अंग्रेजी पढाउने बहानामा बिद्यार्थी नबिगारौं

0
560

बिर्तामोड।

एक अर्ब ३७ करोड रुपैयाँ लागत इस्टीमेटसहित बिर्तामोड–५मा महेन्द्र–रत्न माविको नमूना विद्यालयको शैक्षिक भवन निर्माण शुरु भएको छ ।

झाँझीसिंह राजवंशी र सतानुसिंह राजवंशीले दिएको नौ विगाह १० कठ्ठा जग्गामा निर्माण हुने भवनको आइतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिलान्यास गरे । बिद्यालयलाई यस वर्ष सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने मन्त्री पोखरेलले जानकारी दिए ।

समारोहमा बोल्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताए । उनले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसंग जोड्न सरकार लागीपरेको स्पष्ट पारे । मन्त्री पोखरेलले शिक्षामा छलफल, सुधार र क्रान्तिको आवश्यकता समेत औंल्याए । ‘नमूना विद्यालयको मूल उद्देश्यलाई आत्मसात गर्न जरुरी छ’– उनले भने– ‘सार्वजनिक शिक्षाले वर्गको अन्त्य गर्नुपर्छ ।’

सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको भौतिक संरचना गौण भएको उल्लेख गरेका मन्त्री पोखरेलले शिक्षण सिकाइले नमूना हुनुपर्ने र शिक्षालाई पैसा कमाउने फ्याक्ट्रीका रुपमा बुझ्ने गलत चिन्तन अन्त्य हुनु पर्ने उनको तर्क छ ।

‘विद्यालयले नै शिक्षामा विभेद गरेको छ, अब त्यसको अन्त्य गर्नुपर्छ’– उनले भने– अंग्रेजी पढाउने बहानामा बिद्यार्थीलाई बिगार्ने काम भएको छ, सबै विद्यालयमा नेपाली विषय पनि पढाइ हुनुपर्छ ।’ अंग्रेजी पढ्न जानेका भरमा सबै युवा युरोप र अमेरिका पुगेका छन् भन्ने सोचाइको अन्त्य हुनुपर्छ– मन्त्री पोखरेलले भने– ‘अंग्रेजी जानेका भनिएका सवै युवा विदेश जाने र उतै पलायन हुने हो भने देश कसरी समृद्धिको बाटोमा जान्छ’– उनले प्रतिप्रश्न गरे ।

बिद्यार्थीलाई स्वागतमा लाम लगाउने परम्पराको तत्काल अन्त्य गर्न निर्देशन दिएका मन्त्री पोखरेलले विद्यार्थी विद्यालयमा सिक्न आएका हुन् भन्दै अगाडि भने– ‘विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, अभिभावक स्वागतमा बस्नुहोस्, नेता र मन्त्रीको स्वागतका लागि बिद्यार्थी विद्यालय आएका होइनन् ।’

नमूना विद्यालयको भवन निर्माणका लागि वरिष्ठ अधिवक्ता टंक उप्रेतीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । सोही समितिले विद्यालयको जग्गा व्यवस्थापन गरेको, त्यहाँ रहेका घरटहरा तथा अन्य संरचना हटाउने कार्य अन्तिम चरणमा पु¥याएको छ ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पर्शुराम शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा विर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटीले शिक्षा मन्त्री आएर भवन शिलान्यास गर्दैमा कुनै अर्थ नरहने बताए ।

उनले भने– ‘मन्त्रीले स्थानीय सरकारको वास्तविकता बुझ्ने र सुन्ने कुरा गरेर आफ्नो भनाइ राखेको भए उपयुक्त हुन्थ्यो त्यसले विद्यालय बनाउन केही आधार खडा गथ्र्याे तर, स्थानीयको कुरै नसुनी आफ्नो मात्रै कुरा गर्नु असान्दर्भिक भयो ।’ उनले यस्तै प्रकृतिका दुई वटा विद्यालय बिर्तामोड नगरपालिकाभित्र बनाउने लक्ष्यका साथ स्थानीय सरकार लागीपरेको उल्लेख गर्दै बिर्तामोड–५ र ९ नम्वर वडामा नमूना विद्यालय स्थापना गर्ने घोषणा गरे ।

प्रधानाध्यापक मनबहादुर लिम्बूले विद्यालयको गतिविधिका बारेमा प्रकाश पार्दै मल्टिमिडिया प्रणालीमा पठनपाठन शुरु गरिएको जानकारी दिए । अहिले विद्यालय रहेको ठाउँ बिर्तामोड–३मा नर्सरीदेखि कक्षा ५ र शिलान्यास भएको ठाउँबाट ६ देखि कक्षा १२सम्मको पठनपाठन गर्ने योजनाका साथ महेन्द्र–रत्न माविको नमूना विद्यालय भवन शिलान्यास गरिएको बताए ।

२०१४ सालमा छत्र केशरी प्रसाई(भरतबाबु) को अगुवाइमा महेन्द्र–रत्न मल्टिपर्पस मिडल स्कूलको नामबाट शुरु भएको सो विद्यालयमा अहिले एक हजार ६ सय बिद्यार्थी अध्ययनरत् छन् । सीपी कडरियाले सञ्चालन गरेको शिलान्यास कार्यक्रमम राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेलले समेत बोलेका थिए ।

यसअघि मन्त्री पोखरेलले बिर्तामोडमा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै राष्ट्रिय शिक्षा नीति छिट्टै टुंगो लाग्ने बताए । ‘शिक्षा नीति बनाउन एउटा आयोग बनाइएको थियो, आयोगले ६ महिना लगाएर तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो’– पत्रकार भेटघाटमा उनले भने– ‘पाँच सय पृष्ठको प्रतिवेदनमा गृहकार्य गरेर राष्ट्रिय शिक्षा नीति मन्त्रीपरिषद्मा लगेर छलफल प्रारम्भ भइसकेको छ ।’

मन्त्री पोखरेलले स्थानीय सरकारले शिक्षक सेवा आयोगबाटै शिक्षक नियुक्ति गर्नुपर्ने बताए । मुक्ति पौडेलको अध्यक्षतामा पत्रकार भेटघाट भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here