तस्करी रोक्न प्रहरीलाई सफलता

0
597

चारआली।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गुल्म तथा राजश्व भन्सार गस्ती सुरक्षा काँकरभिट्टाले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा ठूलो परिमाणमा अवैध चोरी पैठारी गरिएको सामग्री भन्सार दाखिला गरेको छ ।

सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको करिब १० महिनाको अवधिमा करिब एक करोड ७५ लाख २७ हजार पाँच सय ५३ रुपैयाँ मूल्य बराबरको सामग्री मेची भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालय इटहरीमा दाखिला गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गुल्म हेडक्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा)का गुल्मपति राजेश घिमिरेले बताए ।

भन्सार दाखिला गरिएका सामग्रीहरुमा सुक्खा सुपारी, कालो मरिच, हरियो मटर, ओरीयन्स कम्पनीका औषधिहरु, मोटर पार्टस, कुखुरको मासु, किराना खाद्यान्न सामग्री, लत्ताकपडा, भारतीय रुपैयाँ, ट्रक, कार, मोटरसाइकल, रिक्सा, ठेला, मोबाइल, ल्याप्टप, टाली, हार्डवेयरका सामग्री, सुर्ती, जुत्ता–चप्पल, काठ, चाँदीका गरगहनाहरु लगायत रहेको घिमिरेले बताए ।

त्यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चालू १० महिनाको अवधिमा भन्सार छलि तथा चोरी गरेका ९६ लाख ७८ हजार नौ सय ११ रुपैयाँ मूल्य बराबरका विभिन्न सामग्री मेची भन्सार कार्यालयमा दाखिला गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा इलाकाको मातहतमा रहेको प्रहरी चौकीबाट गएको प्रहरीको टोलीले मेचीनगर क्षेत्रबाट उक्त सामग्री बरामद गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापाले जानकारी दिए । बरामद गरिएका सामग्रीहरुमा सुख्खा सुपारी, मकै, मटर, मरिच, स्याउ, लत्ताकपडा, किराना खाद्यान्न सामग्री रहेको उनले बताए ।

साउन महिनादेखि जेठसम्म आइपुग्दा चोरी तस्करीमा संलग्न भारतको पानीट्यांकीका १७ वर्षीय जयदीप राजवंशी, सोही स्थानका २३ बर्षीय धन सिंह, मेचीनगर–४ का ४५ बर्षीय अमर थापा मगर, सोही स्थानका ४४ बर्षीय गोपाल बुढाथोकी, मेचीनगर– ६ का ५३ बर्षीय कृष्णकुमार राई, मेचीनगर–६ का २५ वर्षीय मन्दीप राजवंशीलाई प्रहरीले पक्राउ गरी कारवाही गरेको र भन्सार छलि र चोरी तस्करीमा पक्राउ परेका उनीहरुलाई धरौटीमा छाडिएको उनले जानकारी दिए ।

त्यस्तै अवैधरुपमा खोलाबाट उत्खखन् गर्दै गरेको अवस्थामा दुईवटा ट्याक्टर र चारवटा टिपरलाई नियन्त्रणमा लिएर कारवाहीका लागि मेचीनगर नगरपालिका पठाएको र सिमल र कदम जातको गोलिया ६३ क्युफिट काठ नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला वन कार्यालयमा पठाएको थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here