प्रविधिको विकास र मानिसको व्यस्तता

0
582

संगीता रौनियार,

आजभोलिको आधुनिक र हाइटेक जीवनशैलीका कारण मानिस दिनरात मेसीन सरह काम गरेर आय–आर्जनतिर लागिरहेका छन् । काम गर्दा–गर्दा ऊ समयमा खान, समयमा सुत्न, उठ्नु यहाँसम्म कि हाँस्न पनि बिर्सिसकेको आभाष हुन्छ । पैसाको पछाडि लाग्दा आफ्नो स्वास्थ्यको चिन्ता छैन । परिवार, बालबालिकाका लागि समय छैन । ऊ आन्तरिक खुशीभन्दा आधुनिक र कृत्रिम खुशीतिर दौडी रहेको छ । तर, जीवनलाई आनन्दमय र सुखी बनाउनका लागि कहिलेकाहीँ सानो–सानो कुरामा पनि खुशी हुन जरुरी छ । किनभने कहिलेकाहीँ सानो–सानो कुराबाट प्राप्त हुने खुशीले हाम्रो जीवनलाई अझ प्रगाढ र मजबुत बनाइ दिन्छ । यस्तो सानो खुशीले हाम्रो निराश जीवनमा उमङ्ग र तरङ्ग भरिदिन्छ ।

तपाईं आफै विगतलाई फर्केर हेर्नुहोस् पहिला मानिस धन थोरै भए पनि कति खुशी हुने गर्थे । उनीहरुबीच माया, सद्भाव र एकअर्काको लागि सद्भाव हुन्थ्यो । तर, आजभोलि मानिसलाई आफ्नो परिवारको निमित्त पनि समय छैन । पहिला घरका सदस्य जमघट हुँदा भलाकुसारी गर्थे, एकअर्काको हालखबर सोध्थे । तर, अब कसैको घरमा जानुहोस् अहिले त खबरखाबर सोध्ने, सन्चो–विसन्चो सोध्नेभन्दा पनि इन्टरनेटको पासवर्ड हतारिँदै माग्छन् । आगन्तुक र उनीहरु जमघटमा रमाइलो गर्नुभन्दा बढी समय मोबाइलमा बिताउँछन् । अहिलेको समयमा मानिस टेलिभिजन, मोबाइल इन्टरनेट, ल्यापटप अन्य ग्याजेट सामग्रीको कारण आत्मकेन्द्रित हुँदै गएको छ । मानिस आफ्नो सामाजिक दायरालाई संकुचित गरेर आत्मकेन्द्रित भइरहेको छ । तर, अब हामी आफ्नै जीवनलाई अझ रमाइलो र उपयोगी बनाउनका निमित्त आफ्नो जीवनशैलीमा केही सुधार गरेर जीवनको वास्तविक सुखको आनन्द लिन सक्छौं । त्यसका लागि यस्ता कुरामा विचार गर्नुपर्छ :

– तपाईं कहिलेकाहीँ उदाउँदो सूर्यलाई हेर्नुहोस वा सूर्यलाई बादलको पछाडि जाँदै गरेको दृश्य हेर्नुहोस् । बिहान चराचुरुंगीको मिठो चिरविर–चिरविरको आवाज सुन्नुहोस् । आजभोलि राति १२ बजे सुत्नु बिहान ७–८ बजे उठ्दा यस्तो दृश्य नेदेख्नेहरुले कहिलेकाहीँ बिहान उठेर यस्तो दृश्यको आनन्द लिनुहोस् तपाईलाई खुशी प्राप्त हुन्छ ।
– कहिलेकाहीँ कुनै साधारण वा मूल्यवान वस्तु हराएको हुन्छ जति खोज्दा भेट्दैन, तर अकस्मात केही दिन पश्चात भेटिन्छ । त्यसबेला हामीलाई कति खुशी लाग्छ । त्यस्तै कहिले दराज सफा गर्दा पैसा भेटिन्छ जुन हामीलाई याद नै हुँदैन यस्तो पैसा भेट्दा हामीलाई बेग्लै आनन्द हुन्छ ।
– कहिलेकाहीँ कुनै कुरा सम्झेर उदास हुन्छौं, तर कुनै सानो बालबालिकाको निश्चल मुस्कान र मायाले हाम्रो सम्पूर्ण दुःख–पीडा हराउँछ । खुशी पनि एक प्रकारको संक्रामक रोग जस्तै हो, यसलाई नरोके यो रोग सबैमा फैलिन्छ । यो सरुवा रोग हो । यो एक मुटुबाट अर्को मुटुमा जान्छ । तर, हामी अहम् र द्वैषको कारण अरुसँग खुलेर हाँस्न, बोल्न बन्देज गर्छांै । खुशी मानिसबाट प्राप्त हुँदैन, यो अन्जान मानिसको एक मुस्कानबाट पनि प्राप्त हुनसक्छ ।
– बाल्यकालको बेला आमा–बुबासँग घुम्न जाँदा बस, रेलगाडी, हवाइजहाजको झ्याल छेउमा बसेर बाहिरको दृश्य हेर्र्दै गरेको सम्झना सबैको मन–मस्तिष्कमा सँधै व्याप्त रहन्छ । सानोमा पानी पर्दा कागजको नाउ चलाउँदै गरेको सम्झना । सानो भाइ–बहिनीसँग गरेको प्रेम, झगडा लगाइएको कुरा जहिल्यै सम्झिँदा मन हर्षित र प्रफुल्लित हुन्छ । त्यसकारण फुर्सदमा यस्तो कुरा याद गर्दै गर्नुुहोस् ।
– तातो घाममा जीऊबाट पसिना बगिइरहेको हुन्छ । यस्तो अवस्थामा पंखाको मुनी बस्दा पनि करेन्ट नहुँदा पंखा चल्नैद । तर, अकस्मात विद्युत् आएर पंखा चल्दा हामी कति आनन्दित हुन्छांै । त्यस्तै चिसो हावाको साथ पानी पर्दा त्यो पानीको स्पर्शले अचानक हाम्रो अनुहारमा खुशी ल्याइदिन्छ । त्यस्तै बाहिर केटाकेटीहरुले फुटबल खेलिरहेको हुन्छन्, त्यो बल अकस्मात हाम्रो अगाडि आउँदा हामी एक किक मारेर बल फर्काउँछौं त्यसबेलाको खुशी हामी लाखौं खर्चेर पनि किन्न सक्दैनांै । त्यसबेला हामीभित्रको बच्चा हाँसी रहेको हुन्छ । परिस्थिति जस्तो होस् आफूभित्रको बच्चालाई नमार्नुहोस्, सधै खुशी रहनुहोस् ।
– ठूलो शहरमा गाडी चलाउँदा ट्राफिक जाम हुँदा बाटोमा बालबालिका, वृद्धवृद्धा फूल, पर्स, बेलुन लगायतका सामग्री बेचिरहेको हुन्छन् । आवश्यकता नहुँदा पनि उनीहरुलाई सेवा र सहयोगका उद्देश्यले केही खरिद गरिदिनुहोस् । तपाईंको सानो सहयोगले उनीहरुले तपाईंलाई आर्शीवाद दिन्छन् । र, यो कार्य गर्दा तपाई आफै खुशीले भावविभोर हुन सक्नु हुन्छ ।
– तपाईं घरमा हुनुहुन्छ वा बाहिर हुनुहुन्छ, कसैलाई रगतको आवश्यकता हुन्छ, रक्तदान गर्नुहोस् । तपाईंको सानो सहयोले कसैले जीवनदान पाउँछ । अनाथहरुको सहयोग, वृद्धवृद्धाको सहयोगले हामीलाई आन्तरिक खुशीको साथ मानसिक खुशी र सन्तुष्टि पनि प्रदान गर्दछ । मानव सेवा गरे वापत मानिसले आत्मसन्तुष्टि प्राप्त गर्छ ।
यो जीवन र यो शरीर एकपटकको लागि मात्र हामीले प्राप्त गरेका छौं । त्यसकारण यस जीवनमा हामी एकआपसमा प्रेम, माया, सद्भाव, सहिष्णुताको साथ बाँच्नुपर्छ । भोलि के हुन्छ कसैलाई थाहा छैन । तर, त्यही भोलिका लागि हामी निरन्तर पैसाको पछाडि दौडिरहेका छौं, त्यो पैसाले आवश्यकता पूर्ण हुन्छ । वास्तविक खुशी हुँदैन । पैसा हुँदाहुँदै पनि शरीरमा रोग लाग्यो भने सबैथोक हुँदा खान मन लागेको कुरा खाना सकिँदैन । राम्रो ओछ्यान हुँदाहुँदै पनि भुइँमा सुत्नुपर्छ । खानेकुराको व्यञ्जन हुँदा पनि सुख्खा रोटी खानुपर्छ । त्यसैले आफू खुशी र सुखी हुनुभयो भने स्वस्थ रहनुहुन्छ ।

घरपरिवारलाई बेवास्ता गरेर दिनरात कामको व्यस्तताले श्रीमतीलाई समय नदिँदा ऊ परपुरुषतिर लम्किन्छिन् अनि छोराछोरी पनि कुन बाटो गइरहेका छन् थाहा हुँदैन । त्यसकारण सचेत हुनुपर्छ । प्रकृतिको नियम अँगालेर अघि बढ्नुपर्छ । पैसा जरुरी छ । तर, आवश्यकताभन्दा बढी पक्कै होइन । त्यसकारण ठूलो खुशीको बाटो पर्खिनुभन्दा सानो–सानो कुरामा खुशी खोजी गरेर जीवन आनन्दका साथ बिताउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here