचेतना

0
528

बिर्तामोड।

ज्येष्ठ नागरिक संघ, कनकाई नगरपालिकाको आयोजनामा दुर्गापुरमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । आफ्नो कार्यक्षेत्रमा रहेका ज्येष्ठ नागरिकलाई मानव अधिकार, विपद् व्यवस्थापन, आमसञ्चार र ज्येष्ठ नागरिक विषयक सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

ज्येष्ठ नागरिक संघ कनकाई नगरका अध्यक्ष पुण्यप्रसाद बारकोटीको अध्यक्षता र कनकाई नगरपालिकाको उपप्रमुख मञ्जु दाहाल प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष गोपालप्रसाद चुडालले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । त्यस अवसरमा असल बुहारी तथा असल छोरा सम्मान समेत वितरण गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि उपप्रमुख प्रसाईंले धनमाया पौडेल तिम्सिना र भोलानाथ संग्रौलालाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । यसअघि रेडक्रसकर्मी केदार महतले विपद् व्यवस्थापन र ज्येष्ठ नागरिक विषयमा सचेतना प्रदान गरेका थिए । त्यसैगरी पूर्व राष्ट्रसेवक योगेन्द्र आचार्यले मानव अधिकार र ज्येष्ठ नागरिकका सम्बन्धमा जानकारीसहित मन्तव्य प्रकट गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले आमसञ्चार र ज्येष्ठ नागरिक विषयमा बोल्दै ज्येष्ठ नागरिकहरुलाई आफ्नो क्षमता अनुसार सक्रिय रहन सुझाव दिएका थिए । अहिले खाद्यवस्तुमा भइरहेको मिसावट र अखाद्य वस्तुको प्रयोगले स्वास्थ्य अवस्था गम्भीर भइरहेको प्रति संकेत गर्दै परम्परागत खाद्यवस्तुको प्रयोग गर्नुपर्नेमा जोड दिए । प्रकृतिमाथिको दोहनले वातावरण नष्ट भइरहेको उल्लेख गर्दै कार्यक्रमका विशेष अतिथि भण्डारीले ज्येष्ठ नागरिकका अनुभव र अनुभूति पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताए ।

कार्यक्रममा कनकाई नगरपालिका वडा नं. ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशी, ज्येष्ठ नागरिक संघ झापा गाउँपालिकाका अध्यक्ष राजेश थापा, भृकुटी मावि दुर्गापुरका प्रधानाध्यापक अञ्जना सिटौला, ज्येष्ठ नागरिक संघका झापा अध्यक्ष भवानीप्रसाद दाहाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन ज्येष्ठ नागरिक संघ कनकाईका सचिव शम्भू पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here