बाटो नबिराऔं

0
430

प्रविधिको विकासले मानिसलाई अल्छी मात्र होइन भोगी र विलासी समेत बनाएको छ । विकास परिवर्तनको क्रम भनिन्छ र यो दिनहुँ भइरहने नियमित प्रक्रिया हो । कसैले गरेर वा रोकेर यसको गतिलाई थुनछेक गर्न सकिँन्न । तर, उपयोग ठीक ढंगले र ठीक ठाउँमा गरिएन भने यसका नकारात्मकता भने असरल्ल छरिन्छन् । कतिपय अवस्थामा मानव जातिले प्राप्तिलाई सकारात्मकताका निम्ति उपयोग गरेको छ । त्यसकै उदाहरण हो अनेक आविष्कार र त्यसले दिएको परिणाम । जस्तो कि औषधिहरु खोजिएका छन्, प्रयोगबाट रोगी–विरामीहरुले नयाँ जीवन प्राप्त गरेका छन् । त्यस्तै उपयोग ठीक ठाउँमा नहुँदा तिनै उपलब्धी मानिसको जीवन लिने कारण पनि बनिएका छन् ।

त्यसो त मानिस स्वयम् नकारात्मकताको पूञ्ज हो । थोरै मात्र रहेको सकारात्मकताले नकारात्मकतालाई आफू अधिन बनाउँदा प्राप्त उपलब्धी मानिसकै लागि सहायक, सहयोगी र परिपूरक बनिएका पनि छन् । उपलब्ध स्रोत र साधनलाई कतिसम्म मानवोपयोगी कर्ममा लगाउन सकिन्छ त्यसकै आधारमा उसको श्रेष्ठताको गणना गर्ने गरिन्छ । तर, सबैमा यो लागू हुँदैन जसका कारण मानवोचित गुण क्षय हुन्छ र गणनायोग्य पनि बनिँदैन । त्यसकै उदाहरण बनिएका छन्, हाल घटित अपराधका घटनाहरुका श्रृंखला ।

यतिबेला ठगी, हिंसा, दुराचार, दुव्यर्सन र दुनिर्यतका घटनाहरु जताततै असरल्ल पोखिएका छन् । त्यसलाई सूचना प्रविधिले गोडमेल गरेको छ र अपहरण, लुटपाट जस्ता मानवताविरोधी गतिविधिले प्रश्रय पाइरहेको छ । त्यसैगरी वर्ग विभाजनको खाडल गहिरो बनाउने, हिनताबोध हुने प्रकृतिका प्रतिस्पर्धाहरु हुन थालेका छन् । परम्परागत संस्कार र संस्कृति, पुर्खादेखि मान्दै आएका प्रचलन, पद्धतिहरु पूरातन भन्दै नवीनता खोज्ने नाममा कुहिरोमा हराएको काग बनाउँदैछ खासगरी हामीलाई । जन्मदेखि मृत्युपर्यन्तका संस्कार र संस्कृतिमा नवीनता खोज्ने एकमात्र जाति बनिएका छौं तर देखावटीपन र आडम्बरका लागि ‘हरियो’ र मेहन्दीको महिनाका नाममा करोडौं रुपैयाँ लुटाइरहेका छौं ।

चाड–पर्वहरुका कारण हिन्दू संस्कृति समृद्ध छ । थुपै्र पर्वहरु छन् जसले मानवीयता, सहृदयता, सद्भाव, प्रेम र सहिष्णुता सिकाएका छन् तर हामी त्यस विपरीत आफू अनुकूलका, आधुनिक प्रविधिसँग जोडेर अनि आडम्बरी चरित्र प्रदर्शन गर्दैछौं । जन्मदिन मनाउने होस् वा विवाह अथवा मृत्युसंस्कारका परम्परागत मूल्य र मान्यतालाई कति आत्मसात गरिरहेका छौं– आफैंलाई सोध्ने बेला आएको छ । आयातित वस्तुको उपयोगमा खर्च गरेर, लौंकिक वस्तुका पछि दौडेर मौलिकताको रक्षा हुँदैन– सबैले बुझ्नु पर्दछ । चुरा, पोते, कपडा र श्रृंगारका यस्तै वस्तुले साउनको महिमाको गायन हुँदैन न त संस्कृतिको रक्षा हुन्छ । त्यसैले पनि प्रत्येक वस्तुको उपयोगिताको मूल्यांकन गरेर जातीय गौरव र मौलिकताको रक्षा गर्नेतर्फ सबैको प्राथमिकता देखिनुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here