सिम्रिकले गर्यो तीन हजारको निःशुल्क आँखाको जाँचपछि उपचार

0
502

बिर्तामोड, सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले सामाजिक उत्तरदायित्व अन्तर्गत तीन हजारभन्दा बढी मानिसको निःशुल्क आँखा जाँच गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आफ्ना शेयर सदस्यको आँखा जाँच गरेको हो । आँखा अस्पतालको प्राकृतिक सहयोगमा सहकारीले शेयर सदस्यसहित स्थानीयको निःशुल्क आँखा जाँच गरेको संस्थाको नवौं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले जानकारी दिए ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नै सार्वजनिक सम्पदा संरक्षण एवम् विकास अभियान अन्तर्गत इन्द्रेणी टोल बिर्तामोडमा वृक्षरोपणका लागि आर्थिक सहयोग गरेको जनाएको छ ।
त्यस्तै खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले चौथो झापा मगमग गोल्डकप प्रतियोगिता २०७५ लाई एक लाख रुपैयाँ प्रदान गरेको छ भने आठौं वाििर्षकोत्सवको अवसरमा एक सय ९८ जना दाताहरुबाट रगत संकलन गर्दै नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गरेको जनाएको छ ।
सहकारीले आफ्ना शेयर सदस्य विरामी भएको खण्डमा अस्पताल बसाइ र औषधि खर्चको आधारमा बढीमा २० हजार रुपैयाँसम्म सहयोग गर्दै आएको र विभिन्न किसिमको मेजर शल्यक्रिया गर्नुपरेमा शल्यक्रिया शुल्कको ५० प्रतिशत बढीमा २५ हजार रुपैयाँसम्म रकम प्रदान गर्दै आएको सहकारीका अध्यक्ष बस्नेतले बताए ।
उनले भने– ‘सानातिना चोटपटक लागे वा विषालु जीवजन्तुले टोके कुल लागत खर्चको ८० प्रतिशतसम्म रकम सहकारीले उपलब्ध गराउँदै आएको छ । कुनै सदस्यको मृत्यु भएमा ३० हजार रुपैयाँसम्म प्रदान गर्ने र प्राणघातक रोग लागेमा उपचार खर्च २५ हजार रुपैयाँ सहयोग गर्ने तथा सदस्यको मृत्यु भएमा कर्जा मिनाहा गर्ने कार्यक्रम सहकारीले शुरु गरेको छ । यो वर्ष सहकारीले २४ लाख ७९ हजार छ सय ४८ रुपैयाँ शेयर सदस्यहरुलाई उपलब्ध गराएको छ ।
त्यस्तै बचत दरको आधारमा प्रोत्साहन वापत सुत्केरी महिलाको हकमा दुई हजारसम्म, स्वास्थ्यमा दुई हजार दुई सयसम्म र पर्वमा १४ हजार छ सय तथा मृत्यु भएको अवस्थामा २७ हजार सात सयसम्म रकम उपलब्ध गराउँदै आएको बताइएको छ । यस्तो कार्यका लागि सहकारीले यस वर्ष १५ लाख १६ हजार रुपैयाँ सदस्यहरुलाई उपलब्ध गराएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
सहकारीमा २२ हजार नौ सय १९ जना सदस्य रहेको बताएको छ । सनसाइन सहकारी संस्थासँग समायोजनको प्रक्रिया भएको र सनसाइनका एक हजार दुई सय ४६ सदस्य सहकारीमा थप हुने बताइएको छ । यो सहित सिम्रिकका सदस्य २२ हजार नौ सय १९ पुग्ने अध्यक्ष बस्नेतले बताए ।
सहकारीको चुक्ता पुँजी १२ करोड १६ लाख १७ हजार चार सय रुपैयाँ हुने साधारणसभामा अध्यक्षले जानकारी दिए । सहकारीले आर्थिक वर्ष २०७५÷०७६ मा २ करोड १७ लाख ७२ हजार ८१८ रुपैयाँ खुद नाफा गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष एवम् सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, महिला चेम्बर अफ कमर्श बिर्तामोडकी अध्यक्ष संगीता चिमरिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरी, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक मोहनकुमार थापा लगायतले बोलेका थिए । संस्थाका सञ्चालक इन्द्रबहादुर कार्कीले स्वागत गरेको कार्यक्रम संस्थाका सचिव सुवास भट्टराईले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here