रतुवा खोला पुलतर्फ फर्काइने

0
674

दमक।

हुलाकी राजमार्गमा पर्ने झापाको गौरीगञ्ज गाउँपालिका र मोरंगको रतुवामाइ नगरपालिका जोड्ने रतुवा खोलाको पुल एकातिर खोला अर्कातिर भएपछि खोलालाई पुलतर्फ फर्काइने भएको छ ।

तीनबर्ष अघि नै निर्माण सम्पन्न भएपनि पुल सुचारु हुन नसकेपछि स्थानीयहरुले बर्षादको समयमा सास्ती भोग्दै आएका छन् । सुनसरी–मोरङ पुल आयोजनाले रतुवा खोलामा २ सय ५ मिटर लम्बाइको पुल निर्माण गरेको थियो ।

स्थानीयका अनुसार अहिले पुल तर्न नभएर हेर्नका लागि मात्र बनाईएजस्तो अवस्थामा रहेको छ । आर्थिक बर्ष २०६४÷०६५ सालमा भ्याटसहित १० करोड ३२ लाख ९१ हजारमा ठेक्का सम्झौता अनुसार कालिका ओएसीस जेभीले पुल बनाएको थियो ।

बारम्बार आएको बाढीले खोलाले धार परिवर्तन गरेका कारण पुल एकातिर खोला अर्कातिर भएकाले समस्या भएको गौरीगञ्ज गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत राजकुमार शाक्यले बताए । स्थानीयवासीले भने डिजाइन गर्ने क्रममा नै ५ सय मिटरको पुल बनाउनुपर्नेमा २ सय मिटरको बनाउँदा यो समस्या भएको बताउँदै आएका छन् ।

पूर्वी भागमा ७५ मिटर र पश्चिम भागमा ५० मिटर पुल थप्ने गरि तयारी भएको यसभन्दा अगाडि बताइँदै आइएको अवस्थामा अहिले भने खोलालाइ च्यानलाइज (एकोहो¥याउने) गरेर दुइतर्फ ड्याम बनाइ पुल सञ्चालनको तयारी शुरु भएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठसहितको टोली गएर पुल सञ्चालनका लागि खोलालाई पुलको बीचभागबाट कुदाउन गरिने प्रयासको बिषयमा छलफल गरेको बताइएको छ ।

गाउँपालिकाका इञ्जिनियर सविन केसीका अनुसार खोला च्यानलाइज गरेर डाइभर्सन बनाइ खोलालाई पुलको बीच भागमा पानी बगाउने भन्ने आशयका साथ स्थलगत निरीक्षण भएको हो । यसका लागि पुलको आसपासको क्षेत्रमा तटबन्धन र पुलको दुईतर्फी भागमा माटो उठाएर सञ्चालन गर्न सकिने अवस्था रहेको पाइएको छ– उनले भने ।

हुलाकी राजमार्ग आयोजानका इन्जिनियर नन्दकुमार गुप्ताका अनुसार दुबैतर्फ पुल थप्ने भन्ने बिषयमा अध्ययन भएको भए पनि अहिले तत्कालका लागि खोला च्यानलाइज गरेर पुल सञ्चालन गर्न उपयुक्त हुने ठानेर च्यानलाइज गर्न शुरु गरिएको बताए । आफूहरुले खोला च्यानलाइज गर्ने र स्थानीय तहले पुलको दुइतर्फी जोड्ने अवस्था बनाउने बिषयमा छलफल भएको उनले बताए ।

गौरीगञ्जतर्फ गौरीगञ्ज गाउँपालिका र रतुवामाइ नगरपालिकातर्फ रतुवामाइ गाउँपालिकाले आवतजावतका लागि सहज बनाउने छन्– गुप्ताले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here