झापासहित देशभर साइबर अपराध बढ्दै, न्याय कठिन

0
1404

नरेन्द्र ढकाल / बिर्तामोड।

झापाको भद्रपुरकी अस्मिता (नाम परिर्वतन) ले आफ्नै श्रीमान केशव अधिकारीविरुद्ध उजुरी गरिन् ।  घटना थियो –श्रीमानले आफ्नो नामको फेसबुक आईडी बनाएर कुमार खनाल नामक व्यक्तिसँग अश्लील भाषाशैली प्रयोग गर्दै च्याट गरी यौन उत्तेजनात्मक भाषाशैली प्रयोग गरेर बदनाम गर्न खोजेको । आफ्नो आईडी बनाएर बदनाम गराउन खोजेको भन्दै अस्मिताले साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गरेपछि प्रहरीले केशवलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर काठमाण्डौं पठायो । यो घटना हो गत असार ९ गतेको हो ।

त्यस्तै बिर्तामोडमा रहेको इलाका प्रहरी कार्यालय अनारमनीमा तत्कालीन प्रहरी नायब उपरीक्षक सुवास खड्काको कुर्सीमा बसेर ‘टुडे आई एम दी पुलिस डीएसपी’ लेखेर सामाजिक सञ्जालमा हाल्ने हर्कराज गुरुङ भन्ने ओस्मान ओसाङ डानियल गुरुङलाई प्रहरीले पक्राउ ग¥यो । उनलाई प्रहरीले विद्युतीय ऐन अन्तर्गत साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता ग¥यो । यो घटना गत वैशाख २८ गतेको हो । यस्तो घटना बढ्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।

साइबर अपराध सम्बन्धी उजुरी प्रहरीले काठमाण्डौंस्थित साइबर अपराध महाशाखा काठमाण्डौंले मात्र लिने गरेपछि झापासहितका अन्य जिल्लाका पीडितले भने पीडामाथि पीडा खप्नु परेको छ । काठमाण्डौंसम्म जान सक्नेहरुले गएर उजुरी दर्ता गरेर साइबर अपराध गर्नेहरुलाई कानूनी दायरामा ल्याउने गरेपनि पहुँच नपुग्नेहरुले पीडित भएर पनि आफ्नो पीडा लुकाएर बाँच्न बाध्य भएका छन् । छोटो समयमा नेपालले प्रविधिमा ठूलो फड्को म¥यो । प्रविधिले धेरैको जीवन सहज बनाएको छ भने सामाजिक कलह, हिंसा, दुब्र्यवहारका घटना पनि बढाउँदै लगेको प्रहरीको विश्लेषण छ ।

नेपालको विद्युतीय कारोबार ऐन– २०६३ ले कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने लगायतका कामलाई विद्युतीय कसूर भनी परिभाषित गरेको छ ।

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध मानिन्छ । पछिल्लो समय झापासहित देशभर साइबर अपराधका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

प्रविधिको प्रयोग गरेर सामाजिक काम गर्नेहरु पनि रहेको र धेरै जसो आपराधिक मनस्थिति बनाएर अर्काको चरित्र हत्या गर्न उद्धत रहेको पाइएकाले पछिल्लो समय सामाजिक सञ्जाल चुनौतिको विषय बनेको प्रहरीको भनाइ छ । मन मिल्दा सबै अश्लील हर्कत गर्ने र शारीरिक सम्पर्क गरेको भिडियो बनाएर राख्ने मन नमिल्दा फेसबुकमा राखेर चरित्र हत्या गर्ने क्रम बढेको उजुरीहरु प्रहरीसमक्ष आउन थालेको प्रहरीले जनाएको छ ।

यस्ता भिडियो बनाएर मानसिक यातना दिएको र चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी दिनेको संख्या बढ्न थालेको केन्द्रीय साइबर ब्युरोले जनाएको छ । झापामा यस्ता उजुरी आउने गरेपनि आफूहरुले केन्द्रीय साइबर ब्युरोमा उजुरी गर्न आग्रह गर्ने गरेको प्रहरी उपरीक्षक मैनालीले बताए ।

साइबर सम्बन्धी उजुरी राजधानीमा मात्रै लिइने भएकाले पीडित आफैं काठमाण्डौं जानुपर्ने बाध्यता रहेको बताइएको छ । चालू आर्थिक वर्ष २०७५–७६ मा ३८ वटा उजुरी आएपनि ३६ वटा उजुरी केन्द्रीय साइबर ब्युरोमा पठाइएको प्रहरी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रहरी उपरीक्षक मैनालीका अनुसार विशेष गरी युवा–युवती सामाजिक सञ्जालमार्फत चिनजान हुने, प्रेमका कुराहरु हुने, विश्वास बढ्दै गएपछि अश्लील फोटो तथा भिडियो आदानप्रदान गर्ने र कुनै समयमा एक आपसमा मन नमिलेको खण्डमा तिनै फोटो तथा भिडियोलाई सार्वजनिक गरिदिने, धम्की दिने जस्ता क्रियाकलाप हुने गरेको पाइएको छ । यसरी सार्वजनिक भएका सामग्रीले व्यक्तिगत मानसम्मान र सामाजिक प्रतिष्ठामा आघात पुग्ने भएकाले कतिपयले आत्महत्या गरेको उदाहरणहरु पनि रहेका छन् । साइबर अपराध महाशाखामा गएको साउनदेखि फागुन महिनासम्म आएका उजुरीमा २० देखि ३० वर्षसम्मका लगभग ४० प्रतिशत, त्यसपछि ३० देखि ४० वर्षसम्मका लगभग ३० प्रतिशत, २० वर्षमुनिका २२ प्रतिशत र ४० देखि ६० वर्षसम्मका लगभग ८ प्रतिशत पीडित रहेको तथ्याङ्क छ ।

साइबर अपराध सम्बन्धमा महानगरीय प्रहरी अपराध महाशाखाको २०७५ साल साउनदेखि २०७६ साल जेठ महिना सम्मको तथ्यांक हेर्दा पीडितहरुमा महिला धेरै रहेका छन् । प्रत्येक महिनामा परेका उजुरी अनुसार औसतमा पुरुषभन्दा महिला दोब्बर वा त्यसभन्दा बढी रहेको भेटिएको प्रहरीले जनाएको छ ।

साइबर अपराधका घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले विद्यार्थी लक्षित कार्यक्रमहरु सञ्चालन शुरु गरेको छ । प्रहरी उपरीक्षक मैनालीले हालसम्म दर्जनबढी विद्यालयमा साइबर अपराध र यसबाट बच्ने उपाय तथा नेपालको कानूनका विषयमा विद्यार्थीलाई जानकारी गराइसकेका छन् ।

विद्यालय तहमा नै यस्ता कक्षाहरु सञ्चालन गरिनु पर्ने भन्दै प्रहरी उपरीक्षक मैनालीले भने–रमाइलो गर्ने बहानामा धेरैको जीवन बर्बाद हुँदैछ, बेलैमा सचेतना नअपनाए यसले डर लाग्दो अपराधको बाटो लिनसक्छ । इन्टरनेट, मोबाइल तथा कम्प्युटरका माध्यमबाट हुने यस्ता अपराधका घटना सामाजिक डर वा लाजका कारण लुकाएर नबस्न र सकेसम्म छिटो प्रहरीमा उजुरी गर्न प्रहरीको सुझाव छ ।

मोबाइल, इन्टरनेट र कम्प्युटरका माध्यमबाट हुने क्रियाकलापहरु निगरानी गर्न मिल्ने भएकाले सबैमा अनावश्यक, अश्लील र अरुलाई अप्ठ्यारो पर्ने क्रियाकलाप नगर्न पनि प्रहरी उपरीक्षक मैनालीले आग्रह गरेका छन् । प्रहरीले उजुरी गर्न भनेपनि साइबर अपराधका उजुरी राजधानी बाहिरका प्रहरी कार्यालयले नलिने भएकाले पीडित आफैं राजधानीसम्म जानुपर्ने बाध्यता रहेको छ । केही पीडित राजधानी जानेगरेपनि अधिकांश पीडा सहेर नै बस्ने तथा आत्महत्याको बाटो रोज्ने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here