अग्र्यानिक स्वदेशी सागसब्जी उत्पादनमा जोड देऊ

0
686

तीर्थराज खरेल,

नेपाल सरकारले भारतबाट आयात गरिएका विषादीयुक्त सागसब्जीले नागरिकको स्वास्थ्यमा असर पारेको भन्दै विषादी परीक्षण गर्ने निर्णय गरेको केही समयपछि नै उक्त कदमलाई तयारी पूरा नपुगेको भनी हाललाई स्थगन गरियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर भन्सार नाकामा भारतबाट आएका ट्रकबाट नमूना निकाल्दै विषादी परीक्षण थाले पनि सो कामलाई भारतीय सरकारको अनुरोधमा रोकेपछि त्यसको नागरिक स्तरबाट समेत विरोध भएको छ ।

देशका आवश्यक ठाउँमा आवश्यक सुविधासहित आवश्यक संख्यामा क्वारेन्टाइन कार्यालय स्थापना गरिसकेपछि भारतबाट आयात गरिएका सागसब्जीको विषादी परीक्षण गर्ने सरकारको भनाइ रहेको छ । भारतीय राजदूतावासबाट तरकारीमा विषादी परीक्षण नगर्न गरिएको अनुरोधपत्र सम्बन्धमा प्रधानमन्त्री केपी ओली आफूलाई सम्बन्धित मन्त्रालय, सचिव तथा मन्त्रीहरुले जानकारी नदिएको भनी सार्वजनिक रुपमा माफी मागेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो धर्म अनुसार विगतमा आफ्ना पालामा गर्न नसकेका र नगरेका सबै काम बिर्सेर वा बिर्सेको भावमा वर्तमान सरकार भारतसामु झुक्ने तथाकथित राष्ट्रवादी भएको आरोप लगाएको छ । ‘खाँटी राष्ट्रवादी’ चाहिँ नेपाली कांग्रेस आफैलाई प्रमाणित गर्न खोज्दैछ ।

भारतको दबाबपछि पूर्वाधार नपुगेको भन्दै सरकारले विषादी परीक्षणको काम स्थगित गरेको भनी सरकारमाथि आम सर्वसाधारणको पनि आरोप छ । सरकारको यो कदमपछि सर्वसाधारण निकै रुष्ट भएका छन् । केहीले यसलाई सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार नभएको बताएका छन् भने केहीले सरकार भारततर्फ ढल्किएको बताएका छन् । विशेषगरी सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भइरहँदा केही व्यक्तिहरुले भने भारतबाट आयात हुने विषादीयुक्त तरकारीलाई निरुत्साहित गर्दै नेपालकै अग्र्यानिक तरकारी उत्पादनमा जोड दिएका छन् । वास्तवमा पाँच वर्षभित्रमा खाद्यान्नमा आत्मनिर्भर हुने सरकारको रणनीति हो भने नेपालमा सब्जीखेतीलाई व्यावसायिकीकरण र यान्त्रिकीकरण गर्न आवश्यक छ । सरकारको प्रोत्साहन नभई कृषक अगाडि बढ्न सक्ने गुञ्जायस छैन ।

स्वदेशी उत्पादनलाई बढावा दिइरहँदा नेपालमा पनि विषादीयुक्त तरकारी उत्पादन हुने हो भने फरक के भयो ? थोरै उपभोक्तालाई मात्र थाहा छ– बजारको सब्जी प्राणघातक छ भनेर । शहरियाहरुमा आफ्नो करेसाबारी छैन वा हुनेको पनि काम गर्ने जाँगर मर्दै गएको छ र तरकारी खेतीमा व्यावसायिक रुपमा क्रियाशील किसानहरु नै मानव स्वास्थ्यको ख्याल नगरिकन नाफा कमाउने ध्याउन्नमा लागेका छन् । कृषि मन्त्रालय र जिल्ला कृषि कार्यालयले तोकेका विषादीहरु प्रयोग नगरेर विषको मात्रा बढी भएका कीटनाशक औषधिको प्रयोग गर्ने क्रम झापा लगायत मुलुकभरमा ह्वात्तै बढेको छ । सरकारले निर्दिष्ट गरेका औषधिबाहेक अन्य विषादी चोरबाटोबाट आयात भइरहेको यथार्थ घामजत्तिकै छर्लङ्ग छ ।

पैसामै संसार देख्ने द्रव्यपिचासी मानसिकताबाट तरकारी कृषकलाई मुक्त गर्न नियमनकारी निकायले अन्य देशबाट आयातित सब्जीमा मात्र होइन, स्वदेशमै उत्पादित सब्जीको पनि परीक्षण आवश्यक छ । प्रयोग गरेपछि पनि २५ दिनभन्दा अगाडि खान नहुने सब्जीलाई किसानहरुले ४–५ दिनमै बजारमा ल्याउने गरेको पाइएको छ । चिल्ला र हेर्दा आकर्षक लाग्ने सागसब्जी बढी खतरनाक हुने अनुसन्धानले देखाएको छ । विषादी प्रयोगबाट निम्तिने धेरै समस्याहरु छन् । विषादीयुक्त सब्जीको प्रयोगबाट क्यान्सर तथा श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने चिकित्सकको भनाइ छ ।

विषादीयुक्त तरकारी र फलफूलको उपयोगबाट मानिसहरु विभिन्न रोगका शिकार भइरहेका छन् भने हजारौंले अकालमै ज्यान गुमाउनु परेको छ । किटनाशक औषधि तथा रासायनिक मलको प्रयोग बढी मात्रामा बाली उत्पादन गर्ने लक्ष्यबाट प्रेरित भएर गरिन्छ, तर तिनीहरुको प्रयोगबाट मानव स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने कसैले सोच्दैन । खाद्यान्न, सागसब्जी, चिया र फलफूलको ठूलो मात्रामा उत्पादन गर्न सकियोस् र बढी नाफा कमाउन सकियोस् भनेर मानव स्वास्थ्यको हेक्का नराखी जथाभावी रुपमा मानव स्वास्थ्यका प्रतिकूल हुने औषधिको अन्धाधुन्द रुपमा बिक्रीवितरण तथा प्रयोग हुँदै रहेकाले सर्वसाधारण उपभोक्ता पनि त्यसको शिकार भइरहेका छन् । नेपालमा अहिले तीन सय ५० मेट्रिक टनभन्दा बढी किटनाशक औषधि आयात हुने गरेको तथ्यांक छ । किसानहरुमा औषधिले पु¥याउने क्षति सम्बन्धी ज्ञानको कमी हुनु र चाँडै सम्पत्ति कमाउने ध्याउन्न हुनाले किटनाशक औषधिको प्रयोगमा बढोत्तरी भइरहेको हो । किसानहरुलाई किटनाशक औषधिको प्रयोगबाट मानव स्वास्थ्यमा कस्तो असर पर्छ र तोकिएको मात्राभन्दा बढी प्रयोग गर्दा कति भयावह अवस्था व्यहोर्नुपर्छ भन्ने आवश्यक जानकारी नहुनु पनि मुख्य समस्या हो ।

हामीले बढी मात्रामा उत्पादन गर्न मात्र प्रोत्साहन गर्ने होइन, गुणस्तरीय अग्र्यानिक सागसब्जी पनि उत्पादनमा जोड दिन आवश्यक छ । किटनाशक औषधिको प्रयोगबाट उत्पादित अन्न, सागसब्जी र फलफूलको उपयोगबाट क्यान्सर, मानसिक सुस्तता लगायतका अनेकौं रोग लाग्छ । जापान, अमेरिका जस्ता विकसित मानिने देशहरुमा पनि विषादीयुक्त खाद्यान्न, सागसब्जी, फलफूलको उत्पादनमा राज्यको तर्फबाट निगरानी राख्ने गरिएकोे छ । नेपालमा अवस्था अत्यन्तै पीडादायी र डरलाग्दो छ । नेपालका शहरी क्षेत्रमात्र होइन, सुदूर ग्रामीण भेगहरु पनि विषादीको प्रयोग हुने क्षेत्रमा परिणत हुँदै गएका छन् । मानिसलाई पैसा चाहिएको छ, अरुको स्वास्थ्य जेसुकै होस् भन्ने स्वार्र्थी भावनामा बढोत्तरी भइरहेको छ । कृषिको आधुनिकीकरण र व्यापारीकरण भनेको रायानिक मल र विषादीको प्रयोग गरेर बढी परिमाणमा उत्पादन गर्न सक्नलाई बुझिने अल्पज्ञानका कारण वा स्वार्थले वशिभूत भई द्रव्यको मोहपाशमा परी आम देशबासीको स्वास्थ्यमा ख्याल नगर्ने सोचका कारण आजको दूर्दशा आएको हो ।

वास्तवमा किसानहरु पनि मारमा छन् । मलखादका बारेमा, बीऊका बारेमा, खेतीका बारेमा, उत्पादपछि बजारीकरण, बैंकबाट ऋण लिने, सिञ्चाइको सुविधा लगायतका सम्पूर्ण पक्षमा किसानले नै चिन्तित हुनुपर्ने नेपालमा स्थिति रहेको छ । इजरायल, अमेरिका लगायतका देशमा किसानको जिम्मा उत्पादन गर्ने मात्र हो, बाँकी काममा अन्य निकाय सक्रिय हुन्छन् । किसानलाई न उन्नत बीऊबिजनको चिन्ता हुन्छ, न मलखादको चिन्ता । नेपालमा हरेक गतिविधिमा किसान नै चिन्तित हुुनपर्ने कारणले रासायनिक मलखाद र प्रतिबन्धित किटनाशक तथा रोनाशक विषादी प्रयोग गरेर उत्पादन बढाउने सर्टकट वे अर्थात् छोटो बाटो लिन पुग्छन् । नेपाली कृषक, जसको परिणाम आजको भयावह अवस्था सृजेको हो । उत्पादन बढाउने ध्याउन्नमा अत्याधिक विषको प्रयोग हुँदै आएको छ । मानिसको स्वास्थ्य र वातावरणीय प्रभावलाई ख्यालै नगरी जथाभावी रासायनिक मलखाद, किटनाशक तथा रोगनाशक औषधिको प्रयोग गरेकै कारण आजको भयावह अवस्था देखिएको हो ।

यहीक्रम जारी राख्ने हो भने त्यसरी उत्पादन गरिएका खाद्यान्न तथा सागसब्जी र फलफूलले दीर्घकालीन रुपमा मानवजातिको वंशानुक्रमलाई नै असर पु¥याउँछ । कृषि, वातावरण तथा विकासको क्षेत्रमा क्रियाशील संघ–संस्था तथा व्यक्तिका लागि किटनाशक औषधिको बढ्दो प्रयोग चिन्ताको विषय भएको छ । रासायनिक मल तथा किटनाशक औषधिको प्रयोगमा न्यूनीकरण गर्दै विषादीरहित फलफूल, सागसब्जी तथा अन्न उत्पादन गर्ने लक्ष्यका साथ नेपाल तथा अन्य देशहरुका विशेषज्ञहरु लागिरहेका छन् । किटनाशक औषधिका दुष्परिणामहरु व्यहोर्न निकै डरलाग्दो र कष्टपूर्ण हुन्छ मानिसका लागि । यसको परिणाम आगामी पुस्तामा पनि पर्ने निश्चित छ । स्थिति कति डरलाग्दो छ भने नेपाल सरकारद्वारा रेड लेबल लागेका प्रतिबन्धित विषादीहरु मोनोकोटाफोस, टुपोन्ड, कोराजीन, मिराकुलेन स्प्रीड, सुपर किलर, रोगर आदि विषादीहरु अत्यधिक मात्रामा बिक्रीवितरण तथा प्रयोग भइरहेका छन् । यस्ता औषधिहरु प्रयोग गरी उत्पादन गरिएका बन्दाकोबी, फूलकोबी, काँक्रा, टमाटर, सिमी, हरियो सागपात आदि सागसब्जीले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने कृषि विशेषज्ञहरुको भनाइ छ ।

रेड लेबल औषधिहरु प्रतिबन्धित भए पनि भारतबाट लुकीछिपी चोरी बाटोबाट किसानसम्म पुग्ने गरेको पाइएको छ । विषादीको प्रयोगबाट वातावरणीय असन्तुलन र पारिस्थितिक प्रणालीमा गडबडी हुने र किटनाशक औषधि तथा रासायनिक मलखादमा पूर्ण रुपमा निर्भर हुँदै जाँदा समाधानबिनाको भयावह भविष्यतर्फ लम्किरहेका छन् किसानहरु । विदेशी र महंगा किटनाशक औषधिमा भरपर्दा कृषि क्षेत्रको भविष्य अन्धकार हुन्छ र किसानहरु सदैव अरुको मुख ताक्न बाध्य हुनुपर्छ । साँच्चै भन्ने हो भने हामीहरु नाजुक वर्तमान र भयावह भविष्यको मझधारमा उभिएका छौं । वातावरणीय असरको त कुरै नगरौं । रासायनिक मल तथा किटनाशक औषधिको प्रयोगले वायुप्रदुषण, जलप्रदुषण र माटो प्रदुषण गराउँँछ । विषादी प्रयोगमा सावधानी नअपनाउँदा माटो, जल तथा वायुप्रदुषण भएर असम्बन्धित मानिसलाई पनि शिकार बनाउँछ यसले ।

विषादी भाँडोमा भर्दा, सफा गर्दा, छर्किंदा र औषधि बाहिर फाल्दा प्रदुषण हुने र पानीका स्रोतमा मिसिएर मानव स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्छ । बलौटे माटोमा पानी लामो समयसम्म सतहमा रहने नसक्ने भएकाले ट्यूबवेल तथा इनारमा सजिलै विष मिसिने गर्छ । दोमट माटो भएका ठाउँमा विषादी जमिनमै रहने र इनारमा वा नदीमा मिसिने हुन्छ । विष वा रसायन जमिनमुनी गए पनि वा जमिनमाथि रहे पनि बेफाइदा नै हुन्छ सबैका लागि । समस्याको गम्भिरता ग्रहण गर्न नसक्नु एउटा समस्या हो, लागेको बानी कसले छोड्ने भन्ने अर्को समस्या हो, चेतनाको कमी अझ डरलाग्दो समस्या हो । समुदायमा चेतनामा कमी भएकाले यस्ता गतिविधिहरु भइरहेकोमा सन्देह छैन । विषादी प्रयोगमा लापरबाही बढ्दै जाने हो भने विकास र निर्माणका जतिसुकै कुरा गरे पनि साँचो अर्थमा मानव सभ्यता अधोगतितिरै गएको मान्नुपर्छ ।

थाहा भएर पनि बुझपचाएर वा बिकल्प नभएर विषादीको प्रयोग गर्नुपरेको वा विषादीको प्रयोग गरिएका फलफूल वा तरकारी प्रयोग गर्नुपरेको यथार्थ आम उपभोक्ताको छ । निरीह छन् उपभोक्ताहरु– उनीहरुको पक्षमा राज्य छैन, सरकार छैन, कानून छैन र त उनीहरु निराश छन् । विभिन्न एग्रोभेटबाट विष बेचिने काम जारी छ । समस्या भारतबाट आयातित सागसब्जीमा मात्र होइन, नेपालमा उत्पादन भइरहेका सागसब्जीमा ठूलो छ भनेर बुझेपछि मात्र साँचो अर्थमा विषादीविरुद्धको अभियान सही गोरेटो पक्डन सक्छ । नाफाका लागि जेसुकै पनि गर्ने क्रियाकलाप बन्द हुनैपर्छ । विष प्रयोगको क्रम नरोकिएसम्म मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने क्रम जारी रहनेछ । विषादीले किसानलाई मात्र होइन, सबैलाई दुष्परिणाम दिन्छ, यसको प्रयोगले विक्रेता, सञ्चयकर्ता वा उपभोक्ता सबै रोगका शिकार हुन्छन् ।

प्रांगारिक, जैविक तथा प्राकृतिक किटनाशक औषधिको उत्पादनलाई तीव्रता दिनुपर्छ । विद्यालय शिक्षाको पाठ्यक्रममा विषादीको प्रयोगबाट हुने बेफाइदा तथा प्रयोग गर्न अपनाउनुपर्ने उपायहरु समावेश गरेर पठनपाठनको व्यवस्था मिलाउनुपर्छ । विषादीको उत्पादन तथा आयातलाई निरुत्साहित गर्नुपर्छ । नीति–निर्माणको तहमा हुनेहरुले विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै जैविक विषादीको उत्पादन तथा बिक्रीवितरण र उपयोगमा लाग्न किसानहरुलाई प्रोत्साहित गर्ने ऐनकानून तथा नीति–नियम बनाउनु आवश्यक छ । दश वर्षे आन्तरिक युद्धमा २० हजार बढी नेपाल आमाका छोराछोरी शहीद भए, बेपत्ता पारिए, तर विषादीयुक्त खाद्यान्नका कारण लाखौं मानिस हरेक दिन, हरेक समय मर्नु परिरहेको छ ।

गृहयुद्ध वा द्वन्द्वभन्दा पनि विषादीयुक्त सागसब्जी मानवजातिका लागि बढी डरलाग्दो हुन्छ भन्ने सच्चाइलाई हामी सबैले आत्मसात गर्नु जरुरी छ । आफूले खाने एउटा र उपभोक्ताका लागि अलग तरकारी उत्पादन गर्ने परिपाटी बन्द हुनुपर्छ । परीक्षणका आधारमा जैविक विषादी प्रयोग गरी अग्र्यानिक सागसब्जी उत्पादन गर्ने किसानलाई आर्थिक रुपमा प्रोत्साहित गर्दै त्यस्ता किसानको प्रतिष्ठा माथि उठाउने कार्यक्रम सञ्चालन गरिनुपर्छ । रासायनिक मलको विकल्प प्रांगारिक तथा कम्पोष्ट मल र रासायनिक विषादीको ठाउँमा जैविक विषादी हो । कुरोको चुरो भनेको अबको बाटो स्वदेशमै अग्र्यानिक उत्पादन हो भन्ने सच्चाइलाई सबै पक्षले आत्मसात गर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here