नेपाली कम्युनिष्टहरु माक्र्सवादी कि काल्पनिक समाजवादी ?

२ भाद्र २०७६, सोमबार मा प्रकाशित

तीर्थराज खरेल,

नेपाली कम्युनिष्टहरु आफूलाई खाँटी माक्र्सवादी मान्छन् । प्रश्न के छ भने कम्युनिष्ट पार्टी सर्वहाराको नेतृत्व हो कि सर्वहाराको हित गरिदिनका लागि बनेको पार्टी हो ? माक्र्सवाद विश्वकै हालसम्मको सबभन्दा उत्कृष्ट मानवहितकारी दर्शन हो । आजसम्मका दार्शनिकहरुले संसारको पीडा र भुक्तमानको चित्रण गरेका छन् । तर, माक्र्सको दृष्टिकोणमा सही विश्व दृष्टिकोण भनेको त समाजलाई बदल्नु हो ।

जब मानव समाज अस्तित्वमा आयो, त्यसपछि मानव समाजका सर्वोतम चिन्तकहरूले ‘मानिसद्वारा मानिसको शोषण र उत्पीडनबाट मुक्त हुने आफ्नो उत्पादनको मालिक आफै हुने, खुशी र समृद्धशाली समाजको निर्माण गर्ने’ परिकल्पना गर्दै आएका थिए । मानव जातिको विकास जब पुँजीवादमा भयो तब सर्वहारावर्गको संघर्ष पूँजीवादीका लागि विकासको प्रमुख बाधक बन्यो । ऐतिहासिक आवश्यकताको रूपमा वर्गीय शोषण र उत्पीडनमा मुक्त हुन उपाय र न्यायपूर्ण समाजमा संक्रमण हुने नियम, तरिका र तिनका रूपहरूका बारेमा घोषणा गर्दै आजभन्दा १७० वर्ष पहिले जर्मनीका कार्ल माक्र्स र बेलायतका फ्रेडरिक एंगेल्सले सन् १८४८ फेब्रुअरी १२ का दिन विश्वविख्यात कम्युनिष्ट घोषणापत्रले अभिव्यक्त गरेको विचार र सिद्धान्तले विश्वभरिका मजदूर तथा सर्वहारावर्गको हितलाई वैज्ञानिक आधारमा पुष्टि गर्ने काम ग¥यो ।

माक्र्स–एंगेल्सद्वारा जारी गरिएको सो घोषणापत्रको आधारमा संसारभरका कम्युनिष्ट क्रान्तिकारीहरूले आ–आफ्नो मुलुकको सामाजिक वस्तुस्थितिको विश्लेषण गर्दै त्यस सिद्धान्तलाई लागू गर्ने प्रयत्न गर्दै आएका छन् । यो क्रान्तिको विज्ञान सम्बन्धी कम्युनिष्ट घोषणापत्रको निर्माण गर्नुभन्दा पहिले–पहिले उनीहरूले आफूभन्दा पूर्ववर्ती दार्शनिक, आर्थिक, सामाजिक ज्ञानको प्रशस्त अध्ययन गरेर त्यसैको निष्कर्षको रूपमा माक्र्सवादको प्रतिपादन भयो । यसमा जर्मनेली शास्त्रीय दर्शन, अंग्रेजी अर्थशास्त्र र फ्रान्सेली समाजवादको उच्च विकासलाई समावेश गर्दै माक्र्स र एंगेल्सको ऐतिहासिक प्रतिभाको समन्वयले माक्र्सवादको प्रादुर्भावमा पृष्ठिभूमिको काम ग¥यो । माक्र्सले विश्वप्रसिद्ध पुस्तक ‘पूँजी’ को प्रकाशन गरेर मानवजातिको सर्वोत्तम सपना समाजवादको जन्म पूँजीवादको गर्भबाट हुने उद्घोष गरे । माक्र्सवादको जन्म पूँजीवादको विकासको प्रारम्भिक अवस्थामा भएको हो । कार्लमाक्र्सको सांसारिक दृष्टिकोण माक्र्सवादको नामले आज संसारमा सुप्रसिद्ध छ ।

कार्ल माक्र्स र ऐंगेल्स जन्मेको क्रमशः ३० र २८ वर्षपछि माक्र्सवादको जन्म १८४८ मा यस कम्युनिस्ट घोषणापत्रको उदयको साथसाथै भयो । माक्र्स र एंगेल्सले पछि जति पुस्तकहरु लेखे ती सबैमा हामी यही घोषणापत्रलाई पुष्टि दिएर लेखेको पाउँदछौं । धेरै वर्षसम्म माक्र्सवाद किताबको सिद्धान्त मात्र भएर रह्यो । धेरैले यस विषयमा नानावलीका टिक्का–टिप्पणी गरे । तर, माक्र्सवाद मजदुर वर्गको लडाइमा ज्योति दिने वैज्ञानिक बाटो भएको हुनाले, जसैजसै विश्वमा मजदूर आन्दोलन बढ्दै गयो तसैतसै माक्र्सवादले जरा हाल्दै हुर्कदै गयो । माक्र्सवादी दर्शनको प्रार्दुभाव मानव चिन्तनको उज्ज्वल तथा प्रगतिशील परम्परालाई आत्मसात गरेर भएको हो । रुसी अक्टुबर क्रान्तिका नायक लेनिन भन्छन्– ‘माक्र्सवादको जन्म विश्व सभ्यताको अनजान गल्तीबाट भएको होइन । माक्र्सवादी दर्शन आदिमकालदेखिका सर्वाधिक प्रगतिशील मतहरू, सिद्धान्तहरू र विचारधाराहरूको प्रत्यक्ष सिलसिला हो ।’

आम मेहनतकश कामदार वर्गको हितका लागि माक्र्सवादको जन्म भएको हो, तर वास्तवमा न नेपालका कम्युनिष्टहरु आफू श्रम नै गर्छन्, न मजदुर वर्ग नै कम्युनिष्ट आन्दोलनमा एकाकार हुन सकेको छ । शारीरिक श्रमप्रतिको उपेक्षाले नेपाली राजनीतिक नेतृत्वहरु क्रमशः श्रम विरोधी र श्रमिक विरोधी हुँदै गएका छन् । श्रम र श्रमिकप्रतिको उपेक्षाले शक्तिकेन्द्रको चाकरीचाप्लुसी गर्ने र अरुको पसिनामा ढलीमली गर्ने प्राडो–पजेरो संस्कृतिको हिमायती बनाउँदै लैजान्छ ।

जनतासँगको सहकार्य र घनिष्ठताबाट टाढिँदै जान्छन् श्रमप्रति सम्मान नगर्नेहरु । अरुको रगत पसिनामा रजाइँ गर्ने ठालु प्रवृत्तिमा बढोत्तरी हुँदै जान्छ समाजभित्र, दलहरुभित्र र राज्यका महत्वपूर्ण निकायहरु भित्र । आज समाजमा जति पनि विकृति र विसंगति मौलाएको छ, त्यसका धेरै कारणहरुमध्ये मुख्य कारण अरुको श्रममा रजाइँ गर्ने सामन्ती र कामचोर प्रवृत्ति नै हो । साँच्चै भन्ने हो भने मुख्य दोष निरक्षर र अशिक्षितहरुको होइन, दोष त तथाकथित चेतनशील समाज हाँक्ने अगुवाहरुको हो । साँचो अर्थमा काम गर्ने संस्कृतिको बढोत्तरी हुनु भनेको श्रमप्रति आस्थावान हुनु र व्यवहारमा श्रमप्रति सम्मान बढ्दै जानु हो । आफूलाई माक्र्सवादको अनुयायी मान्ने नेपालका कम्युनिष्टहरुमा किन नयाँ, फरक र माक्र्सवादले निर्दिष्ट गरे अनुसारको श्रम र श्रमिक दुवैलाई सम्मान गर्ने संस्कृतिको विकास हुन सकेन ?

यसको स्पष्ट जवाफ छ–किनभने उनीहरुलाई पुरानै द्रव्यमुखी, सुविधाभोगी र कामचोर प्रवृत्तिले गाँजेको छ र निरन्तरताको क्रमभंग गर्न उनीहरु सदैव असफल रहे । सर्वहाराको हित गर्ने वा मुक्तिदाता बन्ने सोचबाट राजनीतिक इतिहासमा वेदाग, कञ्चन र निष्कलंक व्यक्तित्व बन्न अनेकौं अप्ठ्यारा आइपर्छन् । आफ्नो दर्शन र आदर्श अनुरुप जनअपेक्षा पूरा गर्न अप्ठ्यारो छ । संघर्ष र युद्धमा नेपालका कम्युनिष्टहरु सिपालु छन्, जनतालाई एकीकृत गर्दै गोलबन्द रुपमा संघर्षको आँधीबेहरी सृजना गर्न र जनादेश र मतादेश प्राप्त गरी आफू पनि सफेद र सफा रही सत्ता सञ्चालन गर्न धेरै फरक हुन्छ ।

कम्युनिष्ट पार्टीको स्थापना लकीरको फकिरका लागि भएको होइन, सत्ता प्राप्त गरी जनताको सेवा गर्नका लागि हो । नेपालमा अहिले कम्युनिष्ट पार्टीको सरकार छ । तसर्थ, नेपालका कम्युनिष्टहरुले माक्र्सवादको मूल मर्म भनेको श्रमप्रतिको सम्मान गर्ने र नेपाली जनताको जीवनमा सबैले देखिने गरी र स्वयम् जनताले पनि अनुभूत गर्ने गरी सकारात्मक परिवर्तन ल्याउनका लागि आफ्ना नीति, व्यवहार र कार्यक्रमहरु परिलक्षित गर्न जरुरी छ ।

काल्पनिक समाजवाद भनेको पूर्व माक्र्सवादी समाजवादको प्रमुख धारालाई वर्णन गर्नका लागि प्रयोग गरिएका शब्द हो । यो धारा १८औं शताब्दीको अन्त्य र १९औं शताब्दीको पहिलो आधामा उत्पत्ति र विशिष्ट विकास भयो । काल्पनिकहरू भन्ने शब्द कल्पनाको विचारबाट ल्याइएको थियो, जसको अर्थ समाज परिवर्तनको अनुमान थियो, जहाँ प्रत्येक कुरा पूर्ण हुन्छ र ‘समाजवाद’ पहिलो पटक १८३० को दशकमा लोकप्रिय बने । तिनीहरू विचारकहरूको एउटा समूहबारे वर्णन गर्न प्रयोग गरियो, जसले मानव स्वभावमा प्राप्त व्यक्तिवाद, स्वार्थीपन र प्रतिष्पर्धात्मक हटाएर एउटा बढता समानतावादी आधारमा समाज रूपान्तरण गर्ने सिद्धान्त विकास गरे । ती चिन्तकहरू धेरै अथवा तिनीहरूका अनुयायीहरूले आदर्श समुदायहरू जहाँ सबै सदस्यहरूले सहकारीको आधारमा काम गर्दथे, बस्दथे र उनीहरूको कामको फलहरू बाँडफाँड गर्दथे । तिनीहरूले विश्वास गर्दथे कि यस्ता आदर्श समुदायहरूले उदाहरण प्रस्तुत गर्ने छन् । ताकि समाजमा बाँकीले अनि त्यसलाई अनुसरण गर्ने छन् । तिनीहरूले यसरी समाजवादको आफ्नो योजना निर्माण गर्नका लागि समाजमा वास्तविक प्रक्रियाहरूमाथि भर परेनन् ।

यसको अलवा तिनीहरूले सोचेकी तिनीहरूका योजनाहरू र विचारहरूको वैज्ञानिक व्याख्या आफैमा जनतालाई बुझाउन र समाज परिवर्तन गर्न प्रयाप्त थियो । काल्पनिक समाजवाद पूँजीवाद अन्तरगत मजदुर वर्गको उत्पीडन र शोषणको पहिलो सर्वोत्तम प्रतिक्रिया थियो । गरिखाने जनताले सामन्तवादलाई फ्याँक्नका लागि ज्यादै कठिन लडाइँ लडेका थिए । तैपनि पूँजीपतिहरूको स्वतन्त्रता, समानता र भाइचाराका नाराहरूको अर्थ स्वतन्त्रता केबल पूँजीपति वर्गका लागि थियो र गरिखानेहरू माथिको शोषणलाई अझ घनिभूत गराउनु थियो । विभिन्न समाजवादी मान्यताहरू पूँजीपतिहरू र मजदुरहरूबीच उत्पन्न भइरहेको अन्तरविरोधहरूको परिणाम शोषणविरूद्धको एउटा विद्रोहका रूपमा उत्पन्न भएका थिए ।

तिनीहरूले यस्तो प्रणाली निर्माणका लागि प्रयास गरे, जसले शोषितहरूलाई न्याय दिलाउन सक्दथ्यो । नयाँ समाजवादी सिद्धान्तहरूका लागि पूँजीवादी उत्पादनको अराजकता अर्को एउटा कारण थियो । काल्पनिक समाजवादीहरूले बुद्धिसंगत प्रणाली निर्माण गर्ने प्रयास गरे, जसले सद्व्यवहार र सौहाद्रपूर्ण तरिकाले मानवजातिका आवश्यकताहरूलाई पूरा गर्न सक्दथे । तिनीहरूमध्ये केहीले त पूँजीपतिहरू र सरकारी अधिकारीहरूलाई सम्झाउन कोशिस पनि गरे कि उनीहरूको समाजवादी प्रणालीहरू जहाँ ज्यादा बुद्धिसंगत र योजनावद्ध थियो र त्यसकारणले भइरहेका पूँजीवादी प्रणालीभन्दा अनुकुल थियो । तिनीहरूले उनीहरूको परियोजनाहरूलाई धनीहरूबाट पैसा लिन यसरी पनि कोशिस गरे ।

पूर्व माक्र्सवादी समाजवादीहरु, जसलाई काल्पनिक समाजवादी पनि भनिन्छ, तिनीहरुका मान्यताहरूको प्रमुख खराबी यो थियो कि तिनीहरूसँग समाजमा बाहिर नआएका वर्ग अन्तरविरोधहरू र वर्ग संघर्षहरूमा वास्तविक रूपले आधारित थिएन । यद्यपि तिनीहरूका विचारहरू समाजभित्रका वर्ग संघर्षहरूका आफैमा उत्पादन थिए । काल्पनिक समाजवादीहरूले त्यसलाई महशुस गरेनन् कि समाजवाद प्राप्त गर्नका लागि वर्गसंघर्ष पूर्णत आवश्यक थियो । तापनि उनीहरूका विचारहरू सही मानेमा बालक सर्वहाराको उत्कट चाहनाहरूको एउटा परावर्तन थियो, काल्पनिक समाजवादीहरूले समाजवाद ल्याउनमा सर्वहाराको क्रान्तिकारी भूमिकाको केन्द्रीय महत्व स्विकार गरेनन् ।

जव माक्र्स र एङ्गेल्स समाजवादी कम्युनिष्ट समूहहरूसँग सम्पर्कमा आए, उनीहरूले काल्पनिक समाजवादका अनुयायीहरूलाई उनीहरूका विचारहरूको असान्दर्भिकताका बारेमा सम्झाउने कोशिस शुरू गरे । उनीहरूले विभिन्न क्रान्तिकारी र मजदुर वर्ग समूहहरूमा चल्ने बहस, छलफलमा निरन्तर गहन रूपले भाग लिदै गए, जहाँ ती सिद्धान्तहरू र विचारहरू बहस र छलफल गरिने गरिन्थ्यो । उनीहरूको प्रमुख लक्ष्य समाजवादी सिद्धान्तलाई वैज्ञानिक आधार दिनु थियो । यसका लागि उनीहरूले पहिलेका समाजवादीहरूका खराबीहरू र गलत सोचाइहरूलाई भण्डाफोर गर्दै खुलस्त पार्नु थियो र समाजवादलाई वर्गसंघर्षको माक्र्सवादी सिद्धान्तको ठोस आधारमा स्थापित गर्नु थियो ।

माक्र्सले आफैले वर्गसंघर्षको सिद्धान्त आफूद्वारा कुनै नयाँ चीज पत्ता लगाइएको थिएन भनेर बताएका थिए । वास्तवमा पहिलेका समाजवादीहरू र पूँजीवादी लेखकहरू समेत यसबारे धेरै सचेत थिए र वर्गसंघर्ष र वर्गहरूवारे उनीहरूले निकै लेखेका थिए । तापनि वर्गसंघर्षको माक्र्सवादी सिद्धान्तको अत्यावश्यक फरक यो हो कि यसले वर्गसंघर्षले समाजवाद र साम्यवादतर्फ अनिवार्यतः लैजान्छ । निष्कर्षमा भन्दा, नेपालका कम्युनिष्टहरु वैज्ञानिक समाजवादी वा माक्र्सवादीभन्दा पनि काल्पनिक समाजवादी रहेका छन् । त्यसकारण कम्युनिष्ट नेतृत्वले आफूलाई सर्वहाराकरण गर्ने र सर्वहाराबाट नेतृत्व विकास गर्न सके मात्र कम्युनिष्टबाट मुलुक र मुलुकबासीको अपेक्षा पुरा हुनसक्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here