झापामै पानीको सकस दुई सय ५३ घरलाई एउटा ट्युवेल

0
914

विनोद सापकोटा / झापा।

झापाको शिवसताक्षीमा खानेपानीको समस्या बर्र्षौं देखिको हो । नगरको ९ र १० नम्बर वडाका ३ वटा गाँउका बासिन्दा अहिले पनि काकाकुल सरह छन् ।

पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनि थपिँदैछ । स्थानीय नहर, कुवा तथा खोलाको धमिलो पानी उपभोग गर्छन् । खानेपानीको भरपर्दो व्यवस्था नहुँदा नगरका संगमवस्ती, दोमुखा र श्रीजंघा वस्तीका हजारौं स्थानीयले वर्षौंदेखि पिउने पानीको समस्या खेप्दै आएका छन् ।

गाउँमा धारा छन् तर पिउने पानी छैन । एकाध उपभोक्ता धारामा आउने पानीले लुगा धुने, गाईवस्तुलाई खुवाउने, भाँडा माझ्ने गर्छन् । संगमबस्तीका २ सय ५० घरका लागि स्थानीय दिलवहादुर खड्को घरमा भएको ट्युवेल पिउने पानीको एकमात्र श्रोत हो ।

झापा त्यसमा पनि शिवसताक्षीको संगमवस्ती पिउने पानीको समस्या हिमाल, पहाडका दुर्गम वस्तीको भन्दा कम छैन । यहाँका सयांै स्थानीयले डोको, साइकल, मोटरसाइकल, ठेला जस्ता साधनमा गाग्रा, बोतल, भुल्टुङ्गमा पानी हालेर घरसम्म ल्याउने गरेका छन् । कतिपय घरमा त बटुवाले पानी मागे दही, मोही दिने गरेको स्थानीयले बताएका छन् । घरमा पानी हुँदैन, पानी माग्ने बटुवालाई मोही दिने गरेका छौं – स्थानीय हरिप्रसाद मिश्रले भने–पहाडमा पनी पिउने पानीको समस्या थिएन प्रधानमन्त्रीको गृह जिल्ला झापाका हामी पानी पिउन नपाएरै मर्ने भयौं ।

हिउँद लागेसँगै पूर्वपश्चिम महेन्द्र राजमार्गसंँग जोडिएको संगमवस्ती, श्रीजंघा बस्ती र पर्यटकीय दोमुखामा खानेपानीको समस्या यथावत छ । ०४२ सालमा स्थापना भएको सतासीधाम खानेपानीका धारा सो वस्तीमा लथालिंग छन् । डेढसय परिवारलाई लक्षित गरी बनाइएको धारामा यतिबेला कमिला कुदिरहेका भेटिन्छन् ।

समितिले मैनाचुली सामुदायिक वन हातामा निर्माण गरेको रिजर्भ ट्याङ्कीका लागि त्यहाँका उपभोक्ताबाट प्रतिघर एक हजार लिएको थियो । समितिका कार्यालय सचिव राजेन्द्र खड्काले भने –०७३ सालको बाढी पैह्रोले पानीको मुहान क्षतविक्षत हुने गरी भत्काएपछि उपभोक्ताले पानी नपाएका हुन् । स्थानीयले धारामा धमिलो पानि आएको भएपनि प्रशोधन गरेर प्रयोग गथ्र्यौं ।

एक परिवारको पानी २ सय ५० घरका करिव १२५० जनाले बाँडेर खानुपरेको स्थानीय दलबहादुर न्यौपानेले बताए । उनले भने –धारामा पानी छैन, गाउँमा ९ महिना पानीको हाहाकार हुन्छ, यो भन्दा विकराल समस्या के होला ? असार अन्तिम अर्थात मनसुन सक्रिय भएपछि गाउँका ट्युवेलमा पानी आउँछ, हिउँद लागेपछि ट्युवेलको पानी सुक्छ ।

स्थानीयले खानेपानीका लागि हरेक प्रयास गरेका छन् तर निरर्थक छन् । पानीका लागि बजारबाट ट्युवेलको हेड किनेर ल्यायो १०० मिटर गहिराईसम्म जाँदा पनि पानीको लेयर भेटिन्न– राष्ट्रिय रमणीय आदर्श मावि दूधेका शिक्षक समेत रहेका न्यौपानेले भने –निर्वाचन ताका राजनीतिक दलका नेता र उमेद्वारको मुख्य मुद्दा संगम वस्तीको खानेपानी समस्याको समाधान गर्ने हुन्छ, निर्वाचन जिते पछि खानेपानीको समस्या उनीहरुले विर्सिदिन्छन् ।

झापाको साविक सतासीधामको यो समस्या देखाउँदै ०४८ सालमा तत्कालीन एमालेबाट सीपी मैनालीले निर्वाचन जिते । ०५१ सालको मध्यावधि निर्वाचनमा मैनालीका दाजु राधाकृष्णले पनि एमालेबाटै खानेपानीको समस्या समाधान गर्ने आश्वासन दिँदै निर्वाचन जिते । स्थानीयबासी समेत रहेका तारा समयाङ्या एमालेबाटै ०५६ सालको आमनिर्वाचनमा निर्वाचित भए । सबैले भनेका थिए –संगम वस्तीको खानेपानीको समस्या निर्वाचन जितेपछि समाधान गर्छु तर समस्या ज्यूँका त्यूँ छ ।

संविधान सभाको दुवै निर्वाचनमा बिजेता बनेका केशवकुमार वुढाथोकीले त खानेपानीको समस्याले मलाई पर्खिएको समेत भनेर ठाँउ–ठाँउमा भाषण नै गरेका थिए । संगम वस्तीको खानेपानीको समस्या समाधान गर्ने झुटो आश्वासन दिएर मैनालीद्वय र बुढाथोकी तत्कालीन सरकारका मन्त्री समेत भए ।

०७४ सालको आम निर्वाचनमा तत्कालीन एमालेवाट स्थानीयबासी समेत रहेका एलपी साँवा लिम्वूले अघिल्ला उमेद्वारले जस्तै भाषण गरे । उनले निर्वाचन जितेको पनि २ वर्ष भयो तर समस्या जस्ताको तस्तै छ । गाउँले भएकैले पनि साँवाबाट स्थानीय खानेपानीको समस्या टर्नेमा आशावादी थिए । सांसद साँवाले भने–सबै समस्या मलाई थाहा छ, यतिका अवधि पर्खिने स्थानीयले अव केही समय कुरे संगमवस्तीमा पानीको समस्या हुने छैन ।’

हातगोडा लागेका सबै बिहान बेलुका पानी बोक्न तँछाड मछाड गर्छन् । स्कूले बालबालिका विहानबेलुका पानी बोक्छन् भने उनीहरुका अभिभावक दिउँसो बोक्छन् । ट्युवेलमा पानी थाप्दै गरेकी स्थानीय जेनीसा राईले १ घण्टा पैदल दूरीका मानिस ट्युवेलमा पानी थाप्न आउने गरेको वताइन् ।

खानेपानी हाहाकार भएको वस्तीमा पिउने पानीका दुईवटा योजना सञ्चालन भएका छन् । तीमध्ये एउटा सम्पन्न भएको छ भने अर्को निर्माणाधीन छ । संगमवस्ती खानेपानी योजना ४४ लाख खर्चेर दातृ संस्था फनवर्डले निर्माण गरेको थियो ।

तर, सो योजनाको पानीमा ९ प्रतिशत आइरन फेला परेपछि उक्त योजना योजनाको ट्याँकी यतिवेला स्थानीयको सेल्फी खिच्ने थलो भएको स्थानीयले बताए । पानीको परीक्षण नै नगरी ट्यांकी निर्माण भएको थियो । निर्माण समितिका सचिव दलवहादुर न्यौपानेले भने –फनवर्डले झुक्याएर स्थानीयलाई पिउने पानीको कामै नदिने योजना निर्माण गर्यो ।

त्यसैको नजिकै यतिवेला संगम खानेपानीको योजना निर्माणाधीन छ । केन्द्रीय सरकारको सशर्त अनुदानमा प्रदेश सरकारमार्फत उक्त योजना निर्माण भइहेको स्थानीयले बताए ।

९ करोडको क्रमागत वजेटमा यो अवधिसम्ममा १ करोड बरावरको काम सम्पन्न भएको खानेपानी प्रभावित निर्वाचन क्षेत्र नम्बर ४ का सांसद लिम्बूले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here