वडा कार्यालय निर्माणका लागि करोडको जग्गादान

0
551

बिर्तामोड।

विर्तामोड नगरपालिका वडा नंं–६ लाई वडा कार्यालय निर्माणका लागि जग्गा प्राप्त भएको छ ।

समाजसेवी गोपीकृष्ण प्रसाईले वडा कार्यालय भवन निर्माणका लागि आफ्ना दिवंगत बुबा–आमा जयेन्द्रप्रसाद र धनमाया प्रसाईका नाममा वडा नंं–६ मा अवस्थित ३ कठ्ठा जमिन निःशुल्क प्रदान गरेका हुन् ।

समाजसेवी प्रसाईले वडा कार्यालयलाई प्रदान गरेको जमिनको धनीपुर्जा शुक्रवार आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरे । वडा कार्यालयद्वारा स्थानीय हरिहर आश्रममा क्षेत्र नं.–२ का प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमकाबीच विर्तामोड नगरपालिकाका नगरप्रमुख धु्रवकुमार शिवाकोटी र वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वालाई दान गरेको जग्गाको धनीपुर्जा हस्तान्तरण गरिएको थियो ।

धनीपुर्जा हस्तान्तरणपछि कार्यक्रमका प्रमुख अतिथि सांसद कार्कीले वडा कार्यालयले अर्काको घरमा बसेर सेवा प्रदान गर्नु परेको अवस्थामा निःशुल्क जग्गा प्राप्त गर्नु ठूलो उपलब्धि भएको बताउँदै अबको एक वर्षमा प्राप्त जग्गामा भवन निर्माण गरेर त्यहीँबाट सेवा प्रवाह गर्नु पर्ने बताए । उचित समयमा वडालाई जग्गा प्राप्त भएको भन्दै सांसद कार्कीले बजेट बिनियोजन गर्दा जग्गा प्राप्त गरेका वडाको भवन निर्माणमा विशेष ध्यान पुर्याउन नगरप्रमुखको ध्यानाकर्षण समेत गराए ।

नगरप्रमुख शिवाकोटीले जग्गा अभावका कारण वडाका भौतिक संरचना निर्माण गर्न नसकिरहेकोे अवस्थामा वडालाई जग्गा प्राप्त हुनु नगरका लागि ठूलो उपलब्धि भएको बताए । उनले छिटो संरचना निर्माणका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाउँदै जग्गादातालाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा जग्गादाता प्रसाईले वडाले जग्गा ग्रहण गरेर आफूलाई ठूलो अवसर दिएको धारणा राख्दै दान गरेको जग्गामा चाँडै भवन निर्माण भएर वडावासीलाई सेवा प्रदान गरेको हेर्न चाहेको बताए । नेकपा नगर प्रमुख ज्ञानुराम प्रसाईले अहिलेको समयमा पनि एक करोड मूल्यभन्दा माथिको जग्गा दान गर्नु महत्वपूर्ण कुरा भएको बताए । उनले जग्गादाताको भावनाको कदर गर्दै चाँडै भवन निर्माण कार्य अघि बढाउन नगरपालिका, प्रदेश र संघले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

त्यस्तै वडाध्यक्ष तथा कार्यक्रमका सभापति सूर्यप्रसाद कन्दङ्वाले तीब्रतर शहरीकरणले विर्तामोडमा जग्गा खुम्चिँदै गएको बेला प्रसाईले मूल्यवान जग्गा प्रदान गरेर समाजसेवाप्रति अरुलाई पनि प्रेरणा दिएको बताए ।

लोकतान्त्रिक शासन प्रणालीमा बिचार जे भएपनि विकासका लागि एक ठाउँमा उभिनु पर्नेमा जोड दिंँदै उनले प्राप्त जग्गामा भवन निर्माणका लागि सहयोग गर्न आह््वान समेत गरेका थिए ।

एन्विन्द्र खत्रीले सञ्चालन गरेको कार्यक्रममा औचित्यमाथि महिला वडासदस्य पवित्रा ढुङ्गानाले प्रकाश पारेकी थिइन् भने स्वागत शोभा विकले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here