हिंसा नै समाधान होइन

१४ जेष्ठ २०७६, मंगलवार मा प्रकाशित

जीवन सर्वाधिक ठूलो सम्पित्ति हो । जन्म लिएपछि पूर्ण आयु भोग्न पाउनु अधिकार पनि हुन्छ शायद । तर, विडम्बना अथवा नियति हो जाति बाँचिन्छ त्यसैलाई पूर्णता ठान्नु पर्छ हामीले ।

किनकि जसले अल्पायुमै जीवन गुमाउन पुग्छ उसका लागि पुनस्मरण गर्ने अथवा पछुलो गर्ने समय नै रहँदैन । कतिपय मृत्यु अल्पायुमै पनि रहनेका लागि पीडादायी हुन्छ, यद्यपि मृत्यु भनेको चिरवियोग हो र यो शाश्वत हो तथापि यो सत्यलाई नभोगी धरै पाइँदैन । कतिपय मृत्यु मद, मात्सर्य, लोभका कारणले हुने गरेको छ जो त्रेतायुगदेखि नै हुँदै आएको छ ।

मानिस आज आफूले ठानेको, आफूलाई लागेकोलाई मात्र सत्य ठान्ने दम्भले भरिएको छ । लागेको वा ठानेको शायद उसको विचार हो । सबै मान्छेको विचार, सोचाइ वा धारणा समान हुँदैन । त्यही असमान सोच, विचार, धारणा ‘बाद’ मा रुपान्तरित हुँदा हामीकहाँ दिनहँु अस्वभाविक घटना भइरहेका छन् ।

जसले सर्वाधिक महत्वको जीवन नै कष्टकर मात्र होइन, मृत्यु नामको त्रासद पनि हुर्काइरहेको छ। यसकै उदाहरण बनेको छ हामीकहाँ माओवादी नामबाट दश वर्षसम्म भएको सशस्त्र द्वन्द्वले उत्पन्न गरेको दीर्घ पीडा जहाँ सत्र हजार नेपालकले अनाहकमा जीवन गुमाउनु प¥यो ।

अहिले फेरि विचारको भिन्नताले त्यही नियति दोहोरिन थालेको छ । सशस्त्र द्वन्द्वपछि शान्ति प्रक्रिया हुँदै सत्तारोहण गरेको दलबाटै अलग भएको समूह नेकपा माओवादी कै नामबाट अर्को अशान्तिको पुनरावृत्ति गर्न उद्धृत भएको छ । त्यसकै नाममा आइबार बेलुका राजधानी काठमाडौंका विभिन्न ठाउँमा बम विस्फोट भए । विस्फोटका क्रममा चार जनाले अमूल्य जीवन गुमाए । कति घाइते छन् र नेपाली जीवन फेरि एकपटक अशान्त, त्रस्त र भयग्र्रस्त बन्न पुगेको छ ।

उसले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा विगतमा राजनीतिक दलका नाममा हुने गरेका साङ्केतिक प्रदर्शन र सशस्त्र द्वन्द्वका समय हुने गरेको बम विस्फोट र आगजानीको यस्तो घटना कसैका लागि हितकारी हुन सक्दैन । अझ जसले शारीरिक क्षति भोगे मृत्युवरण गरे, उनीहरु र उनका परिवारलाई किमार्थ उत्प्रेरक वा सुखद् हुन सक्दैन ।

बुद्धको देश भनिने, शान्तिकामी जाति भनिने देशमा निरन्तर भइरहेका यस्ता घटनाले नेपाल र नेपाली कसैको जय हुने छैन । विचारको भिन्नतालाई वार्ता, संवाद र छलफलबाट निरुपण गर्ने आँट जबसम्म प्रकट हुँदैन तबसम्म यस्ता अमानवीय श्रृंखलाको अन्त्य पनि हुँदैन । बिरालोलाई पनि ढोका खोलेरै तर्साउनुपर्छ, नत्र त्यसको आक्रमण अवश्यंभावी छ ।

यसर्थ देशको रक्षक, जनताको अभिभावक भनिने सरकारले नै मूलप्रवाहमा नसमेटिएका विचारलाई ‘फकाएर’ विधिको शासनमा समाहित गर्ने अग्रसरता, उदारता र बहादुरी देखाउनु पर्छ । अन्यथा मर्ने, मार्ने र त्यसले उत्पन्न गर्ने पीडाको कहिल्यै अन्त्य हुने छैन । यसतर्फ सरकार प्रमुख लगायत सम्बद्ध सबैको गम्भीरता अनुभूत गर्न पाइयोस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here