बम राख्ने तीन जना थुनामा

0
774

बिर्तामोड।

गत वैशाख २९ गते झापाको कनकाई नगरपालिकास्थित कनकाई पुलमा विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका पाँच जनामध्ये तीन जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

उक्त घटनामा संलग्न भएको भन्दै प्रहरीले हल्दिबारी गाँउपालिका–७ का २७ वर्षीय दीपेश न्यौपाने, दमक नगरपालिका–१ का ४२ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल, संखुवासभा घर भई मोरङको सुन्दरहरंैचा नगरपालिका–७ बस्ने २१ वर्षीय कमल भनिने लालमणि कर्णखर कोइराला, शिवसताक्षी नगरपालिकाका ६४ वर्षीय चौहान साइँला भनिने रामचन्द्र चौहान र मोरङको उर्लाबारी नगरपालिका–१ का १९ वर्षीय मनिष माझीलाई प्रहरी पक्राउ गरेको थियो ।

पक्राउ परेका पाँचै जनाविरुद्ध प्रहरीले विष्फोटक पदार्थ तथा संगठित अपराधसम्बन्धी मुद्दा दायर गरेको थियो । जसमध्ये जिल्ला अदालत झापाले खरेल,कोइराला र माझीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ भने न्यौपाने र चौहान एक लाख ५० हजार रुपैंँया धरौटी बुझाएर रिहा भएको प्रहरीले जनाएको छ ।

झापामा आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी सक्रिय भएर लागेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक दिनेशराज मैनालीले बताए । उनले अपराध गर्नेहरुलाई प्रहरीले नछाड्ने बताए । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कनकाई पुलमा प्रेसरकुकरलाई बोराले बाँधेर तार समेत जडान गरेर राखिएको अवस्थामा फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित स्थानमा लगेर डिस्पोज गराएको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here