फोहर र स्थानीय सरकारको भूमिका

0
365

फोहर मानिसबाटै उत्सर्जन हुन्छ र त्यही मानिस स्वयम्का लागि दुःखको कारण पनि बनिन्छ । जब–जब ग्रामीण क्षेत्र बजारमा रुपान्तरित हुन थाल्छ तब–तब फोहर जम्मा हुन्छ, जसले जमिन, जल र वायुमण्डललाई प्रदुषित गराउँछ । अझ बजार, शहरमा परिवर्तन भइसकेपछि त त्यो मानिसको काबुभन्दा बाहिर पुग्छ र स्वयम्को जीवन कष्टकर बन्न पुग्छ । केही वर्षअघिसम्म राजधानी यसको चपेटामा थियो र सबैको मुखमा केवल काठमाडौंको फोहरको कुरा हुन्थ्यो । तर, अहिले देशका प्रायः सबै बजार र शहरी क्षेत्रमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरी फोहर उत्सर्जन भइरहेको छ ।

मानिसकै कारण उत्सर्जन हुने फोहर व्यवस्थापन गर्नु स्वयम्को पहिलो जिम्मेवारी हो । प्रकृतिले प्रत्येक भौतिक–अभौतिक वस्तुको सन्तुलित व्यवस्थापन गरेको छ । त्यस विपरीत जाने मानिस नै हो जो प्रकृतिको सन्तुलन खल्बल्याउन र संरचना ध्वस्त गर्न जहिल्यै उद्दत रहन्छ । प्रत्येकले आफूद्वारा उत्सर्जित फोहोरको व्यवस्थापन गर्ने हो भने आज देखिएको फोहरजन्य पीडाबाट सजिलै मुक्ति पाउन सकिन्छ । आफ्नो सुविधाका लागि प्रयोग गरिएका कतिपय वस्तु आफ्ना लागि हानीकारक छ भन्ने जान्दाजान्दै पनि जथाभावी विसर्जन गर्नाले आफ्नै स्वास्थ्यमा प्रतिकूल असर पर्छ भन्ने थाह पाउँदा–पाउँदै पनि हामी लापरवाही गरिरहेका छौं ।

झापाका प्रमुख बजार क्षेत्र अहिले प्रदुषणले अक्रान्त छन् । अािर्थक, जनसाङ्खिक र भौतिक दृष्टिले महत्वको ठानिएको बिर्तामोड नगर क्षेत्रमात्र होइन यसले उत्पादन गरेको फोहरले यहाँका ग्रामीण क्षेत्र समेत पीडामा छन् । शहर–बजारका मानिसले नदी, खोलामा फोहर फ्याल्नाले नदी भएर बगेको फोहर खेतमा पुग्दा उत्पादनशील जमिन विषादीयुक्त बनिएका छन् । सड्ने–नसड्ने फोहरलाई एकै ठाउँमा फ्याल्ने कारणले दुर्गन्धले वायु प्रदुषण मात्र होइन जमिन समेत प्रदुषित भएको छ । स्थानीय सरकार भनिने पालिकाले ‘मनलागी’ कर उठाएको छ, तर जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील विषयमा आवश्यक योजना बनाएकै छैन ।

यही समय झापाको दमकमा रहेको एउटा अस्पतालले आफूद्वारा उत्सर्जित फोहर आफैं व्यवस्थापन गर्दा पनि समस्या उत्पन्न भएको छ । अस्पतालले आफ्नै स्वामित्वको जग्गामा फोहर जलाउँदा वायु प्रदुषण भई स्वास्थ्यमा गम्भीर असर परेको भन्दै स्थानीयबासीले विरोध जनाएका छन् । फोहरमैला व्यवस्थापन नियमावली ०७० मा स्वास्थ्य संस्थाजन्य फोहरको निर्मलीकरण, प्रशोधन र व्यवस्थापन गरिनुपर्ने उल्लेख भए पनि सबैलाई जलाइएकोले भाइरलको समस्या भएको स्थानीयले आरोप लगाएका छन् । निर्देशिका विपरीत फोहरको व्यवस्थापन गरिँदा रोगको संक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयबासीले फोहरको उचित व्यवस्थापन नगरे अस्पताल घेराउ गर्ने चेतावनी समेत दिएका छन् । यस्तो संवेदनशील विषयलाई स्थानीय सरकारले गम्भीरतापूर्वक नलिनु स्थानीयबासीको दुर्भाग्य हो, त्यसैले आन्दोलन त्यसतर्फ केन्द्रीत भएमात्र समस्याको स्थायी समाधान सहज हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here