बिर्तामोड,अर्जुनधारा, भद्रपुर र दमकमा डेंगुका बिरामी फेला: झापा डेंगुको उच्च जोखिममा

0
1397

नरेन्द्र ढकाल/ बिर्तामोड ।

झापाको दमक, अर्जुनधारा, भद्रपुर र बिर्तामोड नगरपालिकामा डेंगुका रोगी फेला परेका छन् । धरानमा महामारीको रुप लिएको डेंगु रोगको उच्च जोखिममा रहेको झापामा पनि डेंगुको संक्रमित विरामी फेला परेका हुन् । बिर्तामोडस्थित पूर्णटुंग बिर्तासिटी अस्पतालमा बिर्तामोड नगरपालिकाका दुई जना र अर्जुनधारा नगरपालिकाका एकसहित ६ जना बिरामीले डेंगु रोगको उपचार गराई रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. अनिल बस्नेतले जानकारी दिए ।

अस्पतालमा ७ जना डेंगुका संक्रमित विरामी भर्ना भए पनि एक जना उपचारपछि घर फर्किएका छन् । उपचारमा रहेका मध्ये तीन जना धरानबाट आएको डा. बस्नेतले जानकारी दिए । प्लेटलेसको मात्रा कम भएकाले उनीहरुको उपचारमा सहजताका लागि रगत आवश्यक पर्न सक्ने भएकाले ब्लड बैंकलाई समेत जानकारी दिइएकोे डा. बस्नेतले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भद्रपुरमा पनि एक जनामा डेंगु रोगको संक्रमण देखिएको छ । उता दमकमा पनि दुई जनामा डेंगु संक्रमण फेला परेको दमक अस्पतालले जनाएको छ । पूर्वी नेपालमा फैलिरहेको डेंगु नियन्त्रणमा सरकारी प्रयास रहेको बताइए पनि उक्त रोगको फैलावट रोक्न प्रयोगशालामा परीक्षण र अनुसन्धान नहुँदा महामारीको खतरा बढेको हो । समयमै जाँच तथा अनुसन्धान अभावका कारण यसले खतराको रुप लिने देखिएको छ ।

सुनसरीको धरानमा हालसम्म डेंगुका चार सयभन्दा बढी विरामी फेलापरेका छन् भने मोरङमा पनि यसका विरामी बढ्न थालेको चिकित्सकहरुले बताएका छन् । वैज्ञानिक वर्गीकरणअनुसार टाइप वान, टाइप टु, टाइप थ्री र टाइप फोर गरी चार प्रकारका डेंगु रोग हुने चिकित्सकले बताएका छन् । डेंगु संक्रमणले शरीरका संवेदनशील अंगबाट रक्तश्राव भई बिरामीको मृत्यु हुन्छ । झापामा सबै प्रकारका डेंगु फैलिने जोखिम रहेको र डेंगु फैलिएमा यसबाट ठूलो क्षति हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले बताए ।

एडिस एगेप्टी नामक पोथी लामखुट्टेले टोकेपछि डेंगु संक्रमण हुन्छ । चिकित्सकका अनुसार उक्त संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिँदैन । ज्वरो आउनु, टाउको दुख्नु, हाड तथा जोर्नी दुख्नु, आँखा दुख्नु, वाक्वाकी, लाग्नु डेंगुका प्रारम्भिक लक्षण भएको कार्यक्रम अधिकृत पौडेलको भनाइ छ ।

झापाका बिर्तामोड नगरपालिका र भद्रपुरनगरपालिका डेंगुको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका अधिकृत पौडेलले जानकारी दिए । उनका अनुसार बिर्तामोडमा एक जना र भद्रपुरमा एक जनामा डेंगुको संक्रमण देखापरेको भन्दै पौडेलले भने–संक्रमण देखा परिसकेको छ, अब बेलैमा सचेतना नअपनाउने हो भने यसले महामारीको रुप लिन सक्छ ।

जुलाइदेखि सेप्टेम्बरसम्म यो रोग देखा पर्ने चिकित्सकहरुको भनाइ छ । जमेको सफा पानीमा यस्ता जीवाणु देखापर्ने भएकाले हाल निर्माणाधीन अवस्थामा रहेका सडक किनारका खाल्डो तुरुन्त नपुर्ने हो भने त्यहाँबाटै डेंगुले लार्भा उत्पादन गरेर संक्रमणलाई फैलाउन सक्छ । स्वास्थ्य कार्यालयका अधिकृत भन्छन्– जताततै खाल्डोमा पानी जमेको छ, फोहोरका कारण संक्रमण फैलिने सम्भावना धेरै छ ।

गत वर्षसम्म स्वास्थ्य कार्यालयबाट बजेट छुट्टिने गरेपनि यसवर्षबाट भने स्थानीय तहमा नै बजेट सिधै आउने गरेको बताइएको छ । यस वर्षपनि सरकारले डेंगु नियन्त्रणका लागि सचेतना लगायतका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई एक लाखका दरले बजेट दिएको स्वास्थ्य कार्यालयका अधिकृत पौडेलले जानकारी दिए । गत वर्ष बिर्तामोडमा डेंगुले महामारीको रुप लिएको र यसवर्ष पनि एक जनामा डेंगुको संक्रमण फेला परिसकेकाले यो विषयमा नगरपालिकालाई चनाखो बन्न पौडेलले सुझाव दिए ।

मेचीनगर, कनकाई, शिवसताक्षी लगायतका नगरपालिका तथा गाँउपालिकाहरुले पनि बेलैमा सचेतना अपनाउनु पर्ने र रोगको संक्रमण फैलन नदिन विशेष सावधानी अपनाउनु पर्ने चिकित्सकहरुको भनाइ छ ।

संक्रमण फैलिएपछि नियन्त्रणमा लाग्नु भन्दा संक्रमण फैलन नदिनु नै उत्तम हो भन्दै स्वास्थ्य कार्यालयका अधिकृत पौडेलले भने– झापाका सबै स्थानीय तहले यो विषयमा जनचेतना फैलाउन र सम्भावित स्थानमा फगी स्प्रे लगायत, लार्भा नष्ट गर्ने अभियान शुरु गर्नुपर्छ ।

डेंगुको संक्रमणका कारण गत वर्ष झापामा दुई जनाको मृत्यु भएको थियो । दुई हजारभन्दा बढीमा यसको संक्रमण देखिएको र रोगलाई पूर्ण रुपमा नियन्त्रणमा ल्याउन निकै समय लागेको स्वास्थ्य कार्यालयका अधिकृत पौडेलले बताए ।

डेंगुबाट कसरी बच्ने

डेंगु सफा पानीमा फैलिने भएकाले फोहोर नाली भएको ठाउँभन्दा घर र घरआसपासका पानी जम्ने पुराना भाँडाकुँडामा बस्ने लामखुट्टेबाट यो रोग फैलिने सम्भावना बढी हुन्छ । आफ्नो घर सफाई गर्नु र घरमा पानी जम्ने ठाउँ हटाउनु नै यो रोगको उचित रोकथामको उपाय हो । साथै मच्छडको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा मच्छड धुप वा क्रिम प्रयोग गर्नु पनि उत्तिकै आवश्यक छ ।

डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसको टोकाइबाट बच्नु नै मुख्य उपाय हो । त्यसैले पूरा शरीर छोपिने लुगा लगाउने र दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्नुपर्छ । हातखुट्टामा लामखुट्टे भगाउने क्रिम लगाउनाले पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।

डेंगु सार्ने एडिज लामखुट्टेले मानिसको बस्ती वरिपरि प्राकृतिक वा कृत्रिम रूपले जमेको पानीमा फुल पार्छ । त्यसैले बाटा, बाल्टिन, प्लेटसहितको गमला, एयरकन्डिसनर, लोटा, गिलास, कतारो, खुला बोतलहरू, थोरैभन्दा थोरै पनि पानी जम्ने भाँडाहरू (जस्तै– सिसीको बिर्को), खुला पानीको ट्यांकी वा खुला पानीका भाडाहरू नष्ट गर्नुपर्छ । पानी जम्ने स्थान राख्नु हुँदैन । डेंगु ज्वरोको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्नुपर्छ ।

विराटनगरमा मालाथिन छर्कँदै

विराटनगर महानगरापलिकामा डेङ्गु ज्वरोका सङ्क्रमित बिरामी देखिन थालेपछि बुधवारदेखि यस क्षेत्रमा औषधि छर्किने कार्य शुरु गरिएको छ ।

धरान उप–महानगरपालिकमा सो रोगबाट सङ्क्रमित बिरामी अत्यधिक देखिएकाले नियन्त्रणका लागि नगरका सम्पूर्ण वडामा आजदेखि मालाथिन फगि स्प्रे(छर्केने) कार्य शुरु गरिएको बिहान ७ः०० बजेदेखि दिउँसो ११ः०० बजेसम्म औषधि छर्किने भएकाले उक्त समयमा खानेकुरा छोपेर राख्न महानगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here