असुरक्षित यौन सम्पर्कका कारण जोखिममा महिला

0
827

झापा।

असुरक्षित यौन सम्पर्कका कारण महिलाहरु यौन रोगको उच्च जोखिममा रहेको पाइएको छ । जसका कारण महिलामा सेतोपानी बग्ने, यौनाङ्गको मुखमा घाउ निस्कने र पाठेघरमा समस्या देखिनेसम्मका रोगले पछिल्लो समय अधिकांश महिला पीडित हुने गरेको प्राध्यापक डाक्टर गेहनाथ बरालले बताए ।

गर्भ अवस्था र सुत्केरी अबस्थामा यौनसम्पर्क र सुत्केरी अवस्थामै भारी काम गर्दा पाठेघरको समस्या, आङ खस्ने रोगले समेत अधिकांश महिला पीडित हुने प्राध्यापक डाक्टर वरालको भनाइ छ । पछिल्लो समय ग्रामीण क्षेत्रका महिलामा यस्तो समस्या अधिक देखिन थालेपछि बिर्तामोड– २ चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले गत हप्ताबाट गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

सहकारीमा आवद्ध महिलाहरुको स्वास्थ्य अवस्था वुझ्ने र उनीहरुमा यौन तथा प्रजनन् र अन्य विभिन्न किसिमका रोग लागेको भए औषधि उपचारमा समेत सहयोग गर्दै आफ्ना सदस्यलाई निरोगी बनाउने अभियान शुरु गरिएको बताइएको छ । जस अन्तरगत सहकारीले वाह्रदशीको राजगढ र शिवसताक्षीको शिवगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सो शिविरमा झण्डै पाँच सयभन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा लिएको सहकारीका कार्यक्रम संयोजक भक्त खड्काले जानकारी दिए ।

सहारा नेपालको जीवन वरदान कार्यक्रमअन्तर्गत ग्रामीण क्षेत्रमा निःशुल्क शिविर सञ्चालन भइरहेको छ– उनले भने – ‘ आफ्ना सदस्य र लघुवित्त समुदायलाई लक्षित गर्दै सहाराले समस्याका रूपमा रहेको पाठेघर रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको हो । यस्तो कार्यक्रमले धेरै महिलालाई राहत मिलेको छ ।’

पाठेघर झर्ने, समयमा महिनावारी नहुने, पाठेघरको मुखमा घाउ हुने, मासु पलाउनेजस्ता प्रजनन् सम्बन्धी रोगबाट पीडित महिलाहरुका लागि यो शिविर वरदान नै सावित भएको हामीले महसुस गरेका छौं –खड्का भन्छन् – वीएण्डसी अस्पताल र नेपाल परिवार नियोजन संघको सहकार्यमा सञ्चालित शिविरमा गाउँ–गाउँमै पुगेर प्राध्यापक डाक्टरले सेवा दिँदा सबै दंग छन् ।’

राजगढ बजारमा सञ्चालन गरिएको शिविरबाट २ सय ७६ जना महिलाले लाभ लिएका छन् । राजगढको शिविरमा १० जना महिलामा पाठेघरको क्यान्सरको पहिलो चरण, २२ जनामा आङ खस्ने समस्या र १ सय १ जनामा यौनरोग फेला परेको बताइएको छ । उता शिवगञ्जमा आयोजना गरिएको शिविरमा समेत २९ जना महिलामा पाठेघरको क्यान्सरको पहिलो चरण, ५० जनामा आङ खस्ने समस्या र १ सय ५० जनामा यौनरोग फेला परेको खड्काले बताए । उनले भने –‘ रोगको जटिलता हेरेर सहाराले प्राथमिकतामा राखेर महिलाको उपचार निःशुल्क गर्ने योजना राखेको छ ।’

सहारा नेपालले सेवा क्षेत्रका १ लाख ४० हजार महिलाका घर आँगनमा यो शिविर पु¥याउने लक्ष्य राखेको जीवन वरदान कार्यक्रमका संयोजक खड्काले बताए । पहिलो चरणमा झापाको शिवगञ्ज, राजगढ, बनियानी र मोरङको पथरीमा पाठेघर र आङ खस्ने सम्बन्धी एक दिवसीय निःशुल्क स्वास्थ शिविर सञ्चालन हुने स्वास्थ्य संयोजक नरेन्द्र बरालले जानकारी दिए । सेवा क्षेत्रका सबै जिल्लाका महिला सदस्यका लागि शिविर हुने छ– बरालले भने–‘ शिविरमा गैरसदस्यले पनि लाभ लिन सक्ने व्यवस्था मिलाएका छौं ।’

शिविरमा आएका मध्ये ८० प्रतिशत विवाहित महिला पाठेघर र आङ खस्ने समस्याबाट पीडित बन्ने गरेको प्रा.डा. वराल बताउँछन् । आफ्नो सेवा क्षेत्र पूर्वका झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर र पाँचथरमा सहारा नेपालले यस्तो शिविर सञ्चालन गर्ने बताइएको छ ।

गाउँमै सेवा पाँउदा दंग

साविक राजगढ– ८ निवासी २९ वर्षीया देवन्ता राजवंशी सहारा नेपालकी सदस्य हुन् । उनले सहारा नेपाल वाह्रदशी सेवा केन्द्र अन्तरगत राजगढ सेवा केन्द्रले राजगढ पोलिक्लिनिकमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिइन् ।

तीन सन्तानकी आमा उनले तल्लो पेट दुख्ने समस्याका कारण शिविरमा आएर स्वास्थ्य जाँच गराएकी थिइन् । उनले गाउँमै प्राध्यापक डाक्टरबाट निःशुल्क स्वास्थ्य जाँच गराउन पाउँदा खुशी लागेको बताइन् । उनले भनिन – हामीले यस्तो डाक्टर कहाँ भेट्नु, उहाँले त डाक्टरलाई पनि पढाउनु हुँदोरहेछ । उहाँलाई मेरो समस्या देखाउन पाउँदा खुशी लागेको छ ।
मलिन अनुहार लिएर शिविर पुगेकी देवन्ती विज्ञ चिकित्सकको परामर्शपछि निक्कै प्रफुल्ल देखिन्थिन् ।

देवन्ती जस्तै समस्या भोग्दै आएकी घेराबारीकी इन्द्रावती राजवंशी पनि शिविरबाट आफूले लाभ लिएको बताउँछिन् । महिनावारी रोकिएकी ५० वर्षीया इन्द्रावतीको तल्लो पेट दुखिरहन्छ । उनले शिविरमा चिकित्सकलाई भनिन्– ‘धेरैतिर उपचार गराएँ, कतै जाँदा पनि रोग निको भएन । सुत्केरी अवस्थामा भारी काम गरेर होला कहिले काँही सहनै नसक्ने गरी पेट दुख्छ राम्ररी जाँची दिनु प¥यो । ’

सेवा लिन आएका प्रभावित महिलालाई प्राध्यापक डाक्टर बराल नेतृत्वको पाँच सदस्यीय चिकित्सक टोलीले परामर्श र स्वास्थ्य–सुरक्षा विधिबारे सल्लाह दिएको सहारा नेपाल राजगढ सेवा केन्द्रका प्रमुख एकदेव कट्टेलले बताए । शिविरमा आएका महिलालाई खासगरी पाठेघरको संक्रमण कसरी रोक्न सकिन्छ भन्ने विषयमा सजग गराइएको थियो ।
ग्रामीण भेगका महिलामा सरसफाई सम्बन्धी ज्ञान र सचेतना नभएको, सुरक्षित यौन सम्बन्ध नभएको तथा भाइरसका कारण पनि पाठेघरको समस्या देखिँदै आएको डा. बरालको भनाइ छ ।

बिएन्डसी अस्पताल र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा भइरहेको शिविरमा १८ वर्षदेखि ६० वर्ष उमेर समूहका महिलाले परामर्श लिएको खड्काले जानकारी दिए । स्वास्थ्य सेवाको पहुँच बाहिर हुँदा सयौं महिला यस्तो रोग लुकाउन बाध्य हुनु परेको स्वास्थ्य शिविरमा सहभागी चिकित्सक कल्पना भट्टराईले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here