अझै गौरीगञ्जवासीले शुद्ध खानेपानी पाएनन्

0
947

दमक ।

झापाको गौरीगञ्जस्थित खानेपानी आयोजना निर्माण शुरु भएको १८ बर्ष र खानेपानी वितरण शुरु गरेको ७ बर्ष बित्न लाग्दा पनि उपभोक्ताले शुद्ध पानी पाएका छैनन् ।

निर्माण शुरु भएको दुईदशक पुग्न लाग्दा समेत स्थानीय उपभोक्ता समितिलाई खानेपानी आयोजना हस्तान्तरण हुन सकेको छैन । यहाँबाट वितरण भएको खानेपानी स्थानीयले फिल्टर गरेर मात्र खानुपर्ने बाध्यता रहेको भन्दै उपभोक्ताले आक्रोश पोखेका छन् । चार हजार धाराभन्दा बढी क्षमता रहे पनि ३ सय ४९ वटा धारा जडान भएको र मिटर जोडिएका घरहरुबाट अधिकतम् २ सय रुपैयाँ उठाउने गरेको पाइएको छ । फिल्टर गरेर पानी खानुपरे पनि तोकेको २ सय रुपैयाँ नियमित रुपमा बुझाएका छौं– वडा नं. ३का उपभोक्ता हुलासचन्द्र राजवंशीले बताए ।

कहिले लेदो आउँछ त कहिले रातो पानी आँउछ, त्यही भएर घरेलु प्रविधिबाट फिल्टर बनाएर प्रयोग गर्दै आएका छौं– राजवंशीले भने । आफूले ५ बर्षदेखि नै धाराको पानी फिल्टर गरेर खाने गरेको उनले बताए ।

स्थानीय गौरीगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका वडा नं. ३का वडाध्यक्ष मखना महतोका अनुसार अहिलेसम्म खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापा र खानेपानी उपभोक्ता समितिले यो सिँधै पिउनयोग्य छ भनेर भन्न सकेको छैन । धाराको पानी रातो र हिलोयुक्त आउँछ– उनले भने । हामीले यो अवस्था अन्त्यका लागि वार्ड कार्यालय तथा नगरपालिका सहयोग गर्न तयार छ भन्दा पनि वेवास्ता हुने गरेको छ– उनले भने ।

गौरीगञ्ज खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता संस्थाको नियमित साधारणसभा नभएको र खातापाता नै अहिलेसम्म कार्यालयमा नभेटिएको बताइन्छ । पुरानो समितिले काम गर्न नसक्ने भएकाले खानेपानी आयोजना नै बन्द गर्ने भनेपछि आफूहरु आएर काम शुरु गरेको तर अहिलेसम्म खातापाता नै नबुझाएको संस्थाका अध्यक्ष ओमनाथ भण्डारीले बताए । उनले अहिले पनि पानीमा कहिलेकाहिँ लेदो र आइरन अर्थात् रातो आउने गरेको स्वीकार गरे । आयोजना हस्तान्तरण नगरिएकाले आफूहरुले रेखदेख बाहेक केही गर्न नसक्ने उनले जनाए ।

३ सय ४९ घरको २ सयका दरले पैसा उठाएर रेखदेख र आवश्यक मर्मतसम्भार गर्दै आएका छौं– उनले भने । शुद्ध खानेपानी बितरण नभइ र उपभोक्तालाइ हस्तान्तरण नै नगरी पानीको ट्याङ्की चुहिन थालेको पनि बताइएको छ । सबै संरचना पुराना भएका छन् र ट्याङ्की समेत चुहिन्छ– उनले भने ।

उपभोक्ता समितिका सचिब गंगाप्रसाद राजवंशीले अहिलेको अवस्थामा नै खानेपानी आयोजना जिम्मा लिन समस्या हुने बताएका छन् । गाउँपालिकाले जिम्मेवारी लिए मात्र आफूहरुले स्वीकार गर्ने उनले बताए । न खानेपानी तथा सरसफाई डिभिजनले यसको बिषयमा बिस्तृत जानकारी दिएको छ न त पुरानो उपभोक्ता समितिले नै उपलब्ध गराएको छ– राजवंशीले भने ।

यसैबीच खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्रमुख श्याम श्रेष्ठले उपभोक्ता संस्थाका कारण केही समस्या रहेको बताएका छन् । आफूहरुले नै रेखदेख गर्दै आएको जनाउँदै उनले यो आर्थिक बर्षभित्र नै हस्तान्तरण गर्ने लक्ष्य रहेको जानकारी दिए । धेरै पुरानो योजना भएकाले समस्याहरु पनि रहेका छन्– उनले भने । फिल्टर गरेर राम्रो पानी वितरण भएको हुनुपर्ने हो तर पाइप राम्रो गरी नपखालिएका कारण समस्या आएको हुनसक्छ– उनले भने ।

४ लाख ५० हजार लिटर पानी क्षमताको ट्याङ्कीसहित यो योजना निर्माणका लागि ८ करोडभन्दा बढी खर्च लागेको बताइन्छ । केही बर्षयता मर्मत सम्भार र सामान्य संरचनाहरु बनाउने काम भएको श्रेष्ठले जनाए । यस प्रकारका जिल्लामा रहेका सबै आयोजनाहरुलाई प्राथमिकताका साथ बाँकी काम गरेर स्थानीयस्तरमा हस्तान्तरण गर्न आतुर रहेको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here