विनोद सापकोटा/ झापा ।
नगरसभाको प्रमुख अतिथि कसलाई बनाउने भन्ने विषयमा कुरा नमिले पछि शिवसताक्षी नगरका मेयर चन्द्रकुमार सेर्मा नगरकार्यपालिका वोर्डबाटै आलोचित बनेका छन् ।
नगरसभाको ९५ प्रतिशत सदस्यले मेयर सेर्माले प्रस्ताव गरेका महान्यायाधिवक्ता अग्नि खरेललाई असार १० गते हुने नगरसभाको प्रमुख अतिथिको प्रस्ताव गरेपछि उक्त प्रस्ताव अनिर्णित बन्यो ।
कार्यपालिकाका एक सदस्यले भने –वडा नम्बर १० का अध्यक्ष कर्णवहादुर थापा र वडा नम्बर ८ का अध्यक्ष केहरसिंह बस्नेतले सांसद एलपी साँवाको विकल्प नभएको राय दिएका थिए भने अन्य सदस्यले मर्यादाको ख्याल गर्न मेयर सेर्मालाई सुझाएका थिए ।
कार्यपालिकाका बहुसंख्यक सदस्यले साँसद साँवा नै नगरसभाको एक मात्र विकल्प भएको बताउँदै आएका छन । मेयर सेर्मा, उपमेयर भोजकुमारी नेपाल र वडा नम्बर २ का अध्यक्ष कुलवहादुर बस्नेत महान्यायाधिवक्ता खरेललाई नगरसभाको प्रमुख अतिथि बनाउने पक्षमा रहेको कार्यपालिकाकै एक सदस्यले बताए ।
पार्टीको जिम्मेवारीका हिसाबले खरेल कुनै तहमा छैनन्, न त उनी जनप्रतिनिधि नै हुन् । गौरादह घर भएका खरेलको शिवसताक्षी नगर भनेको ससुराली घर हो । खरेलका एकाध निकट ब्यक्ति शिवसताक्षी नगरमा छन् । त्यसमध्येका प्रमुख पात्र नगरका मेयर सेर्मा हुन् । निकटताकै कारणले जो पायो त्यहीलाई कार्यक्रममा बोलाउन नहुने एक वडा अध्यक्षले बताए ।
जनमतको हिसाबले सांसद साँवाले दोश्रो संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसका केशवकुमार वुढाथोकीसंँग २३९ मतको झिनो अन्तरले पराजय भोगेका थिए । निर्वाचन जितेपछि संघीय सांसद साँवाले करिव १ अर्व बराबरको योजना आफ्नो निर्वाचन क्षेत्रमा पारेका छन् । यो रकम स्थानीय पूर्वाधार विकास साझेदारी (संसदीय कोष) वाहेकको हो ।
आफ्नै नगरपालिकाको नगरसभामा निर्वाचित सांसदलाई वाइपास गरेर मेयर सेर्माले आफ्नो खुट्टामा आफैं बञ्चरो हानेको स्थानीयवासी समेतले बताएका छन् । नगरसभाको बैठकमा प्रमुख अतिथि को बोलाउने भन्ने विषयमा कुरा नमिलेपछि मेयर सेर्मा, उपमेयर नेपाल र वडाध्यक्ष बस्नेतको सर्वत्र आलोचना हुन थालेको छ । यसले पार्टीका जिम्मेवार नेताबीच धु्रवीकरण हुने मात्र होइन द्वन्द्व सिर्जना गर्ने पार्टीका एक नगर सदस्यले बताए ।






























