यसो गरे सुन्दर र जवान देखिन्छ

0
509

डा. सञ्जुबाबु श्रेष्ठ,

जीवन सुन्दर फूल हो । यो फूललाई कसरी सजाउने, हुर्काउने र बढाउने भन्ने आफैंमा भरपर्छ । मानिस स्वभावैले आफूलाई सुन्दर देखाउन चाहन्छ । यही चाहना अनुरुप आफूलाई सुन्दर र जवान बनाइराख्न हरसम्भव प्रयास गरिरहेको हुन्छ । सुन्दर भन्ने बित्तिकै धेरैजसो मानिसले राम्रो अनुहारलाई मात्र बुझ्ने गरेका छन् । तर, अनुहार मात्र हेरेर सुन्दरताको मापन हुँदैन । सुन्दर र जवान देखिन शीरदेखि पाउसम्म मात्र होइन, सोचमा पनि सुन्दरता झल्किएको हुनुपर्छ । अनुहारका साथसाथै, कपाल, नङ, लवाई इत्यादिले सुन्दर बन्न सघाउँछ ।
सुन्दर र जवान देखिने तरिका


ठीक समयमा सुत्नेः शरीरलाई एकदम सुन्दर बनाउन सबैभन्दा पहिला सुत्ने समय ठीक हुनुपर्छ । वयस्क व्यक्तिले दैनिक ६ देखि ८ घन्टा सुत्नुपर्छ । जसले हाम्रो शरीरलाई फ्रेस बनाउँछ । बेलुका चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ । दैनिक सुत्ने समय एउटै बनाए मात्र हाम्रो शरीर र अनुहारको लागि राम्रो हुन्छ । शान्त वातावरणमा सुत्ने गर्नुपर्छ ।

सन्तुलित भोजन सेवन गर्नेः सन्तुलित भोजन भन्नाले शरीरलाई सक्षा गर्ने खानालाई बुझ्नुपर्छ । सन्तुलित भोजन मिलाएर सेवन गर्नु शरीरका लागि फाइदाजनक छ । सकेसम्म बढी मात्रामा सरियो साग, फलफुल, बदाम, काजु, ओखर, आल्मन भएका खानेकुरा दैनिक सेवन गर्नुपर्छ । जसले गर्दा शरीर सुन्दर र जवान देखिन्छ । एन्टिअक्सिजन भएका खानेकुरा जस्तैः ग्रीन टी, सुगर फ्रि बढी मात्रामा खाने गर्नुपर्छ । रक्सी, कोल्डड्रिङ्स, वाइन, जस्ता पेयपदार्थ घटाउने गर्नुपर्छ । क्याफिन, कफीको मात्रा कम गर्नुपर्छ ।

घामबाट जोगिने ः जहिले पनि घाममा निस्कनु अगाडि सन्सक्रिम लगाउनुपर्छ । दैनिक रुपमा १५देखि २० एसपिएस भएको क्रिम चारदेखि पाँच पटक लगाउनुपर्छ, जसले मुहारलाई सँधै चमक दिन्छ ।

धुमपान नगर्नेः धुमपानले श्वासप्रश्वासलाई मात्र नभएर अनुहारलाई पनि असर गर्छ । त्यसैले सँधै सुन्दर र जवान देखिन धूमपान गर्नु हुँदैन ।

शारीरिक व्यायाम गर्नेः बिहान कम्तीमा ३० मिनेट व्यायाम गर्नुपर्छ । शारीरिक व्यायाम भन्ने बित्तिकै कुद्नैपर्छ भन्ने छैन । विस्तारै हिँड्डुल गर्ने, घरको तलमाथि गर्ने गर्नुपर्छ । दैनिक ४ देखि ६ लिटर पानी पिउनुपर्छ । पानीले अनुहारमा आएका पिम्पलहरु घटाउने काम गर्छ र व्यायामले शरीरलाई फ्रेस बनाउनुका साथै शरीर स्वस्थ राख्न मद्दत गर्छ ।

अनुहारमा साबुनको प्रयोग नगर्नेः साबुनमा बढी मात्रामा फिँज हुने भएकोले अनुहारमा साबुन नलगाउँदा राम्रो हुन्छ । साबुनले छाला सुख्खा हुने र चाँडै चाउरिने समस्या देखिन्छ । साबुनको सट्टा सलफेट फ्रि फेसवास गरी सन्सक्रिम लगाउनु उपयुक्त हुन्छ । यसले छालालाई नरम बनाउनुका साथै चमक दिने काम गर्छ ।

केमिकलको प्रयोग नगर्नेः कतिपय क्रिममा केमिकलको मिसावट भएको पाइन्छ । त्यस्ता क्रिमको प्रयोगले हानि पुर्याउँछ । साथसाथै अनुहारमा पाउडरको प्रयोग गर्नुहुँदैन । पाउडरले अनुहारलाई सुख्खा बनाउँछ र चाँडै चाउरी बनाउँछ ।

घोप्टो परेर नसुत्ने ः सुताइले सुन्दरतालाई धेरै प्रभाव पारिरहेको हुन्छ । त्यसैले सुत्दा विशेष ध्यान दिनु जरुरी छ । घोप्टो परेर सुत्ने गर्दा अनुहारमा पिम्पल आउने गर्छ । नरमखालको सिरानीको प्रयोग गर्नु राम्रो मानिन्छ । माथि उल्लेखित सबै उपाय अपनाउँदा पनि आफू सुन्दर नदेखिएको महशुस हुन्छ भने छाला तथा यौन रोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here