प्रारम्भ :
राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ साल बैशाख २० गते शुक्रबार २०७६÷०७७ सालको लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकारको ठाउँमा मेरो सरकार भनेर गरेको सम्बोधनलाई लिएर नेपालको राजनीति र सामाजिक सञ्जाल गर्माएको छ ।
नीति तथा कार्यक्रम राम्रो भयो भएन, कतिको उपयुक्त छ, कस्तो नीति तथा कार्यक्रम ल्याएको हो भन्ने विषयमा भन्दा राष्ट्रपतिले सम्बोधनका क्रममा नेपाल सरकार भन्नुपर्नेमा १८ पटकसम्म मेरो सरकार भनिन् भन्ने चर्चा गर्माएको देख्दा हामी जस्ता पंक्तिकारको लागि पनि खुल्दुलीको विषय भयो । राजनीतिमा तर्क, विश्लेषण, दबाब र प्रभाबले जुनसुकै विषयलाई पनि उठाउन वा सुताउन सक्छ । यस्तो नहुनुपर्ने भन्ने हुँदैन । कानून र संविधानमा छैन भनेर पनि राजनीति परिचालित हुँदैन । कारण राजनीतिले कानून पनि फेर्छ र संविधान पनि फेर्छ । यसको उदाहरण खोज्न अन्त जानु पर्दैन । नेपाल नै काफी छ ।
राष्ट्रपतिको सरकार :
राष्ट्रपति भण्डारीले मेरो सरकार भनिन् । भन्या छैन वा छ भन्ने विवाद होइन । किन भनिन् भन्ने हो । भण्डारी राष्ट्रपति भएको निकै भयो । यसअघि पनि उनले सरकारका नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकै हुन् ।
त्यसमा मेरो सरकार भनिनन् । तर, यसपाली भनिन् । दुई तिहाईको कम्युनिष्ट नेतृत्वको सरकार भएकोले उनले मेरो सरकार भनेको मान्ने हो भने गत बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि दुई तिहाइकै कम्युनिष्ट नेतृत्वकै सरकार थियो । गत बर्ष किन भनिनन् र यस बर्ष किन भनिन् । प्रश्न यो पनि हो भने भन्नुहुन्थ्यो वा हुँदैनथ्यो भन्ने प्रश्न पनि हो ।
समर्थकका तर्क :
भन्नु हुन्थ्यो भन्नेहरुको तर्क छ, संसारका अरु देशमा जहाँ राष्ट्रपति छन् तिनका राष्ट्रपतिले पनि मेरो सरकार भन्ने गरेकोले नेपालका राष्ट्रपतिले भनेको हो । त्यसमाथि राष्ट्रपति कार्यकारी नभएको देशका राष्ट्रपतिले पनि मेरो सरकार भन्छन् । त्यसैगरी राष्ट्रपतिले त सरकारको नीति तथा कार्यक्रम पढेको हो, बनाएको होइन ।
त्यो नीति केपी ओली नेतृत्वको सरकारले बनाएको हो । राष्ट्रपतिको मुखबाट केपी ओलीले मेरो सरकार भनेका हुन् । ओलीलाई मेरो सरकार भन्ने अधिकार छ । किन कि सार्वभौमसत्ता सम्पन्न जनताले ओलीलाई छानेकाले जनताले आफ्नो अधिकार प्रधानमन्त्री मार्फत प्रयोग गर्ने र अहिले ओली प्रधानमन्त्री भएकोले उनले मेरो सरकार भन्न पाउँछन् । यसअघिका कतिपय प्रसंगमा ओलीले मेरो सरकार भनेका छन् । अरुले भन्दा पनि ओली सरकार नै भन्छन् । त्यसैले यसलाई अन्यथा लिनु हुँदैन ।
विरोधका तर्क :
भन्नु हुँदैनथ्यो भन्नेहरुको तर्क छ, राजा फालेर गणतन्त्र ल्याएको, राजाले श्री ५ को सरकार भनेर निरंकुश शासन गरेकोले त्यसबाट मुक्ति पाउन ल्याएको गणतन्त्रले स्थापित गरेको नेपाली जनताको सरकार भएकोले बल्ल नेपाल सरकार बनाएको अवस्थामा फेरि राजतन्त्रकै जस्तो राजाले मेरो सरकार भने जस्तो संबैधानिक राष्ट्रपतिले मेरो सरकार भन्नु हुँदैन । भन्ने हो भने कम्युनिष्टको नाममा विस्तारै निरंकुशता ल्याउने चाल हो ।
त्यस्तै हिजो राजतन्त्रमा राजाको हातमा देशको सावभौमसत्ता भएकोले सरकार बनाउने भत्काउने राजा कै हातमा थियो अनि उनले मेरो सरकार भने । तर, अहिले सार्वभौमसत्ता जनताका हातमा छ । राष्ट्रपतिका हातमा छैन । त्यसैले राजाले जस्तै राष्ट्रपतिले मेरो सरकार भन्न मिल्दैन, भन्नु हुँदैन ।
थ्री इडियट्स :
हिन्दी भाषामा थ्री इडियट्स नामको एउटा कमेडी सिनेमा केही बर्षअघि रिलिज भएको छ । हेर्दा पेट मिचीमिची हाँस्न मन लाग्छ । पंक्तिकारलाई पनि असाध्यै हाँसो उठेको थियो । हाँस्दाहाँस्दै आँशु पनि आएको थियो । लाग्छ यो सिनेमा हेर्ने जोसुकैलाई पनि हाँसो उठेकै हुनुपर्छ । यस सिनेमामा तीन जना प्रमुख पात्र छन् । जो एउटै कलेजमा पढ्छन् ।
उनीहरुको ध्यान पढ्नमा छैन । मोजमस्ती, घुमघाम र फण्टुस हुनमा आनन्द मान्छन् । तर, उनीहरुकै एउटा साथी छ, ऊ रटन्तु छ । प्रोफेसरहरुको आज्ञाकरी छ र उनीहरुकै प्रियपात्र पनि छ । तर, उसलाई हिन्दी भाषाको राम्रो ज्ञान र अर्थ थाहा छैन । अक्षर फुटाउन भने सिपालु छ ।
त्यही सिनेमामा एउटा प्रसंग छ टिचर्स डे को । त्यस टिचर्स डेका लागि त्यही रटन्तु र आज्ञाकारी विद्यार्थीलाई कलेज र कलेजका प्रोफेसर, प्रिन्सिपलको योगदानका बारेमा बोल्न दिइन्छ । उसले जानी नजानी भाषण तयार गर्छ । प्रिन्सिपलले पनि उसलाई भाषण तयार पार्न सहयोग गरेका हुन्छन् । त्यो थाहा पाएका यी तिन पात्रले अब फन्टुस काम गर्ने विचार गर्छन् । अनि उनीहरुले उसले कम्प्युटरमा तयार पारेको भाषणका राम्रा शब्दहरुका ठाउँमा अरु नै शब्दहरु फेरिदिन्छन् । त्यो विद्यार्थीले थाहा पाउँदैन । अनि उसले कम्प्युटरबाट प्रिन्ट गरेर कार्यक्रममा गएर पढ्न थाल्छ । त्यसमा जे लेखिएको छ त्यही पढ्छ । तर, त्यहाँ त चमत्कार भन्या ठाउँमा बलात्कार शब्द हुन्छ । विचरा रटन्तु त्यही पढ्छ । यसले कार्यक्रममा हाँसो बाहेक अरु हुने कुरै भएन ।
र अन्त्यमा,
कतै राष्ट्रपति भण्डारीलाई तयार पारिदिएको नीति तथा कार्यक्रममा पनि त्यस्तै त भएको होइन । किन यसको प्रसंग पंक्तिकारले जोडेको हो भने सत्ताधारी पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेरो सरकार भनेर राष्ट्रपतिले भनेको शब्दको विरोध भएपछि एउटा सार्वजनिक समारोहमा भनेछन् मैले हेर्दा त त्यसमा मेरो सरकार थिएन । पछि थपिएछ । कुन पहिला थिएन र कुन पछि थपियो राष्ट्रपतिलाई थाहा हुने कुरै भएन ।
त्यसैले राष्ट्रपतिले त सरकारले छापेर दिएको कुरा सरसर्ती पढ्ने हो पढिन् । यसमा राष्ट्रपतिलाई दोष दिने ठाउँछैन । दोष दिने हो भने ओलीजीलाई दिए भो । किनकि अर्का अध्यक्षले त भनिसके पहिला त्यो थिएन, पछि त्यो थपिएछ । ओलीजीकै पार्टीका केही नेता र सांसदहरु पनि राष्ट्रपतिले मेरो सरकार भनेकोबाट अचम्भित भएका छन् । कांग्रेसजनहरु त त्यसै पनि विरोधमा रहने भए । सामाजिक सञ्जाल पनि विभाजित छ । दलहरु जस्तै ।
गत सालहरुमा थिएन । किनकि उनीहरुलाई त्यसवेलाका सरकारले मेरो सरकार भनेर लेखेर दिएनन् । कि नेपाल सरकार लेखे कि यस सरकार भनेर लेखे । गत साल स्वयम् भण्डारीलाई पनि ओली सरकारले मेरो सरकार भनेर लेखेर नदिएकोले उनले गत सालको नीति तथा कार्यक्रममा मेरो सरकार पढिनन् । जहाँसम्म भन्नु हुन्थ्यो कि हुँदैनथ्यो भन्ने कुरा पंक्तिकारले पाठककै निर्णयका लागि छोडिदिन्छ ।
तर, नेपालमा आवश्यक पनि अनावश्यक पनि नाम फेर्ने, काम नगर्ने, चाहिने कुरामा ध्यान कम दिने नचाहिने कुरामा बढी ध्यान दिने, ठूला कुरा गरेर सानातिना कुरा ओझेलमा पार्ने, शहरको खाल्डो पुर्न नसक्ने पानीजहाज र रेलको गुड्डी हाँक्ने जस्ता प्रबृत्ति छन् । यो अहिलेको मेरो सरकार र तेरो सरकारको विवाद पनि त्यस्तै हो ।