वैदेशिक रोजगार र महिला पीडा

0
908

मुलुक अहिले विप्रेषण (रेमिट्यान्स)ले चलेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५÷०७६ को जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीबाट कूल सात खर्ब उनान्सय अर्ब दुई करोड रुपैयाँ विप्रेषण देशमा भित्रिएको छ । यही विप्रेषण अहिले देशको मात्र होइन सरकारदेखि जनप्रतिनिधिसम्मको आयको मूल स्रोत बनिएको छ । यो बाहेक नगण्य रुपमा भएको निर्यात र सरकारद्वारा लादिएको करको भार सबै पदाधिकारवालाहरुको जीवन निर्वाहको माध्यम हुने गरेको छ । त्यसैगरी वैदेशिक रोजगार क्षेत्रमा काम गर्न खुलेका कम्पनी, एजेन्ट र संस्थाहरुले त्यसैलाई कमाइ खाने मुख्य भाडो बनाएका छन् ।

प्रत्येक बादलमा चाँदीको घेरा हुन्छ भने जस्तै सबै वस्तु, सेवा र क्षेत्र दोषमुक्त हुँदैनन् । वैदेशिक रोजगारीले विप्रेषण भित्र्यायो रोजगारी दिलायो, जनताको जीवनस्तर उकास्यो, धेरैलाई अतिरिक्त आयको आधार तयार ग¥यो । तर, त्यसले व्यक्तिगत तथा सामाजिक जीवनमा पारेको असरको मूल्यांकन कहीँ कसैले गरेको छैन । यसले हाम्रो पािरवारिक एकता सद्भाव र प्रेम बिटुल्याएको मात्र छैन परम्परादेखि आएको आदर्श मूल्य र मान्यता नष्ट गरेको छ । परिवारमा विचलन मात्र होइन विखण्डन ल्याएको छ ।

नेपाली महिलाको पारिवारिक जीवनलाई वैदेशिक रोजगारीले क्षत–विक्षत बनाएको छ । रोजगारीमा भएका पुरुषका श्रीमतीले घर–परिवार र समाजबाट थप हिंसा भोग्न बाध्य हुनु परेको छ । राष्ट्रिय मानव अधिकार आयोगले महिला वैदेशिक रोजगारीका लागि जानुका पछि घरेलु हिंसा मुख्य कारण रहेको जनाएको छ । आयोगले सन् २०१८ मा प्रकाशित गरेको तथ्यांक अनुसार विदेश जाने मध्ये अस्सी प्रतिशत महिला घरेलु हिंसाबाट पीडित थिए । श्रीमान्को झगडालु प्रवृत्ति, मादक पदार्थ सेवन गर्ने लतका कारण सन्तानको भविष्य अन्धकारपूर्ण हुने आशंकाले विदेश गएका महिलाहरु त्यहाँ पनि हिंसाकै शिकार भएको कतिपय घटनाले देखाएको छ ।

वैदेशिक रोजगार विभागले ०५०–०५१ देखि ०७६ असार मसान्तसम्ममा दुई लाख अठार हजार दुई सय त्रिहत्तर जना महिला श्रम सवीकृति लिएर विदेश गएको उल्लेख गरेको छ । स्वीकृति नै नलिई चोर बाटो प्रयोग गरी विदेशिनेको संख्या अझै धेरै हुने बेला–बेला उद्धार गरिएका महिलाहरुको विवरणले देखाएको छ । पछिल्लो समय अवैध ढंगले चोर बाटो भएर विदेश पठाउने गिरोह नै सक्रिय भएको देखिएको छ । ०७२ सालमा नेपाली महिलालाई घरेलु कामदारका रुपमा विदेश जान रोक लगाएपछि दलालहरुले चोरबाटो प्रयोग गरेर सीमा कटाउने गरेका छन् । दलालहरुले सेटिङमा नेपाली महिलालाई भारतको दिल्ली, बंगलादेश, म्यानमार र श्रीलंका हुँदै खाडी पठाउने गरेका छन् । यसले उनीहरुको अस्मिता मात्र होइन जीवन नै जोखिममा परेको छ । जसोतसो सुरक्षित रहेका महिलाले पठाएको विप्रेषण घरमा श्रीमान्ले दुरुपयोग गर्ने र घरपरिवार झनै छिन्नभिन्न भएका छन् । त्यसैले यी सबै विकृतिहरुको अन्त्यका लागि सरकारले देशमै रोजगारीको सृजना गर्नु पर्दछ । अथवा स्वीकृति दिएर उनीहरुको सेवा, रोजगारी र जीवन सुरक्षित गर्नुपर्छ । अन्यथा नेपाली समाजको सौन्दर्य कुरुप बन्दै जाने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here