मानसिक शान्ति कसरी प्राप्त हुन्छ ?

0
1713

रत्नबहादुर बस्नेत,

शान्ति बिना सुख सम्भव छैन । यो उक्ति ध्रुवसत्य हो । यसबाट सुखका लागि शान्ति अनिवार्य छ भन्ने स्पष्ट हुन्छ । सुख भन्नु नै आनन्द हो र शान्ति बराबर अर्को आनन्द पनि छैन । संसारमा प्रत्येक जीव सुखको खोजीमा छन् । आजको मानव सुख प्राप्तिको लागि अनेक चेष्टा गर्दैछ । तर, परिणाममा दुःखको दास बन्न बाध्य र विवश भइरहेको छ र विनासतर्फ उन्मुख बन्दै गएको छ । तापनि मानिस शान्ति प्राप्त गर्ने मार्गलाई बुझ्न र अपनाउन चाहँदैन । यो एउटा सोचनीय र संवेदनशील विषय हो ।

परापूर्वकालमा विश्व आजको जस्तो भौतिक सम्पन्न र सुविधायुक्त थिएन तापनि हाम्रा पूर्वज पूर्खाहरुको जीवन सुखदायी र शान्तिपूर्ण नै थियो । तर, आजको विकसित अवस्थामा पनि आफ्नै मस्तिष्कको उपज र आविश्कार आनन्दको रुपमा खोजीमा उपयोग गर्न नसकी तिनको विवेचना गर्ने क्षमताको कमीबाट जीवन अशान्तपूर्ण र दुःखदायी बनेको छ । यसको मूलकारण र रहस्य आध्यात्मिकता र धर्मको कमी हुनु नै हो । जबसम्म मानिस आध्यात्मिक र धर्मलाई अपनाउँदैन भौतिकरुपले जतिसुकै सम्पन्न भए पनि न उसले मानसिक शान्ति प्राप्त गर्न सक्दछ, न त शाश्वत सुख र आनन्दको कल्पना नै गर्न सक्दछ । यहाँ हाम्रा साधनाशास्त्र एवम् नीति वचनहरुमा उल्लेखित र निर्देशित मानसिक शान्ति प्राप्त गर्ने उपायबारे चर्चा गरिन्छ ।

अध्ययन मनन्

अध्ययन ज्ञान र शिक्षाको स्रोत मात्र नभई मानसिक शान्ति प्राप्त गर्ने सशक्त माध्यम पनि हो । कुनै पनि विषयवस्तुको अध्ययनबाट हाम्रो मन एकाग्र भई त्यसको ज्ञान र सत्यबोध हुन्छ । यसबाट सत्य बोध भई मानसिक शान्ति र सन्तुष्टिको अनुभूति हुन्छ । धर्म दर्शनमा अध्ययन वा शास्त्र अध्ययनलाई धर्मको मार्गको रुपमा संकेत गरिएको छ । अध्ययनको लक्ष्य जीवनयापनका आवश्यक ज्ञान र सीप हासिल गर्नु हो । यसका लागि अन्य विषयको साथै आध्यात्मिक विषयवस्तुको अध्ययन आवश्यकता पर्ने भएकाले शास्त्र वा वेदाध्यनलाई हिन्दूधर्मको विवाह पूर्वको एक संस्कार (वेदारम्भ संस्कार)को रुपमा लिइन्छ । आध्यात्मिक विषयको अध्ययनबाट ब्रम्हज्ञान र शाश्वत शान्ति प्राप्त भई मोक्ष प्राप्त हुन्छ ।

अशान्त र असन्तुलित मनमा अनेक दुःखको जन्म हुने हुँदा सुखका लागि हाम्रो शान्त, स्वच्छ राख्न परमावश्यक छ । जसका निम्ति अध्ययन–साधनाको जरुरत पर्दछ । अध्यात्म–साधनामा नित्य स्वाध्यायको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । तसर्थ, व्यवहारिक जीवनोपयोगी ज्ञान र सुख, शान्ति प्राप्तिको लागि धर्मग्रन्थ, आदर्श र उपयोगी पुस्तक, पत्रपत्रिका नियमित रुपमा अध्ययन–मनन् गर्नुपर्दछ । यसबाट जाग्रत अवस्था प्राप्त हुन्छ । भनिएको छ, शान्ति बाह्य वस्तुबाट प्राप्त हुँदैन । वास्तविक शान्तिका लागि आफैंभित्र पस्नुपर्दछ र आफ्नो अर्थात् ‘स्व’ को अध्ययन गर्नुपर्दछ ।

तप

यज्ञ, दान जस्तै तप पनि धार्मिक क्षेत्रको प्रचलित र परिचित अनुष्ठान हो । तपको अर्थ हो– तपस्या । परमात्मा चिन्तनमा आफूलाई लगाइदिनु (समर्णपन गर्नु) । भनिन्छ त्याग पनि तपस्या नै हो । हाम्रो देशलाई नै प्राचीन ऋषिमुनीहरुको पवित्र तपोभूमि मानिन्छ । जीवनमा शान्ति र सुव्यवस्थाका लागि तप अति आवश्यक छ । तपको अर्थपूर्ण पालनाबाट कार्यसिद्धि र समृद्धि प्राप्त हुन्छ ।

समस्त मानसिक तथा विकारहरुको अन्त्य भई शाश्वत शान्ति प्राप्त हुन्छ । शास्त्रमा देवता, ब्राह्मण, गुरु, विद्वानहरुको पूजा (श्रद्धा, सत्कार), पवित्रता, सरलता, ब्रह्मचर्य र अहिंसालाई शरीरले गरिने तपस्या, मनलाई दिग्दार नगराउने, साँचो प्रिय र हितकारी वचन बोल्नु, स्वायाध्यलाई वाङ्मय अर्थात् बोलीले गरिने तपस्या भनिएको छ भने मन प्रशन्न राख्नु, सुशील हुनु मुनिहरु कै जस्तो चित्तवृति राख्नु, मन वशमा राख्नु, शुद्ध भावना लिनुलाई मानस अर्थात् मनले गरिने तपस्या भनिएको छ ।

त्यस्तै कर्मफलको आशा वा आशक्ति नराखी सत्कर्म गर्नु सच्चा त्याग वा तपस्या हो । यसैबाट शक्ति प्राप्त परिणामलाई स्वीकारी सन्तोष मानेर थप थप प्रयास गर्न सक्षम हुन्छ र सदैव कर्मशील भई शाश्तत शान्ति मार्ग अपनाउने प्रेरणा प्राप्त गर्दछ । ‘कर्म गर तर फलको आशा नगर’ भन्ने गीताको मन्त्रको सार्थकता पनि यसैमा छ । गीतामा भनिएको छ– योग (समता) रहित अभ्यासभन्दा शास्त्रज्ञान श्रेष्ठ छ, योगरहित शास्त्रज्ञानभन्दा ध्यान श्रेष्ठ छ, योगरहित ध्यानभन्दा कर्मफल त्याग श्रेष्ठ छ किनभने कर्मफल त्यागबाट तुरुन्त शान्ति प्राप्त हुन्छ ।

लोभ त्याग

भनिन्छ, चाँदीको गहना लगाउनेलाई सुनको गहना प्राप्त हुँदा खुशी लाग्छ । तर, सुनको गहना लगाउनेलाई सुनकै गहनाले केही हुन्न । यसरी जति जति वस्तुको प्राप्ति हुन्छ अझ त्यति प्राप्त गर्ने लोभ बढ्दछ । लोभको भकारी कहिल्यै भरिँदैन । लोभ अत्यन्तै हानिकारक दुर्गुण हो । जीवनमा सुख, शान्तिको चाहना गर्ने जोसुकैले यसलाई त्यागी लोभमुक्त बन्नु पहिलो तथा प्रमुख कर्तब्य हुन जान्छ । यसले अनेक दुःख र विपत्तिलाई निम्त्याउँछ। अनावश्यक लोभको परिणाम कसैको हितमा हुँदैन ।

लोभका कारण मानिसको ज्यानै समेत गुमेको उदाहरण नीति कथामा प्रशस्त पढ्न पाइन्छ । लोभको लाभ लामले विलाप भन्ने उखानै छ । लोभ बराबर अर्को पाप छैन । लोभ भएपछि दुःख पाउन अर्को पाप (दोष) गरिरहन पर्दैन । जुन मानिस धनको लोभमा लिप्त हुन्छ उसको तृष्णा कहिल्यै तप्त हुँदैन । लोभ, मोह, अहंकारादि आन्तरिक विकारबाटै मानसिक शान्ति भंग हुने भएकाले महात्माहरुले यिनबाट सदा टाढा रहन उपदेश दिंदै आएका छन् । तसर्थ, सदासर्वदा लोभ त्याग गरी प्राप्त भोगमा सन्तुष्ट बनेर कर्तब्य गर्दै गएमा नै सुखमय र शान्तिपूर्ण जीवन व्यतीत गर्न सकिन्छ ।

मन र इन्द्रीय वशमा राख्नु

शान्ति बाह्य वस्तु वा कुराबाट नभई मनको नियन्त्रणबाट प्राप्त हुने तत्व हो । धनसम्पत्ति वा आर्थिक कार्यबाट पनि शान्ति प्राप्त हुँदैन । धनसम्पत्ति अभाव हटाउन र धर्म पुण्यका लागि आवश्यक छ, जसले शान्ति तर्फ औल्याई मात्र दिन्छन् । मनको नियन्त्रणका लागि पहिले इन्द्रीयहरुलाई संयममा राख्न अपरिहार्य छ । इन्द्रीयलाई अश्वको उपमा दिइएको छ । जसरी रथलाई निर्दिष्ट स्थानमा पु¥र्याउन अश्वको नियन्त्रण आवश्यक छ, त्यसरी नै निश्चित लक्ष्यमा पुग्न हामीलाई हाम्रा इन्द्रीयहरु वशमा राख्न परमावश्यक छ । यिनै इन्द्रीयहरुलाई आत्मानुशासन राखी आत्मकल्याणका विरुद्ध जान नदिनु नै इन्द्रीय संयम हो । यसैबाट मन शान्त बन्दछ ।

मानसिक वेग नियन्त्रण बिना सुख, शान्ति पाउन सकिँदैन । समस्त धार्मिक तथा आध्यात्मिक अनुष्ठानहरुको पहिलो उद्देश्य पनि मन नियन्त्रण गर्नु नै हो । मन पूर्णरुपले नियन्त्रणमा राख्न अत्यन्त कठीन छ । मन नियन्त्रणमा राख्न चाहनेले तृष्णाबाट मुक्त रहनु पर्छ । तृष्णा अग्निको तीव्र ज्वाला सरह हो । व्यक्ति तृष्णाबाट यसरी नै टाढा रहनु पर्दछ । जसरी सुकेको परालको भारी बोक्ने मानिस आगोको झिल्कोबाट अलग रहन्छ ।

तर, सुन्दरताप्रति आकर्षित हुने डरले आँखा चिम्लुनालाई चाहिँ मूर्खता मानिन्छ । स्वयम् शास्त्र भन्दछ– जतिसुकै अध्ययन मनन गरेता पनि तबसम्म शान्ति लाभ हुँदैन जबसम्म इन्द्रीय र मन वशमा हुँदैन । मनमा वासना रहेसम्म चित्त शान्त पनि हुँदैन । अतः आफ्नो मन र इन्द्रीयलाई अधिनमा राखेर भगवानमा समर्पित भई आफ्नो स्थान र अवस्था निःस्वार्थ कर्म व्यक्ति शान्तिमा विलिन हुन सक्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here