भद्रपुर।
झापा कारागार भद्रपुरमा टाटा विङ्गर मिनी बस आएपछि कैदीबन्दीको दीर्घकालीन समस्या टरेको छ ।
एउटा सानो जिप भएको झापा कारागारमा कैदीबन्दी बिरामी पर्दा आलोपालो अस्पताल लैजानु पर्ने जटिल समस्या थियो ।
सोही समस्यालाई मध्यनजर गरी गृह मन्त्रालय, कारागार व्यवस्थापन विभागले झापा कारागारका लागि एउटा टाटा विङ्गर मिनी बस पठाइ दिएको हो ।
कारागारमा मिनी बस आएपछि दीर्घकालीन समस्या टरेको भन्दै कैदीबन्दी हर्षित भएका छन् । १६ सिटे टाटा विङ्गर मिनी बस एक साताअघि झापा कारागारमा आएको कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए । कैदीबन्दीलाई बाहिर लैजानु पर्ने दुई वटा कारण हुन्छ, एउटा अस्पताल, अर्को अदालत ।
‘कारागारको एउटा सानो जिपमा एक पटकमा दुई जना भन्दा बढी कैदी अस्पताल लैजान सकिँदैन थियो’– जेलर निरौलाले भने –‘एक जना कैदी बराबर दुई प्रहरी जानु पर्ने, दुई कैदी जाँदा ६ जना जान्थे, जसले गर्दा बिरामी परेका कैदी पालो कुर्थे वा रकम खर्चिएर भाडाको गाडी मगाउनु पथ्र्यो ।’
‘यस्तो समस्याको बारेमा विभागलाई जानकारी गराएपछि बल्ल एउटा मिनी बस पठाएको हो– उनले थपे ।
उनका अनुसार अब मिनी बस र जिपसहित दुई वटा कैदी बोक्ने साधन भएकाले अस्पताल र अदालत दुवैतर्फ कैदी बोकेर लैजान सजिलो हुने भयो । ‘कैदीबन्दीको चाप अनुसार कारागारमा साधन नहुँदा समस्या नै थियो’–कारागारका महिला चौकीदार भैरावदेवी श्रेष्ठले भनिन्– ‘अब पालो पर्खिनु परेन, कैदीले समयमै उपचार पाउने भए ।’
मिनी बस आएपछि कैदीबन्दी खुशी भएको उनले बताइन् । हाल कारागारमा १०२७ पुरुष र ९४ महिला गरी ११२१ कैदीबन्दी रहेको जनाइएको छ ।