बिर्तामोड, ‘घरको राजा गुमायौं बाबु, मेरो नाति लक्ष्मण हाम्रो परिवारको राजा थियो’ बरण्डामा बसेकी पबित्राले भनिन्– ‘छोरो गुमाएपछि मेरो छोराले चेत पनि गुमायो ।’
‘परारका साल दशैंको टीकाको दिन हामी टीका लगाउने तरखरमा थियौं । ब्ुहारीसंग नाति मावल जाने भन्दै थियो । खैं किन हो आमा आइहाल्छु है भन्दै नाति खुर्रकुदेर गयो त्यसपछि मेरो नाति फर्किएर आएन’– पबित्राको गला बोल्दाबोल्दै अबरुद्ध भयो । छेउमै थिए उनका छोरा बद्री आफ्नै सुरमा बरबराउँदै । उनी भन्दै थिए– ‘आज भाइले स्कूल जाँदा किताब लगेनछ, किताब त यहीँ छन् ।’ वरण्डाको रेलिङमा बसेकी थिइन् लक्ष्मणकी आमा अञ्जना । लक्ष्मणको कुरा गरिरहँदा उनले पनि कुनै प्रतिक्रिया जनाइनन् । बुबा आफ्नै तालको छ, हजुरबा नातिकै पीरले जानुभयो– हजुरआमा पवित्राले सम्हालिँदै भनिन्– राम्रा मान्छेलाई त दैवले पनि आँखा लाउँदा रहेछन् बाबु, अहिले जस्तो लाग्छ यहीँबाट आमा अहिले म आइहाल्छु है भन्दै दुर्गुर्दै गएको नाति भोलिपल्ट प्लाष्टिकमा पोको पारेर ल्याएर आँगनमा राख्नासाथ बेहोस् भएका छोराबुहारीमध्ये छोराको अहिले पनि चेत पूरा आएको छैन ।’
छ महिनासम्म त केही थाह पाएन बद्रीले– पबित्राले भनिन्– ‘खाना पकाएर बुहारी अञ्जनाले खाना खान बोलाउँदा पनि छोरो स्कूलबाट आएपछि मात्रै खान्छु भन्थ्यो, अहिले पनि उसको अवस्था केही सुध्रिएको छैन । औषधि नखाए एकोहोरो हुँदै दिनभर टोलाउँछ ।’ ऊ आफैं विरामी छ– उनले थपिन्– उसलाई पायल्स भएको रहेछ । अस्ती छरछिमेकी र आफन्त मिलेर उपचार गरिदिए तर औषधि खाने पैसा थिएन । छरछिमेकीले दुःख देखेर दवाई पानी त गरे तर सँधै कसले गर्ने उसलाई दवाई पानी । बिचराको घरमा खाने एक दानो अन्न छैन । बुहारीले जसोतसो गर्छे । तर, ऊ आफैं बिरामी छ । घर पनि दिदीबहिनी, दाजु भाइ र छरछिमेकीले मिलेर बनाइदिएका हुन् । उसको नाममा एकधुर पनि जग्गा छैन । यो घर पनि अरुकै जग्गामा बनाएको हो ।’
अर्जुनधारा–११ घर भएका लक्ष्मण शिवाकोटी असोज २०७४ दशैंको टीकाका दिन बेपत्ता भएका थिए । उनी त्यसको भोलिपल्ट वैंशावारीस्थित उखुवारीमा रहेको भौडीमा मृत फेला परेका थिए । आफन्तकोमा जुत्ता लिन गएका उनी त्यहीँबाट वेपत्ता भएका थिए । शंकास्पद अवस्थामा शव फेला परेपछि आफन्तले त्यो बेला लक्ष्मणको डुवेर मृत्यु नभई हत्या भएको हुन सक्ने भन्दै स्थानीयले आन्दोलन समेत गरेका थिए ।
उनकै मृत्युको विषयलाई लिएर आन्दोलन चर्किएपछि प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु नै भयो भने अर्का एक व्यक्ति गम्भीर घाइते बने । समान्य घाइतेको संख्या पनि निकै थियो त्यो बेला । बालक लक्ष्मण शिवाकोटीको हत्या नै भएको भनेर प्रदर्शन हँुदा प्रहरीले बिर्तामोडमा कफ्र्यु नै लगाएर घटनालाई शान्त पारेको थियो । उच्चस्तरीय छानबिन टोलीले घटनाको अध्ययन गरेर गोली लागेर मृत्यु भएको परिवारलाई १० लाख क्षतिपूर्ति दिन सिफारिस ग¥यो ।
छानविनका क्रममा केहीलाई नियन्त्रणमा लिएर मुद्दा समेत चलाएको थियो प्रहरीले । तर, जिल्ला अदालत झापाले घटनामा संलग्न भनिएकालाई निर्दाेष ठहर गरेपछि उनीहरु रिहाई भए । छानविन समितिले गोली लागेर मृत्यु भएको परिवारलाई क्षतिपूर्ति दिए पनि शिवाकोटी परिवारको अवस्था बुझ्न अहिलेसम्म पनि फर्किएर कोही नगएको बताइएको छ । छोराको निधनपछि बद्री मानसिक रुपमा विक्षिप्त बनेका छन् । उनी अहिले नियमित रुपमा डिप्रेसनको औषधि खाँदै छन् । पायल्स भएपछि उनी दोहोरो स्वास्थ्य समस्यामा परेका छन् । भएको एउटा सन्तानको पनि निधनपछि विक्षिप्त बनेको परिवारमा पूर्वाञ्चलकर्मी पुग्दा उनीहरुले आर्थिक सहयोगको याचना गरे ।
यता घरमा बुहारी अञ्जना घरी–घरी मुर्छा परेर छोराको यादमा रुने गरेको सासू पवित्राले बताइन् । अहिले पनि दराजभरी लुगा छन् । घरको कोठाका भित्तामा नातिका फोटो सजाइएको छ, बुहारीले आमा नातिको फोटा लैजा भन्छे, अहिले बोलँुला झैं गर्ने फोटो हेरेर बिर्सिएको पीडा सम्झनामा नआओस् भनेर फोटो पनि लगेको छैन– पवित्राले भनिन् । एउटा छोरो पनि दैवले चट्क्कै चुँडेर लाग्यो । अर्को सन्तान पनि खै हुन्छ जस्तो छैन् । कसरी मन बुझाउनु भन्दै शिवाकोटी परिवारका सदस्य घरी–घरी भक्कानिने गर्छन् । आर्थिक अवस्था न्यून भएका शिवाकोटी परिवारले आफ्नो स्वास्थ्य उपचारका साथै जीवनयापनका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।
मानसिक समस्यामा रहेका बद्रीलाई छरछिमेक र आफ्न्तको सहयोगमा उपचार गरिँदै आएको उनको भिनाजु बुद्धिप्रसाद पाण्डेले बताए । चाडपर्व नजिकिएसँगै लक्ष्मणको यादले झनै सताउने गरेको उनीको भनाइ छ । छोराको मृत्यु भवितव्य भन्नै नसक्ने शिवाकोटी परिवारले हालसम्म कतैबाट राहत नपाएको गुनासो गरे । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शिवाकोटी परिवारलाई राहतका लागि पहल गरिदिने आश्वासन दिए पनि कतैबाट कुनै सहयोग प्राप्त नभएको बताइएको छ ।