चिउरा अड्किएर बिद्यार्थीको मृत्यु भएपछि…

0
811

विराटनगर। मोरङको कानेपोखरी गाउँपालिका–५ रमाइलो बजार नजिकै रहेको मकालु मोरङ इङ्लिस स्कुलमा अध्ययनरत् एक विद्यार्थीको श्वास नलीमा चिउरा अड्किएर मृत्यु भएको छ । तर, बालकका आफन्तले भने समयमै अस्पताल नपु¥याउनु विद्यालयको लापरवाही भनेका छन् ।

मकालु मोरङ स्कुलको कक्षा ३मा अध्ययनरत् ११ वर्षीय बालक आर्यन माझीको चिउरा अड्किएर मृत्यु भएको हो । कानेपोखरी–५ जहदामा हजुरआमासँग बस्दै आएका माझीले दिउँसो टिफिनमा खाजा खाएपछि बिरामी परे । आर्यनले टाउको दुख्यो भन्दै बान्ता गरेपछि शिक्षकले अफिसमा लगेका थिए । त्यहाँ पनि उनले पटक–पटक बान्ता गरे ।

नजिकै मेडिकल हलहरु भए पनि शिक्षकले लगेनन्, आफंै फ्लेक्जोन खुवाए । औषधि खुवाएर प्रिन्सिपल टेइन्द्रकुमार बास्तोला कक्षा कोठातर्फ लागे । ४० मिनेटको कक्षा सकिएपछि अफिस आउँदा आर्यन बेहोस भइसकेका थिए । उनले अस्पताल लैजान एम्बुलेन्स बोलाए । बच्चा बिरामी भएको डेढ घण्टापछि साढे ३ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइयो । एक घण्टाको प्रयासपछि अस्पतालले बालकलाई मृत घोषणा ग¥यो ।

११ वर्षीय बालक मावलमा बसेर पढ्दै आएका थिए । उनका बुबा सम्पर्कबिहीन छन् भने आमा वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेकी छन् । मावली हजुरआमासँग बसेर अध्ययनरत् बालकको स्वास्थ्यमा स्कुलले चासो नदिँदा ज्यान गएको स्थानीय बताउँछन् । कानेपोखरी गाउँपालिका–५का वडाध्यक्ष चरण गुरुङ बिरामी अवस्थामा अफिस आएको बच्चालाई उपचार गर्न लैजान ढिलो गरेको बताउँछन् ।

स्थानीयबासीका अनुसार स्कुलदेखि करिब ६०० मिटर पूर्वतर्फ रमाइलो बजार छ, जहाँ औषधि पसल र चिकित्सकीय सेवा प्रवाह गर्ने मेडिकल हलहरु छन् । बालक बिरामी हुँदा मेडिकल हल नलगेर आफैं औषधि दिएर अफिसमा राख्नु गल्ती भएको उनीहरु बताउँछन् । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक सुवास भट्टराईका अनुसार बालकको मृत्यु भएपछि उनका मामा टेकबहादुर माझीले अनुसन्धानका लागि जाहेरी दिएका छन् ।

उनी समयमै उपचारका लागि लगेको भए बाँच्न सक्ने अवस्था रहने बताउँछन् । बच्चाको मृत्यु भएपछि अनुसन्धान शुरु गरेको बताउँदै उनले पोष्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्ने बताए । अस्पतालले प्रारम्भिक रुपमा चिउरा श्वासनलीमा अड्किएर बालकको मृत्यु भएको बताएको छ ।

यता मकालु मोरङ इङ्लिस स्कुलका प्रिन्सिपल बास्तोलाले आर्यन बिरामी भएपछि अफिसमा ल्याएर फ्लेक्जोन औषधि आधा खुवाइएको स्वीकार गरेका छन् । बच्चालाई औषधि दिएर एक घण्टी पढाएर फर्किदा अवस्था बिग्रिएपछि अस्पताल लगिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here