विद्यालयमा सदाचार र स्वधर्म

0
517
चन्द्रप्रसाद खनाल,

विद्यालय विचारलाई सवलीकृत गर्दै व्यवहारलाई सन्तुलित राख्न सक्ने मष्तिस्क निर्माण सँगसगै नयाँ समाजलाई जिम्मेवार तरिकाले विश्वसामु नेतृत्व लिन सक्ने एवम् दक्षा जनशक्ति निर्माण गर्ने अनुपम केन्द्र हो । विद्यालय शिक्षाले नै विद्यार्थीको व्यवहार निर्माण गर्ने, बालबालिकालाई मार्गदर्शन गर्ने र उनीहरुको उद्देश्यलाई सहीरुपले संस्थागत गर्न आधारस्तम्भ तयार गर्ने गर्दछ ।

एकातर्फ विद्यालयले बालबालिकालाई विश्वस्तरीय शिक्षाको स्तरीकरणको आधारमा उत्कृष्ट बनाउनुपर्छ भने अर्को तर्फ विद्यालय नै त्यस्तो तपोपन हो जहाँबाट बालबालिकाले जीवनस्तर निर्माणका लागि मानवोचित आवश्यक ज्ञानरुपी अमृत प्राप्त गर्नुपर्छ । हाम्रो देशको शैक्षिक इतिहास शान्तिपूर्ण एवम् प्राकृतिक सम्पदाले सिञ्चित रही आएको पाइन्छ भने प्रकृतिलाई नै गुरुको एक पवित्र धारको रुपमा लिएर हाम्रो पूर्वीय दर्शन सु–सज्जित एवम् संरक्षित छ ।

विद्यालय शिक्षालाई हामीले हेर्दा गुरुकुलीय परम्पराभन्दा टाढा पाउन सकिदैन । त्यसमा पनि शिक्षामा विद्यमान वर्तमान स्तरीकरण गुरुकुलीय परम्परामा नै समयसापेक्ष व्यवहारिकरुपले स्थापित रही आएको स्पष्ट छ । हरेक शिक्षाले मूलतः विश्वस्तरीय ढाँचालाई संरचनागत रुपमा स्वीकार गरे तापनि राष्ट्रप्रतिको संवेदनशीलतालाई अनिवार्य रुपले संरक्षित गर्न सक्ने हुन पर्छ । यदि शिक्षाले सम्वन्धित राज्यको संरचना र जनताको स्थापित मूल्य–मान्यतालाई अँगाल्न सकेन भने यस प्रकृतिको शैक्षिक धारले विश्वस्तरीय अक्षर ता चिनाउला तर स्वयम् अध्ययन गरेकालाई नै अज्ञानताले ढाकेर वास्तविक अपनत्व र यथार्थतालाई नबुझाउने भएको कुरा आज मननीय हुनुपर्छ ।

आजको सन्दर्भमा हेर्ने हो भने धेरैजसो राजनीतिकर्मी, शिक्षक, विद्यार्थी एवम् राज्यका सबै तह र तप्कामा रहने जिम्मेवार पदाधिकारी समेत स्वधर्मबाट विचलित भएको पाइन्छ । स्वधर्म भनेको एउटा दरिलो कर्मको दर्शन हो । गितामा भनिएको छ आफ्नो धर्मनै माहान हो । ‘स्वधर्मे निधनम् श्रेय’ अर्को शब्दमा भन्ने हो भने कर्तव्य नै धर्म हो । ९च्भष्निष्यल ष्क मगतथ० भन्ने धरातललाई नबुझेर आफ्नो निर्दिष्ट कर्तव्यमा कर्मनिष्ठ नहुनाले संरचनागत समाजको विकासमा हानी पुगेको छ । यी सबै कमीकमजोरीहरुलाई हटाउँदै समाजलाई सदाचारयुक्त, कर्तव्यनिष्ठ एवम् स्वधर्ममा आधारित धारबाट डो¥याउन पूर्वीय दर्शन प्रतिष्ठान नेपाल संघर्षरत छ ।

खच्किदै गएको गुरु शिष्य सम्बन्ध र घट्तो नैतिक चरित्रलाई समयमै सुधार गर्ने हेतुले विद्यार्थीमाझ सदाचार शिक्षाको आवश्यकतालाई प्रयोग मै ल्याउन जरुरी रहेको महशुस गरिएको छ । नैतिक चरित्रलाई हरेक बालबालिकाका गतिविधिसँग व्यवहारिक बनाउन हरेक विद्यालयमा सदाचार कक्षाको प्रवेश हुनु आवश्यक छ भन्ने पङ्तिकारको धार हो ।

के हो त सदाचार ? यस शब्दको व्युत्पत्तिमूलक अर्थ गर्दा ‘सताम् आचारः’ अथवा सज्जन व्यक्तिहरुले गर्ने आचरणनै सदाचार हो । सकारात्मक विचार र अहिंसात्मक रुपले सम्पूर्ण प्राणीलाई समान सहयात्रीको रुपमा बुझी शास्त्र निर्देशित मार्गदर्शनको आधारमा जीवनलाई सञ्चालन गर्ने विचारकहरुनै सज्जनको रुपमा परिभाषीत छन् ।

हाम्रो समाजलाई संरक्षण गर्न र राष्ट्रिय पहिचानलाई बलियो पार्नका लागि पनि सदाचार शिक्षा विद्यालय स्तरमा प्रवेश गर्नु अति वाञ्छनीय छ । विद्यालय विद्यार्थीको सर्वाङ्गीण विचार निर्माणको स्थल हो । विचारले नै व्यवहारको क्षेत्र तय गर्छ । राम्रो विचारले राम्रो व्यवहारलाई र नराम्रो विचारले नराम्रो व्यवहारलाई नेतृत्व गर्छ । विद्यालय आउने वालवालिकालाई एकातर्फ शिक्षा दिनु छ भने अर्कोतर्फ विद्यार्थीमा आचरणको निर्माण गर्नु जरुरी देखिन्छ । उसले समाजमा गर्ने कर्तव्यलाई विद्यार्थीले विद्यालयबाट बुझ्न सकेन भने लक्ष्यानुसारको यात्रा तय गर्न सक्तैन । आफूलाई चिन्ने, परिवारलाई बुझ्ने र विश्वलाई उन्ने मष्तिस्कको निर्माण गर्न नसक्ने शिक्षाको व्यवहारिकता छ भने सो शिक्षा समाजको संरक्षित र प्रकाशित धार बन्न सक्दैन भन्नेमा पङ्तिकार स्पष्ट छ ।

शिक्षामा नैतिक धार दरिलो रुपले बाँधिएको नभए निश्चय नै शिक्षा निर्माणको पक्षपोषक नभई हिंसा र ध्वंशको साधन बन्नेमा स्पष्ट छ । पछिल्लो समयमा बंगलादेशमा झण्डै पाँच सय जनालाई शिकार बनाउने त्रासदीपूर्ण घटनाका मानव निर्मित कलंकहरु पनि कुनै सामान्य विश्वविद्यालयबाट शिक्षा लिएका होइनन् । उनीहरुलाई अन्तर्राष्ट्रिय मिडियाले सुशिक्षित (ध्भिि भ्मगअबतभम० व्यक्तिको रुपमा चित्रण गरेका छन् । यसले पनि के स्पष्ट देखाउँछ भने शिक्षामा वैदिक र सदाचार धारको प्रयोग कमजोर देखियो भने यसबाट मानवमा दया, करुणा, मानवता जस्ता मानवीय भावनाभन्दा क्रुरता, हिंसा, अन्याय जस्ता अमानवीय गुणले स्थान पाउँछ भन्नेमा कुनै शंका देखिँदैन ।

यस्ता अमानवीय श्रृंखलालाई निस्तेजपारी बाल मष्तिस्कलाई नैतिकवान, सदाचारयुक्त बनाउँदै हाम्रो आफ्नो समाज निमार्ण गर्न विद्यालयलाई विज्ञानको प्रयोगशालामात्र होइन ज्ञानको प्रयोगशाला बनाउन पूर्वीय दर्शन प्रतिष्ठान नेपाल निरन्तर लागिपरेको छ । गुरुदेवो भवः (गुरु ज्ञानरुपी विचारको देवता हुन्) मातृदेवो भवः (आमा देवता हुन्) पितृदेवो भवः(पिता देवता हुन्) अतिथि देवो भवः (अतिथि देवता हुन्) भन्ने संस्थागत हाम्रो नेपाली पहिचानलाई हरेक बालबालिका समक्ष पस्किनु हाम्रो दायित्व हुनुपर्छ ।

विद्यालयमा गुरु पूर्णिमालाई पूर्णरुपले स्थापित गर्न, व्यास जयन्तीलाई मनाउन र सरस्वती पूजालाई विद्यालयको पर्वको रुपमा नयाँ पिढीसँग परिचित गराउन पूर्वीय दर्शन प्रतिष्ठान नेपालको सम्पूर्ण गुरुवर्ग, बुद्धिजीवी र समाजसेवी सबैमा आग्रह छ । ‘आजका बालबालिकालाई सदाचारयुक्त शिक्षामा लान सके मात्र आउँदो २५ वर्षमा सबल, सक्षम, कर्तव्यनिष्ठ र शान्तिपूर्ण समाजको स्वरुप हेर्न पाइन्छ’ भन्ने प्रष्ट खाकाका साथ प्रतिष्ठान समाजका सम्पूर्ण शक्ति साथै राज्यका संरचनालाई यस अभियानमा समाहित हुन् पनि अनुरोध गर्दछ । नैतिकवान शिक्षामात्र समाजको प्रकाशको स्रोत बन्न सक्छ । अन्यथा, उत्तीर्ण प्रमाणपत्रहरु असफलताका स्रोत बन्न सक्छन् भन्नेमा विद्यालय सञ्चालक, समाजका बुद्धिजीवी, बुबाआमा र गुरुवर्ग समेत सचेत हुन अति आवश्यक छ ।

गुरुहरुबाट ज्ञानआर्जन गरी कर्मनिष्ठ मष्तिक निर्माण को स्रोतको रुपमा विद्यालय मात्र एक अनुपम संगम हो जसमा आधुनिकताका आवश्यक संरचनालाई प्रयोग गर्दै अध्यात्मका अनिवार्य पाटालाई सु–सज्जित गर्न सक्नुपर्छ । यस धारमा रही शैक्षिक विकासका लागि पूर्वीय दर्शन प्रतिष्ठान नेपाल अनवरत् प्रयत्नशील छ । सदाचार र नैतिक चरित्रको अभावले नै भ्रष्टाचार, हिंसा, असहिष्णुता आदि मौलाउँदै गएका छन् ।

अतः देश र देशबासीको स्थापित इतिहासलाई संरक्षण गर्दै समृद्धशाली नेपालीको सपनालाई सकलीकृत गर्न, बुबाआमालाई घरमै संरक्षण गर्न सक्ने समाजको निर्माण गर्न, र घरलाई पारिवारिक प्रेमको फूलबारीको रुपमा विकास गर्न र हाम्रो दर्शनलाई दरिलो गरी विश्वसामु प्रकट गर्न सक्ने मष्तिस्कको पुस्ता निर्माणका लागि हरेक विद्यालयमा सदाचारका कक्षाहरु अनिवार्य रुपले सञ्चालन गर्नु आजको आवश्यकता हो । सबै एकजुट हुनु हो भने मर्यादापूर्ण समाज निर्माण गर्न सकिन्छ भन्ने कुरामा दुईमत छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here