बिर्तामोड।
आर्थिक वर्ष ०७६/०७७ का लागि गत असार १० गते प्रस्तावित बिर्तामोड नगरपालिकाको नीति तथा कार्यक्रम मंगलबार पारित भएको छ ।
नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको उपप्रमुख पवित्रा महतारा प्रसाईले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो । नगरपालिकाले आव ०७६÷०७७ का लागि एक अर्व १२ करोड ३२ लाख ४६ हजारको बजेट सहितको नीति तथा कार्यक्रम पारित गरेका हो । नगरपालिकाको तेस्रो नगरसभाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पहिलोपटक पार्लियामेन्ट्री सिस्टममार्फत नीति तथा कार्यक्रम पारित गरिएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताए ।
प्रवक्ता पाण्डेका अनुसार आव २०७६÷७७ का लागि शिक्षाको भौतिक विकास भन्दा गुणस्तरमा जोड दिइएको छ भने स्वास्थ्यतर्फ विगतका कार्यक्रमलाई निरन्तरता दिंँदै भौतिक विकासका साथै स्वास्थ्य विमालाई पनि प्राथमिकतामा राखिएको छ ।
त्यस्तै पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन, प्रत्येक चौमासिक रुपमा नगरका गतिविधि सार्वजनिक गर्ने, नगरक्षेत्रभित्रबाट प्रकाशित प्रशारित सञ्चारमाध्यमलाई समानुपातिक रुपमा लोककल्याकारी विज्ञापन उपलब्ध गराउने लगायतका नयाँ कार्यक्रम समेटिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।
नगरपालिकाले यसैवर्षदेखि नगरक्षेत्र भित्रका एकहजार परिवारको छनौट गरी साझेदारीमा स्वास्थ्य विमा, गर्भवती महिलाका लागि जिरो होम डेलिभरी योजना अघि सारेको छ भने प्रजनन् तथा मातृशिशु स्वास्थ्य कार्यक्रम अन्तरगत सुत्केरी आमालाई न्यून पोषण कम गर्न क्याल्सियम वितरण, गरिब, दलित, आदिवासी र जनजाति लक्षित नगरप्रमुख पकेट प्याकेज कार्यक्रम, कृषितर्फ मेयर विषादीमुक्त नगर कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटेको छ ।
त्यस्तै शिक्षाक्षेत्र विकास, साइन्स सिटी निर्माण, स्वच्छ पिउने पानी, सहकारी क्षेत्र विकास, हरित नगर र स्वच्छ सफा नगरको रुपमा विकास गर्न एक सदस्य एक विरुवा, डष्टविन राखौं, आफ्नो फोहोर आफैं तह लगाऔं कार्यक्रम समेटेको उल्लेख गरिएको छ ।
उद्योग वाणिज्य र पर्यटन विकासका क्षेत्रमा काम गर्ने नीति लिएको नगरपालिकाले सहारा नेपालसँंगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । सो अवसरमा वडाध्यक्षहरु भोजराज सिटौला र नगेन्द्र संग्रौलाले आ–आफ्नो धारणा राखेका थिए ।