सुरुङ्गा।
बर्खा याममा दक्षिणी झापा गाउँपालिकाको ५ वटा वाडवासीहरुको भेट हुन मुस्किल थियो । भेटघाट गर्नका लागि कि ठूलो जोखिम मोलेरै सानो माई तरेर वारिपारि गर्नु पथ्र्याे कि त २२ किलोमिटरको दुरीमा रहेको सुरुङ्गा बजारमै पुग्नु पथ्र्यो । तर यस बर्षको बर्खायाममा भने यस क्षेत्रका स्थानीयले यति धेरै सास्ती खप्नु परेन ।
सांसद एलपी साँबा लिम्बूको सांसद स्थानीय विकास पूर्वाधार कोषको ५५ लाख र स्थानीयको २० प्रतिशत रकम बरावरको जनश्रमदानबाट झापा गाउँपालिका –७ र ६ को बीचमा रहेको सानोमाईमा बक्स पुल हालिएपछि यस गाउँपालिकाका प्रायः सबै वार्डबीच आवतजावत सहज भएको छ ।
दुई बर्ष पहिले यस क्षेत्रमा रहेका दुई ठूला खोलाहरु माई र विरीङ नदी तथा अन्य सानाठूला भङ्गालोहरुले बगाएर एउटै गाउँपालिकाका ११ जनाको ज्यान गएपछि स्थानीयवासी बर्खाको याममा नदीबाट थप प्रताडित थिए ।
स्थानीय उपभोक्ताद्वारा निर्माण गरिएको सो वक्स पुलको संघीय सांसद लिम्बू तथा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह र उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले विशेष कार्यक्रमका बीच उद्घाटन गरे । कार्यक्रममा बोल्दै सांसद लिम्बूले आगामी बर्षमा गाउँपालिका र संघीय सांसदको आधा–आधा रमकमा झापा गाउँपालिकाभित्र थप दुईवटा यसप्रकारका पुल लगाई छाड्ने र कम्तीमा झापा गाउँपालिकावासी बर्खायाममा डुबेर मृत्यु भएको समाचार सुन्नु नपर्ने उनले आश्वासन दिए । उपभोक्ता समितिका अध्यक्ष गजेन्द्र ताम्लीले बक्सपुल निर्माणमा इञ्जिनियरले गलत इष्टिमेट बनाइदिएका कारण उपभोक्ता समितिको ठूलो क्षति बेहोर्नु परेको बताए ।
आफूहरुले बनाएको पुल सरकारले ठेकेदार कम्पनीमार्फत बनाउँदा २ करोडभन्दा माथि लागत लाग्ने समेत अध्यक्ष ताम्लीले दावी गरे । पुल निर्माणसँगै झापा गाउँपालिका वार्ड नम्बर १,२,३,६ र ७ नम्बरका वासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । पुल नहँुदा यस क्षेत्रमा बर्खामा एम्बुलेन्स लगायतका अत्यावश्यकीय साधन जाँदैन थियो । जसका कारण विरामी तथा विद्यार्थीले समेत असुविधा भोग्नु परेको झापा गाउँपालिका वार्ड नम्बर –७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले बताए ।































